पर्यटनमा पनि १ नम्बर «

पर्यटनमा पनि १ नम्बर

विराटनगर- पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमाल मकालु, लोत्से, कन्चनजंगा र कुम्भकर्ण हिमाल छन् प्रदेश–१ मा । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोसी टप्पु वन्यजन्तु आरक्ष यहीँ छन् ।
प्राकृतिकमात्रै नभएर धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना छ प्रदेशमा । यस आधारमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्छ १ नम्बर प्रदेश । पर्यटकीय हिसाबले प्रदेश नम्बर १ धनी प्रदेशको रुपमा पर्दछ । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुसहित तीन जिल्ला हिमाली प्रदेशमा, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पांँचथर, इलामसहित ८ जिल्ला पहाडमा र झापा, मोरङ तथा सुनसरी तराईका जिल्लासहित १४ जिल्ला पर्दछन् १ नम्बर प्रदेशमा ।
प्रदेशमा पर्यटनको राम्रो सम्भावना छ । सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण र मकालु हिमाल पनि यही प्रदेशमा छ । पछिल्लो समय धरानमा प्याराग्लाइडिङ सुरु भएको छ भने तमोर तथा कोशीमार्ग ¥याफ्टिङ पनि सुरु भएको छ । यस्तै इलामको माईपोखरी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पापोखरी जस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् भने तराईमा रहका धेरै सिमसार क्षेत्रले पर्यावरणको सुरक्षामा अझै सशक्त बनाएका छन् ।
“कृषि र ऊर्जामा भन्दा पनि १ नम्बर प्रदेश पर्यटनमा अब्बल छ,” पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले भने, “प्रदेश सरकार बलियो नीति बनाएर अगाडि बढेमा पर्यटनबाटै प्रदेशको समृद्धि हुन्छ ।” तीन दशकअघिसम्म यो प्रदेश कृषिमा अगाडि थियो । वैदेशिक रोजगारी, सिंचाइ अभाव, उत्पादित वस्तुको मूल्य अभाव, प्लटिङलगायतका कारणले कृषि ओरालो लागेको छ यो प्रदेशमा ।
“यो प्रदेशलाई पर्यटनको हबका रुपमा विकास गर्न सकिन्छ,” अर्का व्यवसायी पुण्य भट्टराई भन्छन्, “त्यसका लागि लगानीको वातावरण बनाउनुपर्छ ।” विराटनगरस्थित रानी नाकामा अध्यागमन कार्यालय, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलसहित भौतिक संरचनाको विकासमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । अध्यागमन कार्यालय नहुँदा तेस्रो मुलुकका पर्यटकहरू रानी नाकाबाट प्रवेश गर्न पाउँदैनन् ।
धार्मिक गन्तव्य बराहक्षेत्र, पाथिभरा, हलेसी महादेव, अर्जुनधारालगायतका धार्मिक महत्वका गन्तव्यलाई पर्यटकीय गन्तव्यको घोषणागरी आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने, पूर्वका ऐतिहासिक गन्तव्य विराट राजाको दरबार, केचनाकवल, किच्चकबध, कन्काईमाई धामलगायतका ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुपर्ने, त्यस्तै प्राकृतिक रुपले भरिपूर्ण तीनजुरे, जलजले तथा मिल्के (टीएमजे) क्षेत्रलाई पनि पर्यटकीय गन्तव्यका रुपमा विकास गराउनुपर्ने व्यवसायीले वर्षौंदेखि माग गर्दै आएका छन् ।
प्राकृतिक बनावटले पनि पर्यटनको सम्भावना यो प्रदेशमा धेरै छ । हिमालदेखि तराईसम्मको भूबनोटले पनि यहाँ भौगोलिक विविधता पाइन्छ । “सगरमाथालाई देखाएर पनि यो प्रदेशले प्रशस्त आर्थिक आम्दानी गर्न सक्छ,” पर्यटन व्यवसायी श्रेष्ठ भन्छन्, “त्यसका लागि भौतिक संरचनाको विकास र प्रचारप्रसारको आवश्यकता छ ।” पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ ।
लोडसेडिङ, बन्दहड्ताल, बजार अभाव, मजदुर अभावलगायतका समस्या उद्योगमा बढ्दै गएपछि नाम चलेका उद्योगीहरूसमेत पर्यटन क्षेत्रमा लगानी बढाउन थालेका छन् । उद्योगी मोती दुगडको १ अर्ब २० करोड रूपैयाँको लगानीमा पाँचतारे होटल धमाधम निर्माण भइरहेको छ । अबको १ वर्षभित्र उक्त होटल सञ्चालनमा आउनेछ । दुगडकै लगानीको चारतारे होटल ह्यारिसन प्यालेस सञ्चालनमा आइसकेको छ ।
पर्यटन व्यवसायी रेवतबहादुर थापाको लगानीमा धनकुटाको हिलेमा अत्याधुनिक सुविधाको होटल सञ्चालनमा आइसकेको छ । यसले गर्दा यो क्षेत्रमा पर्यटनमा लगानी थपिँदै गएको पाइन्छ । पछिल्लो दुई वर्षयता दुई दर्जनभन्दा बढी ठूला होटल सञ्चालनमा आइसकेका छन् । जसमा ५० अर्बभन्दा बढी लगानी छ ।
इलाम, झापा, धनकुटा, इटहरी, विराटनगरलगायतमा बढी लगानी भइरहेको क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । यो इलाम, पाथीभरा, हलेसी, भेंडेटार, सगरमाथा, मकालु, कञ्चनजंघा, बराहक्षेत्र, दन्तकालीलगायतका पर्यटकीयस्थलहरूमा हरेक दिन आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।
“भौतिक संरचनाको विकास र प्रचारप्रसार अभियान सञ्चालन गर्ने हो भने अहिलेको दोब्बर पर्यटक भित्र्याउन सकिन्छ,” पर्यटन व्यवसायी गिरिराज बस्नेतको भनाइ छ, “बाह्य पर्यटकलाई भित्र्याएको खण्डमा मात्रै आर्थिक फाइदा लिन सकिने बस्नेतले बताए । आन्तरिक पर्यटकमा अझै खर्च गर्ने बानी बसिनसकेको उनको बुझाइ छ । “बाह्य पर्यटक आउने सगरमाथा हो,” उनी भन्छन्, “त्यसको फाइदा काठमाडौंले लिइरहेको छ ।” प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको अत्यधिक सम्भावना छ यो क्षेत्रमा । खुम्बु पदयात्रा र हिमाल आरोहणका लागि वार्षिक ३५ हजार विदेशी पर्यटकहरू खुम्बु प्रवेश गर्ने गरेका छन् ।
प्रदेश नम्बर एकमा पर्ने मेची–कोशी अञ्चलमा मात्रै यस वर्ष नयाँ तारे होटलका लागि २५ अर्ब लगानी थपिएको छ । पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा ५० अर्ब लगानी भइसकेको छ । धनकुटाको हिलेमा पहिलोपटक १३ करोडको लागतमा सुविधासम्पन्न चारतारे होटल खुलेको छ । पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढी लगानीमा सुविधा सम्पन्न होरिजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको हो ।
विराटनगरका होटल व्यवसायी रेवतीबहादुर थापाले पर्यटकलाई लक्षित गरी ४८ रोपनी क्षेत्रफलमा ४२ वटा कोठा भएको होटल खोलेका हुन् । लामो समयदेखि विराटनगरमा रत्ना होटल सञ्चालन गर्दै आएका थापाले कोशी करिडोर क्षेत्रमा घुम्न आउने पर्यटनलाई लक्षित गरी आफुले होरिजन माउण्टेन रिसोर्ट सञ्चालनमा ल्याएको बताए । लाली गुँरासको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्र यही रुटमा पर्छ ।
यस क्षेत्रमा धुम्न आउने र बस्न चाहने पर्यटनलाई उपयुक्त होटलको अभाव अब होरिजन माउण्टेन रिसोर्टले पूरा गर्ने थापाले बताए । विराटनगर बसपार्कमा पनि थापाकै लगानीमा अत्याधुनिक सुविधासम्पन्न होटलको भौतिक संरचना निर्माण भइरहेको छ ।
पछिल्लो समय पूर्वी पहाडी जिल्लामा नयाँ एवं सुविधा सम्पन्न होटलहरू खुल्ने क्रम ह्वातै बढेको छ । तराईका जिल्लामा मात्रै सुविधा सम्पन्न होटलहरू रहने गरेकोमा पछिल्लो पाँच वर्षयता पहाडी जिल्लामा पनि होटलहरू खुल्नेक्रम बढेको छ । अहिले पूर्वी पहाडी जिल्लामा मात्रै करिव ४० भन्दा बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । पाँच वर्षको अवधिमा २ करोडभन्दा बढी लगानीमा यी होटल निर्माण भएको श्रेष्ठले बताए ।
पूर्वी नेपालमा होटल व्यवसायी महासंघमा आवद्ध ५ हजार बढी होटल छन्, जसमध्ये पर्यटकलाई लक्षित गरी एक हजार बढी होटल सञ्चालनमा छन् । विद्युतको संकट र मजदुर अभावका कारण उद्योग सञ्चालन गर्न कठिनाइ हुन थालेपछि ठूला औद्योगिक घरानाहरू होटल व्यवसायतर्फ आकर्षित भएका छन् । पूर्वी नेपाल धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटकीय क्षेत्रहरूमा सगरमाथादेखि मकालु, कञ्चनजंघालगायतका हिमालहरू छन् ।
यसले गर्दा १ नम्बर प्रदेश हिमाल आरोहणदेखि ट्रेकिङका लागि पनि मुलुकमै परिचित छ । “सम्भावना देखेर नै पर्यटन क्षेत्रमा लगानी गरेको हुँ” उद्योगी मोती दुगडले भने, “प्रदेश १ को विकास पर्यटनबाटै सम्भव छ ।” ठाउँ–ठाउँमा होमेस्टे पनि सञ्चालनमा आएका छन् । विद्युतमा जस्तो पर्यटनमा ठूलो लगानी पनि आवश्यक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्