‘उदार आर्थिक नीतिप्रति प्रतिबद्ध’ «

‘उदार आर्थिक नीतिप्रति प्रतिबद्ध’

प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय व्यापारीलाई आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीतिप्रति प्रतिबद्ध रहेको भन्दै लगानीका लागि आग्रह गरेका छन् । भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरम बैठकलाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीति प्रति प्रतिबद्ध रहेको बताए । वाम गठबन्धन नेतृत्वको सरकार उदार व्यवस्थाबाट पछाडि फर्कन्छ भन्ने भारतीय व्यवसायीहरुमा भएको आशंकातर्फ संकेत गर्दै उनले उदार अर्थतन्त्रप्रतिको प्रतिवद्धता दोहोराए ।
ओलीले नेपालमा राजनीतिक परिवर्तनपछि बलियो सरकार बनेको उल्लेख गर्दै निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे । भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की), भारतीय उद्योग परिसंघ (सीआईआई) र एसोचेमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई ताज होटलमा सम्बोधन गर्दै ओलीले नेपालमा कानुनी शासन बलियो भएको र सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै लगानीका लागि आग्रह गरेका हुन् । “हामीलाई हरेक क्षेत्रमा ठूलो लगानी चाहिएको छ,” उनले भने, “लगानीका लागि नेपाल भर्जिनल्यान्ड मानिन्छ, हरेक क्षेत्रको लगानी उच्च मुनाफायुक्त छ र लगानीमा कुनै प्रतिस्पर्धा छैन ।” कार्यक्रममा लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीले नेपालको व्यापारिक अवस्थाबारे प्रस्तुति दिएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि सम्बोधन गर्दै नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्