मुख्यमन्त्रीसहित प्रदेश सदस्यको पारिश्रमिक पारित

हेटौंडा- ३ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्री र प्रदेशसभा सभासदको तलब सुविधासम्बन्धी विधेयक आइतबार प्रदेशसभाबाट स्वीकृत गराएको छ । स्वीकृत विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ । अन्य सेवासुविधासमेत गरेर मुख्यमन्त्रीले मासिक ७५ हजार रुपैयाँ पाउने देखिएको छ ।
विधेयकअनुसार मुख्यमन्त्रीलाई सञ्चार खर्च ५ हजार र अतिथि सत्कारका लागि १० हजारका रुपैयाँ पनि दिइनेछ । आवास सुविधासहित आवश्यक परेमा सुरक्षा प्रयोजनका लागि थप एक सवारी साधनसमेत उपलब्ध गराउन सकिने प्रस्तुत विधेयकमा उल्लेख छ ।
त्यस्तै मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायकमन्त्रीले ४७ हजार पारिश्रमिक पाउनेछन् । त्यसअलवा मन्त्रीहरूलाई सञ्चार खर्च ३ हजार र अतिथि सत्कारका लागि ५ हजार दिइनेछ । तलब र अन्य सुविधा गरी मन्त्रीले मासिक ६० हजार रुपियाँ बुझ्नेछन् । राज्यमन्त्री र सहायकमन्त्रीले २ हजार सञ्चार र ३ हजार अतिथि सत्कार खर्च पाउनेछन् । राज्यमन्त्रीले मासिक जम्मा ५४ हजार र सहायकमन्त्रीले ५२ हजार रुपैयाँ पाउनेछन् ।
मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले पनि आवास सुविधा पाउनेछन् । निजी घरमा बस्ने मन्त्रीहरूलाई वार्षिक १ लाख ३० हजार, राज्यमन्त्रीलाई १ लाख १० हजार र सहायमन्त्रीलाई १ लाख घर मर्मत खर्च दिइनेछ भने फर्निचर खर्चबापत एक लाख रुपैयाँ दिइनेछ । भाडाको घरमा बसे मन्त्रीलाई २७ हजार, राज्यमन्त्रीलाई २५ हजार र सहायकमन्त्रीलाई २० हजार घरभाडा दिइने जनाइएको छ । आफ्नै घरमा बस्नेहरूले भने घरभाडा लिन पाउने छैनन् ।
सरकारी विधेयक अनुसार मुख्यमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार पाउनेछन् भने विदेश जाँदा २५० डलर पाउनेछन् । मन्त्रीले स्वदेशमा २५ सय र विदेशमा २०० डलर तथा राज्यमन्त्री र सहायकमन्त्रीले स्वदेशमा २ हजार र विदेशमा १७५ डलर दैनिक भ्रमण भत्ता पाउने बताइएको छ । त्यस्तै प्रदेशसभा सांसदको तलब ४५ हजार रुपैयाँ तोकिएको छ । उनीहरूले अन्य सेवा सुविधा पनि पाउनेछन्
दुई विधेयक प्रमाणीकरण
प्रदेशसभाको चैत्र १६ गते शुक्रबार बसेको बैठकले सर्वसम्मत स्वीकृत गरेको दुई विधेयक आइतबार प्रमाणीकरण भएको छ । प्रदेश प्रमुखले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्रमाणीकरण भएको हो । आइतबार बसेको ३ नम्बर प्रदेशसभा बैठकमा प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको जानकारी गराइएको थियो ।
त्यस्तै, प्रदेशसभा बैठकबाट चारवटा विधेयक स्वीकृत भएका छन् । उक्त बैठकबाट गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक, स्थानीय तह पदाधिकारी र सदस्यहरूले पाउने सुविधा सम्बन्धी विधेयक तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक स्वीकृत भएको छ । उक्त विधेयकमाथि दफाबार छलफलपश्चात् चैत २९ गते बस्ने प्रदेशसभाको बैठकबाट पारित गरिने बताइएको छ ।
केशव समर्पण