दूध बेचेरै वार्षिक २ लाख

सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर–१४ गढीका टेकराज चालिसे दूध बिक्रीबाटै वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । दुई वर्षअघिबाट पशुपालन सुरु गरेका टेकराजले दूध बिक्रीबाट घरखर्च कटाएर वार्षिक २ लाख रुपैयाँ बचत गर्ने गरेको बताए ।
८ कक्षा पास गरेका उनी व्यावसायिक पशुपालनबाट गाउमै आम्दानी गर्ने युवाको नमुना बनेका छन् । थोरै लगानीबाट व्यवसाय सुरु गरेका उनले अहिले दुइटा भैंसी र एक गाई पालेका छन् । गाई र भैंसीको गरी दैनिक २१ लिटर दूध बिक्री गर्ने गरेको चालिसेले बताए । “थोरै पुँजीबाट व्यवसाय सुरु गरे पनि अहिले सन्तुष्ट छु,” चालिसेले भने, ‘६ जनाको परिवारको घर खर्च कटाएर वर्षमा दुई लाख जति बचत भएको छ ।”
स्वदेशमा नै व्यवसाय गरे रोजगारीकै लागि विदेश जान नपर्ने चालिसेको भनाइ छ । “विदेशमा पैसा मात्र हो परिवार कहाँ हुन्छ ?,” चालिसेले भने, “पैसामात्र भएर सुख मिल्दैन फेरि यहाँ विदेशको जस्तो दुःख पनि त गरेको छैन । राम्रै छ यसै व्यवसायमा खुसी छु ।” उनले केही दूध गाउँमै तथा केही दूध डेरीमा बिक्री गर्ने गरेको बताए । वीरेन्द्रनगरका डेरीहरू दूध खरिदका लागि गाउँमै पुग्ने भएकाले बिक्रीका लागि समस्या नभएको उनले बताए ।
गरिबी निवारण कोषको सहयोगमा स्थानीय विकास कोष सुर्खेतले उनको गाउँमा सञ्चालन गरेको घुम्ती कोष जरेपानी सामुदायिक संस्थाका अध्यक्ष समेत रहेका चालिसेले समूहबाट ४० हजार रुपैयाँ ऋण लिएका छन् । समूहमा बसेपछि आफूले व्यावसयिक पशुपालन व्यवसाय सुरु गरेको उनको भनाई छ । व्यवसाय गर्न चाहने समूहका सदस्यलाई सामुदायिक संस्थाले व्यवसाय सञ्चालनसम्बन्धी तालिम दिएपछि व्यवसाय सुरु गरेको उनले बताए । चालिसे थोरै पुँजीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ भन्ने उदारणसमेत बनेका छन् ।
गोविन्द खत्री