शीर्ष धनी १ प्रतिशतसँग विश्वको आधा सम्पत्ति
शीर्ष धनी १ प्रतिशतसँग विश्वको जनसंख्याको आधा सम्पत्ति भएको हालै प्रकाशित नयाँ प्रतिवेदनले देखाएको छ ।
विगत १२ महिनाको अवधिमा विश्वको कुल सम्पत्तिमा ६ प्रतिशतको वृद्धि भएर २ सय ८० ट्रिलियन डलर कायम भएको छ । यो वृद्धि २०१२ देखिकै तीव्र भएको क्रेडिट स्वीसको प्रतिवेदनले देखाएको छ । नयाँ सिर्जना भएको १६.७ ट्रिलियन डलरको आधाभन्दा बढी अमेरिकामा भएको छ ।
तर विश्वमा वृद्धि भएको सम्पत्ति धेरैजसो शीर्ष धनीको भएको छ । हाल शीर्ष धनी १ प्रतिशतको हातमा ५०.१ प्रतिशतको सम्पत्ति रहेको छ । यो २००१ को ४५.५ प्रतिशतको तुलनामा बढी हो ।
“अहिलेसम्म ट्रम्पको राष्ट्रपतित्व काल व्यवसाय र रोजगारी वृद्धिका लागि सकारात्मक देखिएको छ,” क्रेडिट स्वीसमा इन्टरनेसनल वेल्थ म्यानेजमेन्टका लागि प्रमुख लगानी अधिकृत मिचेल ओ सुलिभानले बताए, “अगाडि हेर्दा–हेर्दा उच्च बजार मूल्यांकन र सम्पत्तिको मूल्यले आगामी वर्षहरूमा वृद्धिको गतिमा नियन्त्रण हुन सक्नेछ ।”
आगामी वर्षहरूमा विश्वका मिलिनियरहरूले राम्रो गर्ने अपेक्षा गरिएको छ । हाल विश्वमा ३ करोड ६० लाख मिलिनियर छन् । सन् २०२२ सम्ममा उनीहरूको संख्या वृद्धि भएर ४ करोड ४० लाख पुग्ने अपेक्षा गरिएको छ । मिलिनियरहरूको संख्यामा पनि अमेरिकाले नै नेतृत्व गर्ने देखिन्छ । अमेरिकामा १० लाख डलर वा सोभन्दा माथिको सम्पत्ति भएका मानिसको संख्या १ करोड ५३ लाख हुने अपेक्षा गरिएको छ ।
दोस्रो स्थानमा २७ लाख मिलिनियरका साथ जापान छ । २२ लाख मिलिनियरका साथ बेलायत तेस्रो स्थानमा छ भने १९ लाख मिलिनियरका साथ चीन पाँचौं स्थानमा रहेको छ । तर, चीनका मिलिनियरको संख्या आगामी २०२२ मा २८ लाख पुग्ने अपेक्षा गरिएको छ ।