पुल निर्माणमा ढिलाइ «

पुल निर्माणमा ढिलाइ

गोरखाको आरुघाट गाउँपालिका अन्तर्गत सोतीखोलामा पुल निर्माण सम्झौता गरेको ४ वर्ष बितिसक्दा समेत मोटरेबल पुल निर्माण हुन सकेको छैन ।
२०६८ असार २९ गते ठेकेदार कम्पनी रायमाझी इसान जेभीले सोती पुल २०७० असार २८ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ११ किलो छेपेटार भालुस्वाँरा–बारपाक सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । तर अहिले पुल निर्माणको अवस्था अलपत्र छ । २ करोड २४ लाख ९० हजार ९४२ रुपैयाँको लागतमा पुल निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले हालसम्म १ करोड ८३ लाख ९० हजार ५३३ रुपैयाँ भुक्तानी पनि लगिसकेको छ । सम्झौताअनुसार करिब २५ मिटर लामो एक लेनको मोटरेबल पुल बनाउने भनिए पनि २०७२ सालको भूकम्प जानु अघिदेखि नै पुल निर्माणको काम ठप्प छ । केन्द्र सरकारले प्रस्ताव गरेको आँबुखैरेनी–गोरखा–घ्याम्पेशाल–आरुघाट–सिर्दीबास–छेकम्पार राजमार्ग अन्तर्गतको सडकमा सो पुल पर्ने आयोजना कार्यालयले जनाएको छ । उत्तरी गोरखालाई सडकसँग जोडन यो पुल महत्वपूर्ण मानिन्छ ।
पुल नबन्दा उत्तरी गोरखाका बासिन्दालाई बढी समस्या भएको पूर्वराज्यमन्त्री छमबहादुर गुरुङले बताए । उनले भने, “सम्बन्धित निकायको लापरबाहीले यो पुल बन्न सकेन ।” गुरुङले भने, “हामी जनप्रतिनिधिले पटकपटक निर्माण सम्पन्न गर्न दबाब दिए पनि काम हुन सकेन । नेपाली सेनाले लापुभीरदेखि लार्केभन्ज्याङ जोडने गरी सडक बनाउँदै गएको छ । तर सोतीदेखि लापुसम्म मोटर पुग्न यो पुल बन्नु जरुरी छ ।” पुल नबन्दा आवातजावात तथा मालसामान ढुवानीमा पनि समस्या भएको छेकम्पारका निमा लामाले बताए । उनले भने “पुल नबन्दा उत्तरी भेगका बासिन्दालाई आउजाउमा नै समस्या छ । ठेकेदारको लापरबाहीले गर्दा काम नभएको हो । सम्बन्धित निकायले ठेकेदारलाई कारबाही गरी पुल निर्माणको कामलाई अघि बढाउनुपर्छ ।”
ठेकेदार कम्पनीका प्रमुख भरतजंग रायमाझीले भने सडक कार्यालयले डिजाइन दिन नसक्दा काम थाल्न नसकेको बताएका छन् । रायमाझीले भने, “भूकम्पअघि नै यो पुल बन्नुपर्ने हो । मेरो फर्मबाट अर्कोलाई काम लगाएको थिएँ । तर उसले काम गरेन, त्यहाँ निर्माण सामग्री पुराउन पनि समस्या थियो । त्यसपछि म आफै काम गर्न पुगें, त्यही बेला भूकम्पले समस्या पर्यो । भूकम्पले बनेका संरचना पनि पुरिदिएपछि सडक कार्यालयले अर्को डिजाइनमा काम गर्ने भन्यो । तर अहिलेसम्म डिजाइन दिएको छैन ।”
पुल निर्माणको ८० प्रतिशत काम सकिसकेको अवस्थामा भूकम्पपछिको पहिरोले पुलका संरचना पुरिदिएपछि काम अलपत्र भएको ११ किलो छेपेटार–भालुस्वाँरा–बारपाक सडक आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनले भने, “पुलको बेसका काम भएका छन् तर भूकम्पपछिको पहिरोले संरचना बिग्रिएका छन् । अब त्यही संरचनामा काम थाल्न पनि जोखिम छ । त्यसैले नयाँ तरिकाबाट काम गर्नुपर्ने देखिन्छ ।” तत्कालका लागि सो ठाउँमा बेलिब्रिज राख्नुपर्ने देखिएको उनले बताए । उनले भने, “पुलको बन्दै गरेका संरचना पहिरोले पुरेका छन् । फेरि त्यही काम थाल्न पनि पहिरोको जोखिम छ । त्यो ठाउँ पनि गाह्रो छ । पहाडमा जोडिने गरी पुल बनाउन पनि समस्या छ । बढी खर्च पनि हुन्छ । त्यसैले अब पुल निर्माणसम्बन्धी विज्ञसँग छलफल गरेर मात्रै काम थाल्ने सोचमा छौं ।” पुलको डिजाइनर समेत रहेका सोही कार्यालयका पूर्वप्रमुख गणेश कँडेलले पनि तत्काल त्यहाँ पुल बनाउन उपयुक्त नहुने सुझाव दिएको आयोजना प्रमुख रिमालले बताए । उनले भने, “तत्काललाई पुन डिजाइन गरी बेलिब्रिज बनाएर २÷४ वर्ष त्यहाँको अवस्था हेरेपछि पुनः व्यवस्थित रूपमा मोटरेबल पुल निर्माण गर्ने विषयमा छलफल हुँदैछ ।”

अनुपमा खनाल

प्रतिक्रिया दिनुहोस्