भारत भ्रमण असमझदारी चिर्न सफल : प्रधानमन्त्री «

भारत भ्रमण असमझदारी चिर्न सफल : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली शुक्रबार नयाँ दिल्ली गएका थिए ।
स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताए । नयाँ दिल्लीमा नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पुर्याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ ।”
भारतसँग भएका विगतका समझदारी कार्यान्वयनका लागि कसरी समन्वयका साथ अघि बढाउने भन्नेबारे छलफल गरी साझा संयन्त्र बनाएर अघि बढ्ने उनको भनाइ थियो ।
समृद्ध नेपाल निर्माण अभियानमा भारतीय निजी क्षेत्र लगानी गर्न तत्पर रहेको र नेपालमा लगानीमैत्री वातावरण रहेको भन्ने धारणा पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीप्रतिको विश्वास र व्यवहारिक कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताए ।
स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्री ओलीले भ्रमण अत्यन्तै सफल र सम्बनध सुधारका लागि कोशेढुंगा भएको बताएका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली भ्रमणको अन्तिम दिन आइतबार बिहान भारतको पन्तनगर पुगे, जहाँ उनलाई भारत सरकारले विद्यावारिधिको उपाधि प्रदान गरेको छ । पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले ओलीलाई विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको हो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेका थिए । उनले आइतबार नै उत्तराखण्डस्थित कृषि परियोजना निर्माणको निरीक्षणसमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल–भारतबीच शनिबार १२ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । संयुक्त वक्तव्यमा दुई मुलुकबीच बहुआयमिक सम्बन्धहरुमाथि बृहत् समीक्षा तथा दुवै सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत गर्दै समानता, आपसी विश्वास, समान र लाभका आधारमा दुईपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन मिलेर काम गर्ने उल्लेख छ । यस्तै, भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्जको अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पनि शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्द, पूर्वप्रधानमन्त्री मनोमहन सिंह, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, गृहमन्त्री राजनाथ सिंहलगायतका राजनीतिक नेता तथा उच्चपदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए ।

भ्रमण ऐतिहासिक र सफल : परराष्ट्रमन्त्री
प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको राजकीय भ्रमण ऐतिहासिक रूपमा सफल भएको दाबी गरेका छन् । आइतबार स्वदेश फर्कनुअघि सञ्चारकर्मीहरूसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरे ।
त्यस्तै, उनले सन् २००६ देखि नेपालमा सुरु भएको राजनीतिक परिवर्तनको श्रृंखला नयाँ उचाइमा पुगेको, स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धिमात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण भएको बताए ।
भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गरेको भन्दै नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत भारतले व्यक्त गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जनाए ।

ओलीको भ्रमण सफल र फलदायी : भारतीय नेता
नयाँदिल्ली, २५ चैत (कास) : भारतीय नेताहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन् । नयाँदिल्लीमा संक्षिप्त कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुवै दलका प्रभावशाली नेताहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले भने, “ओलीजीको भ्रमण सफल भयो, यो भ्रमणसँगै अब नेपालमा विकास र समृद्धिको ढोका खुलेको छ । भ्रमण कोशेढुंगा सावित भएको छ, म त निकै खुशी र उत्साही छु ।” उनले नेपाल–भारत द्विपक्षीय सम्बन्धमा देखिएका सबैखाले असमझदारी पनि यो भ्रमणसँगै हटेको विश्वास दिलाए । मन्त्री सिंहले नेपालको प्रगतिको लागि भारतले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग बढाउने वचन दिए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको शिल्यान्यास गर्न छिट्टै नेपाल भ्रमणमा जाने पनि जानकारी दिए ।
त्यस्तै भारतीय नागरिक उड्यनमन्त्री सुरेश प्रभुले पनि प्रधानमन्त्री ओलीको भ्रमण सफल र फलदायी भएको टिप्पणी गरे । भ्रमणको क्रममा ओलीको प्रस्तुति लोभलाग्दो भएको उनले बताए । नेपालमा वार्षिक १५ लाख भारतीय पर्यटक पठाउने उनको भनाइ थियो ।
कानुन, न्याय, विद्युत् तथा प्रविधिमन्त्री रविशंकर प्रसादले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी भएको विश्वास दिलाए । भाजपाका महासचिव राम माधवले पनि ओलीको भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय र आयामहरू थपिएको प्रतिक्रिया दिए ।
त्यस्तै कांग्रेस आईका महासचिव दिगविजय सिंहले आफूहरूले पहिले पनि नेपालमा विकासको युगको सुरु हुनुपर्छ भनेको र अहिले पनि त्यो चाहना यथावत् रहेको सुनाए ।
भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले पनि ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्