गन्तव्य बन्दीपुर

दमौली – कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरूलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ । तनहुँ सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ, जहाँबाट मनोरम हिमश्रृखंला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुछ्रे, धौलागिरी लगायतका हिमश्रृखंला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तिनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको पहिलो रोजाई बन्ने गरेको छ । बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न यहाँ थ्री स्टारसम्मको होटलहरू रहेका छन् । बन्दीपुर आउने पर्यटकहरू यहाँको हावापानी, संस्कृति, रितिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । २-३ दिन मात्रै बस्ने गरेर आएका पर्यटकहरू पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किदैनन् ।
गुरुयोजना बनाइने
बन्दीपुर गाउँपालिकाको दीर्घकालिन गुरुयोजना बन्ने भएको छ । विश्वभर प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि गाउँपालिकाले दीर्घकालिन गुरुयोजना निर्माण गर्न लागेको हो । सो अवसरमा पूर्व उपप्रधानमन्त्री श्रेष्ठले गुरुयोजना निर्माण गर्दा विकासका कामलाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
गाउँपालिकाले गुरुयोजना निर्माणका लागि हेमराज लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको छ । गाउँपालिकाका प्रमुख पूर्णसिं थापा बन्दीपुरलाई कस्तो बनाउने भन्ने सन्दर्भमा सबै सरोकारवालासँग समन्वय गरी दीर्घकालिन गुरुयोजना बनाइने बताए । “बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीय स्थल हो,” उनले भने, “यसको थप विकासका लागि दीर्घकालिन गुरुयोजना बनाउन आवश्यक छ ।” गाउँपालिकाका प्रमुख थापाका अनुसार गुरुयोजना अनुरुपका नीति तयार गरी विकासका कार्यक्रमहरूलाई कार्यान्वयन गर्दै लगिनेछ ।
उनका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको भरपुर प्रयोग गरिनेछ । बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरूको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई बन्दीपुरको विकासमा प्रयोग गरिने थापाले जानकारी दिए ।
काठमाडौं, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरूको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरूको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सम्बद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजना सहित गाउँपालिकाले कार्यक्रमहरू अगाडि बढाउने लक्ष्य लिएको छ ।
गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि रानीवन क्षेत्रमा भ्युटावर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । २ करोडको लगानीमा निर्माण हुने भ्युटावरबाट एउटै रेञ्जमा धांैलागिरीदेखि लाङटाङसम्मका ८ हजार उचाइभन्दा माथिका हिमालहरू देख्न सकिन्छ ।
यसैगरी बन्दीपुरमा मानव निर्मित तालको निर्माण कार्यलाई समेत अगाडि बढाइएको छ । उक्त तालको २०६८ श्रावण ४ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गरेका थिए । मानव निर्मित ताल नेपालकै पहिलो ताल हुनेछ । बन्दीपुरको गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ ।
गाउँपालिकाले शनिबार बन्दीपुरमा कार्यक्रमको आयोजना गरि गुरुयोजना निर्माण कार्यको शुभारम्भ समेत गरेको छ । पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, तनहु निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेश नम्बर ४ का आन्तरिक कानुन मन्त्री हरिबहादुर चुमानले प्रतिबद्धता पत्र वाचन गर्दै गुरुयोजना निर्माण कार्यको शुभारम्भ गरेका थिए ।
–कृष्ण न्यौपाने