जब्दीघाट पुल छानबिनमा ढिलाइ «

जब्दीघाट पुल छानबिनमा ढिलाइ

गत साउन २९ गते बबई नदीमा आएको बाढीले भासिएको जब्दीघाट पुल छानबिनमा ढिलाइ भएको छ । सम्बन्धित मन्त्रालय तथा विभागले चाँसो नदिँदा पुल भासिएको लामो समय भइसक्दा समेत छानबिनमा ढिलाइ भएको हो । छानबिनमा ढिलाइ हुनुका साथै भासिएको पुल अलपत्र अवस्थामा छाडिँदा सर्वसाधारणले जोखिमसँगै सास्ती व्यर्होर्नु परेको छ ।
बारबर्दिया नगरपालिकाको लाइफ लाइनको रूपमा हेरिएको सो पुल निर्माण सम्पन्न भएको वर्ष दिन नबित्दै भासिएपछि बर्दिया सदरमुकाम गुलरिया र गुलरियाबाट बारबर्दिया हुँदै पूर्व–पश्चिम महेन्द्र राजमार्ग आवतजावत गर्ने यात्रुलाई सास्ती हुने गरेको छ ।
भासिएको पुलमा यात्रा गर्नुपर्दा एकातिर पुल भत्किने त्रास छ भने अर्कोतर्फ सवारीसाधन आवागमन हुन नसक्दा आवतजावत गर्ने यात्रुका साथै बिरामीलाई झनै समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । “दैनिक गुलरिया आउजाउ गर्नुपर्छ, यातायातका साधन चल्न नसक्दा निकै समस्या हुने गरेको छ,” बारबर्दिया–५ वनघुस्रिका स्थानीय भिख्खु थारुले भने, “भासिएको पुलमा साइकलमा यात्रा गर्नुपर्दा भत्किने होकि भन्ने त्रास उत्तिकै छ ।”
पुल निर्माणसम्बन्धी छानबिन गरी लापरबाही गर्ने निर्माण कम्पनी र सम्बन्धित सडक डिभिजन कार्यालयका तत्कालीन प्राविधिकलाई कारबाहीको माग गर्दै आए पनि सुनुवाइ नभएको स्थानीय महेन्द्र विष्टले बताए । पुल भासिएको लामो समय बितिसक्दा पनि छानबिनमै ढिलाइ हुँदा सरकारी निकायप्रतिको विशवसनीयता घटदै गएको उनको भनाइ छ ।

दोषीलाई कारबाही गर्न माग
निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गनुपर्ने बताए । “निर्माण कार्यमा संलग्न पुलको डिजाइन कर्ता, निर्माण कम्पनी र अनुगमन गरी योजना पास गर्ने निकायलाई कानुनी दायरामा ल्याउनुपर्छ,” उनले भने, “बर्दिया विकासको महत्वपूर्ण पाटो यो पुल पनि भएकाले चाँडै पुल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दछु ।”
यसैबीच पुल महाशाखा काठमाडौंले भासिएको पिलरको पाइल फाउन्डेसन र माटो परीक्षणका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसको टोली पठाएर परीक्षणको काम सुरु गरेको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । पाइल डेप्थ र माटो परीक्षण टोलीको प्रतिवेदनको आधारमा विभागले कारबाही प्रक्रिया अगाडि बढाउने डिभिजन कार्यालयका प्रमुख अर्जुनकुमार बमले बताए । इन्जिनियरिङ टोलीले भने पुलमुनिको पिलर वरपर पानी जमेका कारण ढिलो भइरहेको जनाएको छ ।
पुल भासिएपछि सडक विभागले निर्माण कम्पनीलाई र निर्माण कम्पनीले सडक विभागलाई दोष दिएर पानी माथिको ओभानो बन्ने गरेका छन् । निर्माण कम्पनीले हस्तान्तरण नगर्दै पुल भासिएपछि सडक डिभिजन कार्यालयले पप्पु कन्ट्रक्सनलाई पुनर्निर्माणसम्बन्धी पत्र पठाए पनि उसले आफ्नो जिम्मेवारीमा पुल पुनर्निर्माण कार्य नपर्ने भन्दै उल्टै सर्वोच्च अदालतमा मुद्दा दायर गरको बताइएको छ ।
नेपाल सरकारको विकास बजेटअन्तर्गत करिब १७ करोडको लागतमा ४२५ मिटर लम्बाइको सो पुल सडक डिभिजन कार्यालय नेपालगन्जले गतवर्ष निर्माण गरेको थियो । पुल निर्माणकै क्रममा कमसल सामग्री प्रयोग गर्नुका साथै लापरबाही किसिमले निर्माण गरेको भन्दै स्थानीयवासीबाट चर्को विरोध हुँदै आएको थियो । निर्माण कम्पनीले कुनै सुनुवाइ नगरी हचुवाको भरमा गुणस्तरहीन कार्य गरेकाले पुल भासिएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । “निर्माण कम्पनी पप्पु कन्ट्रक्सनको चरम लापरबाही भएको छ,” उनले भने, “सरकारले यस्ता ठेकेदारलाई कालोसूचीमा राखेर लाइसेन्स रद्द गर्नुपर्छ ।” बर्खामा आवागमनमा झनै समस्या हुने भएकोले बर्खा अगावै बेलीब्रिज राखेर भए पनि पुल सुचारु गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्