खेतीयोग्य जमिन बचाउन नदि गहिराइदिदै «

खेतीयोग्य जमिन बचाउन नदि गहिराइदिदै

जुम्लाको प्रायः क्षेत्रको उत्पादनशील जमिन अव्यवस्थित नदी कटानका कारण बग्ने गरेको छ । नदी छेउछाउका जमिन बर्सेनि वर्षाको समयमा क्षयीकरण हुदै नासिने अवस्था छ । दुई चार वर्ष पहिले एकमुरी फल्ने नदी छेउछाउको जमिन अहिले एक कित्ता पनि बाँकी छैन अधिंकाश क्षेत्रमा ।
बेलाबेला नदी कटान गर्ने तर असार साउनको बाढी पहिरोले खेतीयोग्य जमिन पूरै सखाप पार्ने भएकाले उत्पादनमा पनि ह्रास आउने गरेको किसानहरूको भनाइ छ । नदीको पानीलाई एकै दिशामा बग्नका लागि बेलाबेला गरिएको तटबन्ध र तारजालीले पनि उत्पादनशील जमिन बग्ने क्रम रोकिएन ।
जुम्लाको तातोपानी गाउँपालिकाको धान, जौ फल्ने लाछु जिउलो, पातारासीको उर्थुचौतारा, गोठीचौरलगायत अन्य क्षेत्रमा नदी कटानका कारण जमिन नास हुदै जाने समस्या अहिले पनि छ । तर पातारासी गाउँपालिकाकाले भने, खोलाले बगाउने उत्पादनशील जमिन बचाउन नदी गहिराउने काम थालेको छ ।
उत्पादन धेरै हुने तर खोला नालाले जमिन बगाउने क्षेत्रमा डोजरमार्फत नदी गहिरो बनाई रोक्ने अभियान चलेको पातारासी गाउँपालिकाका प्रमुख लक्षिमन बोहोराले बताए । उनले भने, “खोला नालाले जमिन बगायो, क्षतिपूर्ति चाहियो भन्ने बारम्बार किसानको गुनासो आउने गर्छ । यसलाई रोक्न पनि गाउँपालिकाले डोजर लगाई नदी गहिरो बनाई पानी सतही रूपमा जाने व्यवस्था मिलाइएको छ ।
अहिले गहिरो बनाएको नदीले आउने वर्षामा जमिन खियाउन नसक्ने प्राविधिक सूर्य डाँगीले बताए । उनका अनुसार, पहिलेको भन्दा झण्डै नदीलाई ७ मिटर गहिरो बनाइएको छ । उर्थुचौतारादेखि डिल्लीचौरसम्म पर्ने नदी क्षेत्रका जग्गा बचाउन नदी गहिरो बनाउने कार्य भएको हो ।
यस कार्यले खेतीयोग्य जमिन बचाउने आशा स्थानीय कृर्षक शिवराज बोहोराको जस्तै सबैको छ । उनको गत वर्षमात्रै नदी २ रोपनी जग्गा नदी बगायो । राहतका लागि निवेदन दिए । तर पाएनन् । अहिले गाउँपालिकाले थालेको नदी गहिरो कार्यले केही राहत हुने आशा लागेको अर्का स्थानीय छुमा बुढाले बताइन् ।
नदीले बगाउँछ भनी पहिले त नदी आसपासका जमिनमा खेती गर्न पनि डर लाग्थ्यो । बुढाले थपिन अब भने ढुक्क भएर खेती गर्ने हो । प्रायः ति जमिनमा धान, जौ, गहुँ र अन्य तरकारी खेती बढी गरिन्छ । पातारासी–६ का वडाध्यक्ष धनबहादुर थापाले अबको एक साताभित्रै नदी गहिरो बनाउने कार्य सकिने बताए ।
चाडै सम्भावित जोखिम क्षेत्रमा तारजाली तटबन्ध लगाइन्छ । उनले भने, “त्यसका लागि गाउँपालिकाले झण्डै १५ लाख बढी बजेट छुट्याएको छ । जमिन बर्सेनि मासिँदै गएको समस्यालाई मध्य नजर गर्दै पालिकाले काम थालेको हो ।
संघीय संचारनाअनुसार स्थानीय सरकार आएपछि हर क्षेत्रको विकासले फड्को मार्न थालेको स्थानीयको बुझाइ छ । उक्त नदी गहिरो बनाउने कार्यको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले स्थगलत अनुगमन पनि गरेका छन् । यस कार्यले अब नदी कटानको समस्या नहुने उनको भनाइ छ ।
सागर परियार 

प्रतिक्रिया दिनुहोस्