सुन कर्जा पनि असल

बैंक तथा वित्तीय संस्थाले पर्याप्त धितो राखी १० लाख रुपैयाँसम्म सुनचाँदी कर्जा दिएमा असल मानिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै १० लाख रुपैयाँसम्मको सुनचाँदी धितो कर्जालाई असल मानिने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले असल कर्जासम्बन्धी नयाँ व्यवस्था गरी १० लाख रुपैयाँसम्मको सुनचाँदी कर्जा पनि थपेको हो । यसभन्दा अघि असल कर्जामा मुद्दति रसिदको धितोमा गएका कर्जा तथा सापटहरु र नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा तथा सापटलाई मात्र असल कर्जा वर्गमा राखेको छ ।
तर, अतिरिक्त धितो सुरक्षण वापत मुद्दती रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्तो कर्जा तथा सापटलाई भने असल, कमसल, सूक्ष्म निगरानी, शंकास्पद र खराव कर्जाको रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ।
बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालू पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने व्यवस्था छ । इजाजतपत्र प्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारको विश्लेषणपछि कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्छ । चालू पुँजी प्रकृतिका कर्जामा प्राप्त हुनुपर्ने ब्याज नियमित नभएको अवस्थामा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरण गर्नुपर्नेछ ।