‘कानुनी अड्चन’ले रोकियो अरुण तेस्रोको शिलान्यास

कानुनी अड्चनको कारणले बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यास रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा शनिबार ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसबाट स्वीचअन गरी परियोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भए पनि गृहकार्य नपुगेको भन्दै रोकिएको हो ।
नेपालको विद्युत् ऐनमा उत्पादन अनुमतिपत्र (लाइसेन्स) नलिइ जलविद्युत् आयोजनाको शिलान्यास गर्न नपाइने व्यवस्था भए पनि भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भएको थियो । प्रधानमन्त्री स्वयंले कानुनी व्यवस्थाविपरित गएर उत्पादन अनुमतिपत्र नदिएको परियोजनाको शिलान्यास गर्दा यसले कानुन उल्लंघन भएको ठहर्ने भन्दै यसको आलोचना भएको थियो । लगानी बोर्ड स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता दिएकोले उत्पादन अनुमतिपत्र दिएपछि यसको औपचारिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय हुनेछ ।
फागुन २५ मा बसेको लगानी बोर्डको बैठकले भारतीय सतलज कम्पनी प्रवद्र्धक रहेको सो आयोजनाको उत्पादन अनुमतिपत्रका लागि सूचना निकाल्ने निर्णय गरेको थियो भने तीन साता अघिमात्र ३५ दिने सूचना जारी गरेको छ । यो सूचनाअनुसार तत्काल निर्णय भएमा अरुण तेस्रोले उत्पादन अनुमतिपत्र पाउन दुई साताभन्दा बढी लाग्नेछ ।