बुटवल भाटभटेनी सुपरमार्केटमा आगलागी «

बुटवल भाटभटेनी सुपरमार्केटमा आगलागी

भाटभटेनी सुपरमार्केटको बुटवल शाखामा आइतबार बिहान लागेको आगलागीबाट कम्तीमा १२ करोडको क्षति भएको अनुमान गरिएको छ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले पाँच तला रहेको सुपरस्टोरको पाँचांै तलामा आगलागी हुँदा त्यहाँ रहेका सबै विद्युतीय सामग्रीहरू नष्ट भएको तथा त्यस तल्लाको स्ट्रक्चर पनि नष्ट भएको जनाउँदै आगलागीबाट ११ करोडदेखि १२ करोडसम्मको क्षति भएको हुन सक्ने अनुमान गरेको उल्लेख गरे ।
आगलागीका कारण सुपरस्टोरका पाँचौं तलामा रहेका सबै सामान र त्यो तलामा रहेका अन्य संरचनासमेत नष्ट भएका छन् । विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
बिहान ४.३० बजेदेखि लागेको आगो नियन्त्रणमा लिन बुटवल, भैरहवा, रामग्राम र कपिलवस्तुको बाणगंगाबाट आएका ४ दमकलको साहयताबाट बिहान ८.३० मामात्र नियन्त्रणमा लिन सकिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाए ।
आगो नियन्त्रणमा लिन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मर्निङवाक हिँडनेहरूले एकाबिहानै सुपरमार्केटमा आगलागी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शनिबार राति करिब साढे ९ बजे तारबाट आगो बलेको देखेपछि स्थानीयले सुपरस्टोरका कर्मचारीलाई खबर गरेका थिए । कर्मचारीले उक्त कुरा ध्यान नदिँदा बिस्तारै आगोले विकराल रूप लिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
आगलागी हुँदा अपनाउनु पर्ने पूर्व कुराहरू त्यहाँ अभाव रहँदा र भएको सामानको पनि प्रयोग गर्न नसक्दा आगो नियन्त्रणमा लिन करिब ५ घन्टा लागेको हो । आगलागीको घटनापछि पूरै विद्युत् पावर कट ग¥यौं, विद्युत् नहुँदा माथिल्लो तलामा पानी लिफ्टसमेत हुन सकेन, अध्यक्ष गुरुङले भने । पाँचतले भवन रहेकाले दमकलबाट माथिल्लो पाँचौं तलामा पानीको फोहोरा अन्दाजीको भरमा पुराउनु पर्ने बाध्यता रह्यो । भैरहवा बुटवलमा लिफट सहितको क्रेनको अभाब सबैले महसुस गरें । अग्लो क्रेन भएको खण्डमा सजिलै माथि गएर पानी फाल्न सहज हुने थियो ।
आगलागीका कारण आईतबार भाटभटेनी पूर्ण रूपमा बन्द थियो । सोमबारबाट नियमित रूपमा सञ्चालन आउने र पाँचांै तलामा रहेको संरचना निर्माण गरी दुई महिनाभित्र पूर्ववत अवस्थामा ल्याउने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्