नाडाको अध्यक्षमा दाहाल र कँडेल भिड्दै «

नाडाको अध्यक्षमा दाहाल र कँडेल भिड्दै

सवारी तथा सवारीजन्य वस्तुसँग सम्बन्धितहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदै छ । नाडाको ४१ औं साधारणसभाले चयन गर्ने नयाँ नेतृत्वका लागि सिप्रदी ट्रेडिङका शम्भुप्रसाद दाहाल र राम कँडेलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
नाडामा अध्यक्ष र १४ जना केन्द्रीय सदस्यको निर्वाचन हुने प्रवधान छ । अन्य पदाधिकारी भने निर्वाचित कार्यसमितिले चयन गर्ने व्यवस्था रहेको छ । नाडाको १४ सदस्य पदका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । नाडामा प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा हुँदैछ । दाहाल प्यानलका सदस्यमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योति, सुनील रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र नीलमणि पाठक (राम) उम्मेदवार छन् । अध्यक्षका प्रत्याशी शम्भुप्रसाद दाहाल हालको कार्यसमितिका उपाध्यक्ष हुन् भने अर्का प्रत्यासी केही समय अघिको कार्यसमितिमा थिए ।
त्यस्तै कँडेल पक्षमा दीपक थापा, प्रदिपमान प्रधान, शम्भुप्रसाद सुवेदी, सुमिरण आचार्य र बाँकी उमेद्वार दाहाल प्यानलमा रहेका व्यक्ति सदस्य राखिएको छ । नाडाको निर्वाचनमा पूर्व अध्यक्षहरू शेखर गोल्छा र सौरभ ज्योति दाहालको पक्षमा खुलेका छन् भने वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ मौन बसेका छन् । वर्तमान अध्यक्ष मैन रहे पनि उनको समर्थन दाहाललाई हुने निश्चित छ । नाडाका अध्यक्षका उम्मेदवार दाहालले सामूहिक नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा आफू प्रतिबद्ध हुने बताए । अटोमोबाइल क्षेत्र बृहत् भइसकेले पूर्वाधारको विकाससँगै यो क्षेत्रले संख्यात्मकसँगै गुणात्मक फड्को समेत मारेको दाहालको भनाइ छ । नेपालको सन्दर्भमा समेत सवारी साधन अपरिहार्य बनिसकेको छ ।
“अहिलेको भन्दा नाडालाई फरक ढंगल अगाडि बढायने मेरो योजना छ,” दाहालले भने नाडालाई टिम वर्कमा लगेर व्यावसायिक हितमा पहल गरिने छ ।” राष्ट्र र व्यवसायी सबैको हितलाई सर्वोपरि ठानेर काम गरिने उनको भनाइ छ । नाडालाई सबै यो संग सम्बन्धीत सबैको साझा अपनत्वको रूपमा विकास गरिने भन्दै उनले भने, “व्यवसायी प्रतिको गलत बुझाइ अन्त्य गर्दै व्यवसायीकै तर्फबाट कुरा बुझाइनेछ ।” अहिले देखिएको केही समस्या राम्रो संग कुरा बुझाउन नसक्दा उब्जिएको दाहालको भनाइ छ ।
अन्य क्षेत्र जस्तै अटोमोबाइल क्षेत्रको विकास सामूहिक नेतृत्वको विकासबाट मात्रै सम्भव हुने भन्दै दाहालले भने, “नाडालाई सबैले अपनत्व गर्ने गरी अगाडि बढाए मात्र हामी सफल हुन्छौं । सवारी साधन बिक्री गर्नेदेखि स्पेयर पार्टसका सामान बिक्री गर्ने सदस्यसम्मको सामूहिक हितमा नेतृत्व क्रियाशील हुनेछ ।”
नाडालाई शुद्धीकरण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको अध्यक्षका अर्का प्रत्याशी राम कँडेलको भनाइ छ । “सर्वसम्मतीको सम्भावना सकियो । मिलाएर जाउँ भन्ने थियो तर उहाँहरूले मान्नु भएन । सबैलाई समेट्ने गरी जाउँ भन्ने थियो,” कँडेलले भने, “सबै खालका व्यवसायीलाई समेटेर टिम बनाएका छौं ।” । अर्को टिककालाई पनि समस्यमा राखिएको बारे प्रष्ट्याउँदै कँडेलले भने, “उहाँहरूकै सहमतिमा नाडालाई आवश्यक पर्ने व्यक्तिहरू राखेका हौं ।” नाडाको सचिवालय राम्रो नभएको र त्यसलाई आफू अध्यक्ष भए नयाँ भवन बनाएर सारेरै छोड्ने दाबी कँडेलले गरे ।
सोमबार बिहान ८ बजेदेखि नाडाको निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्