विराट गोल्डकपको उपाधिका लागि आज भीडन्त «

विराट गोल्डकपको उपाधिका लागि आज भीडन्त

विराटनगर-विराट गोल्डकपको ३२ औं संस्करणको उपाधिका लागि सोमबार (आज) चिरप्रतिद्वन्द्वी विभागीय टिम त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
थ्रीस्टारले शनिबार संकटा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा दुवै टिम आमन्नेसामुन्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा उत्रिँदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या पाँच पु¥याउने दाउमा छ । झापा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको हो ।
दुवै टिमले उपाधिका लागि आफूलाई पूर्ण दाबेदार पस्तुत गर्दै त्यहीअनुसारको तयारीलाई तीव्रता दिइरहेको दाबी प्रस्तुत गरेका छन् । उनीहरूले उपाधि चुम्नका लागि कुनै पनि कसर बाँकी राख्न नसकिने स्पष्ट पारेका छन् । जारी सिजनमा सातवटा उपाधि उचालिसकेको आर्मी विराट गोल्डकप कब्जा गरेर उपाधि संख्या आठ बनाउने दाउमा छ । सिजनको चारवटा उपाधि आफ्नो पक्षमा पारिसकेको थ्रीस्टार पनि आर्मीलाई अघि बढ्न नदिइकन उपाधि संख्या पाँच बनाउने तयारीका साथ मैदानमा आउँदैछ ।
सिजनमा यी दुई टिमबीच विराट गोल्डकपमा चौथो पटक भेट हुँदैछ । तेस्रो पटकसम्मको स्पर्धामा आर्मी दुईवटा र थ्रीस्टारले एउटामा जित हात पारेको अवस्था छ । खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले थ्रीस्टारले आर्मीलाई स्तब्ध बनायो । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसँग टाईब्रेकरमा ५–४ गोलअन्तरले पराजित भयो । ११ वटा प्रतियोगितामा सहभागी भएकोमा सातवटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । उसले सिजनको विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ ।
१० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ । उसले इटहरीको मदन भण्डारी, धरानको बूढासुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितिसकेको छ । प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिंदै आएको छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५-२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने जानकारी रिजालले दिए । गोल्डकपको मुख्य प्रायोजकमा मारुती सिमेन्ट र रमपम तयारी चाउचाउ रहेका छन् भने विराटनगर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको छ । २९ औं संस्करणदेखि विराटनगरका प्रतिष्ठित उद्योगीहरूको नेतृत्वमा गोल्डकप भइरहेको छ । यसपटक मोरङ व्यापार संघका महासचिव नविन रिजालको अध्यक्षतामा आयोजक समिति बनेको थियो । गत दुईवटा संस्करण भने उद्योगी राजेन्द्र राउतको नेतृत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्