छुमचौरमा दशकपछि कालीमार्सी

जुम्ला-विश्वको अग्लो धान फल्ने स्थानका रुपमा पहिचान जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा एक दशकपछि कालीमार्सी धान रोप्ने योजना तय भएको छ । धान रोप्ने सिजनमा यार्सा टिप्न पाटनमा जाने भएकाले खेतीयोग्य जमिन बाँझै हुने गरेको थियो । धानखेतीमा धेरै मेहनत गर्नुपर्ने तर उत्पादन कम हुने भन्दै पछिल्लो समयमा स्थानीयले धान रोप्न छोडेका थिए ।
तर, धान खेती हेर्नकै लागि आउने आन्तरिक तथा वाह्य पर्यटक रित्तो हात फर्कन थालेपछि यस वर्षदेख ज्युलोमा धान रोप्न शुरु गरिएको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख लक्षिराम महतले बताए । उनका अनुसार अबको केही समयमै छुमचौर ज्युलोमा कालीमार्सी धान लहलह फलाउने तयारी छ । कर्णाली कला केन्द्र जुम्लाको समन्वयमा गाउँपालिका कृषि शाखाले धानखेतीको उर्वर भूमीको रुपमा अघि बढाउने योजना तय भएको छ ।
ज्युलोमा धान रोप्नकै लागि तिर्खु ज्युलो र चौर ज्युलोबाट बीउ छनोट गरी भिजाई सकिएको छ । दुई क्वीन्टल धानको बीउ भिजाइएको उनले बताए । “छुम ज्युलोमा ७० पाथी, चौर ज्युलोका लागि ३० पाथी धानको विउ उमारिएको छ,” उनले भने । यो पटक तीन सय मुरी खेतमा कालीमार्सी धान रोप्ने गरी तयारी गरिएको उनले बताए । जेठ पहिलो साता पत्रकार तथा चर्चित कलाकारलाई छुमचौर ज्युलोमा भेला गराएर कृषि पर्यटन प्रवद्र्धनको सन्देश फैलाउने तयारी छ ।
छुमचौर ज्यूलोलाई कृषि पर्यटन आकर्षण केन्द्र
पातारासी गाउँपालिकाले छुमचौर ज्यूलोलाई पर्यटन आकर्षणको केन्द्र बनाउन धान रोप्ने प्रचलनलाई प्रथामिकताका साथ अघि बढाएको छ । लामो समयसम्म खेतीयोग्य जमिन बाँझै रहँदा हेर्न आउने सबैजसो पर्यटक खाली मन लिएर फर्कने गर्छन् ।
स्थानीयले छुमचौर ज्यूलोलाई नयाँ तरिकाले धान रोपेर नमुना उदाहरण देखाउन बताएका छन् । कालीमार्सी धान असिनाले झारिदिने र रोगको संक्रमण बढी देखिएकाले खेत बाँझो राख्न बाध्य भएको किसानले बताए । ज्युलोमा धान नरोपिँदा कालीमार्सी धान संकटमा परेको भन्दै कालीमार्सी धान फलाउन किसानलाई प्रेरित गरेको कृषि शाखा प्रमुख महत बताए ।
तीन हजार मिटरको उचाइमा फल्छ धान
२ हजार ८ सय ६० मिटर उचाइमा धान फल्छ । पाटनमा यार्सा सिजन भए पनि गाउँमा बसेका किसानलाई धानको संरक्षणमा जोड दिन लगाइने गाउँपालिकाले तयारी गरेको हो । “गाउँपालिकाको समृद्धि छुमचौर ज्युलोबाटै हुन्छ,” कृषि शाखा प्रमुख महतले भने, “पर्यटन आवागमनको केन्द्र बनाएर स्थानीय सरकारलाई राम्रो आम्दानी गर्न सक्ने देखिएको छ ।” कालीमार्सी धान बचाउन र छुमचौर ज्यूलोको पहिचान बचाउन स्थानीय सक्रिय देखिएको उनले बताए ।
कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन र खेतियोग्य जमिनलाई बाँझो हुन नदिने नीति गाउँपालिकाले अख्तियार गरेको छ । कर्णाली कला केन्द्रका अध्यक्ष राजहाबहादुर शाहीले छुमचौरलाई साँचिक्कै कृषि भूमीका रूपमा परिचित बनाउन पहल सुरु भएको बताए ।
सागर परियार