जनतालाई जलविद्युत् जोड्न नयाँ कार्यक्रम ल्याइने : ऊर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जनतालाई जलविद्युत्मा जोड्ने नयाँ कार्यक्रम ल्याउने बताएका छन् ।
समृद्धिको आधार जलविद्युत् भएको भन्दै मन्त्री पुनले त्यसका लागि छिट्टै नयाँ कार्यक्रम ल्याउने घोषणा गर्ने बताएका हुन् । सिँचाइ दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पुनले नेपालको पानी जनताको लगानी भन्ने नारा भए पनि जनतालाई जलविद्युत्मा जोड्न नसकिएकाले नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
उनले मुलुकको समृद्धि सुशासन कायम गरेर मात्र आउने भन्दै सबै कर्मचारीले कार्यशैली परिवर्तन गर्न जरुरी रहेको समेत बताए । “तपाईंहरूले आफ्नो आनिबानी र कार्यशैली परिवर्तन गर्नुहोस्, अहिले हाम्रो सामु काम गरेर देखाउनुपर्ने चुनौती छ,” मन्त्री पुनले भने । ऊर्जामन्त्री पुनले कर्मचारी संगठन र निकट व्यक्तिमार्फत आउनेलाई भन्दा काम गरेर देखाउनेलाई आफूले जिम्मेवारी दिने बताए । “काम नगर्ने कर्मचारी निकट भएर केही हुन्न, मेरो नजिकको आफन्त भए पनि काम गर्दैन् भने त्यसको कुनै अर्थ छैन्, काम गरेर परिणाम दिने कर्मचारीलाई मैले कामको जिम्मा दिन्छु,” मन्त्री पुनले भने ।