अमेरिकाको व्यापार घाटा अझै बढ्यो

फेबु्रअरीमा अमेरिकाको व्यापार घाट अझै फराकिलो भएको छ । अन्तर्राििष्ट्रय व्यापार मासिक कीर्तिमानी पुगेसँगै व्यापार घाटामा पनि अझै वृद्धि भएको हो । उक्त महिनामा अमेरिकाले ५७.६ अर्ब डलरको घाटा बेहोरेको छ । सामान र सेवाको आयात र निर्यातबीचको अन्तर २००८ देखिकै बढी भएको वाणिज्य विभागले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आयात निर्यातबीचको अवस्थालाई सन्तुलित गन विविध प्रयास गरे बावजुद यो व्यापार घाटा भएको हो ।
यो घाटा विश्लेषकहरुको अनुमान भन्दा पनि ठूलो हो । सेवाको आयातमा भएको वृद्धिका कारण घाटामा वृद्धि भएको हो ।
फेब्रुअरीको समग्र आयात २६२ अर्ब डलर रहेको छ । यो जनवरीको तुलनामा १.७ प्रतिशतले बढी हो । नागरिक प्रयोजनका विमान, कम्प्युटर र खाद्यान्नमा भएको खर्च वृद्धिसँगै आयातमा पनि वृद्धि भएको हो ।
फेब्रुअरीमा निर्यात पनि १.७ प्रतिशतले वृद्धि भई २०४ अर्ब डलर पुगेको छ । यसमा तेल, प्राकृतिक ग्यास र अटोमोटिभ सवारीको बिक्रीको प्रमुख योगदान रहेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्याकर्षण भएको सामानको क्षेत्रमा भएको अमेरिकी मासिक घाटा कीर्तिमानी कायम भएको छ । यसमा चीनसँगको घाटा मात्रै ३४.७ अर्ब डलर कायम भएको छ । यद्यपि चीनसँगको अन्तरमा जनवरीको तुलनामा २.३ प्रतिशतले संकुचन आएको छ ।
आगामी महिनाहरुमा निर्यात र आयात अझै बढ्ने वेल्स फार्गोका विश्लेषकले बताएका छन् । मजबुत अवस्थाको आन्तरिक मागले घाटामा अझै वृद्धि हुने उनीहरुले बताएका छन् ।