ओरेन्टलमा डुबेको पैसा फिर्ता हुने

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका बचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको छ । समितिले बोलाएसँगै सुधीर बस्नेत अध्यक्ष रहेको ओरेन्टल कोअपरेटिभका बचतकर्ता र अपार्टमेन्ट खरिदकर्ताले आफ्नो डुबेको पैसा फिर्ता पाउने सम्भावना बढेको छ ।
विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको उक्त समितिले सहकारीका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्तालाई वैशाख २ देखि जेठ ६ गतेसम्म प्रमाणसहित माग दाबी पेस गर्न सूचना निकालेको छ । समितिका अनुसार बस्नेतको सम्पत्ति खोजेर भेटिएको सम्पत्तिलाई दामासाहीमा फिर्ता गरिनेछ । यसअघि सरकारले ०७० कात्तिक २७ गते कार्कीकै संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको उच्चस्तरीय आयोगको गठन गरेको थियो । आयोगले ०७१ जेठ ५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा बस्नेतले सहकारीको साढे ३ अर्ब रुपैयाँ र डेढ अर्ब रुपैयाँभन्दा बढी हाउजिङ तथा अपार्टमेन्टको ठगी गरेको उल्लेख छ । बस्नेत ठगी मुद्दामा जेल सजाय भोगिरहेका छन् ।