हेपाटाईटिस बी र सीको जोखिम बढी
गर्मी मौसमको सुरुवातसँगै रोग सर्ने सम्भावना बढ्ने भएकाले चिकित्सकले विशेगरी हेपाटाईटिस संक्रमणबाट जोगिन अनुरोध गरेका छन् । अन्य देशको तुलनामा सरसफाइ, स्वस्थ खाना र संक्रमण रोक्न सचेतना कम भएको नेपालमा हेपाटाईटिस सर्ने सम्भावना बढी रहेको छ ।
नेपालमा देखिएका हेपाटाईटिसका प्रकारका आधारमा ए, बि, सी, डी र ईको संक्रमण भएको पाइन्छ । यीमध्ये बि र सी बढी जोखिमपूर्ण रहेको चिकित्सकले बताएका छन् । अल्का हस्पिटलका हेपाटाईटिस रोग विशेषज्ञ डा. अनन्त श्रेष्ठ हेपाटाईटिस ए र ई भन्दा पनि बी र सी बढी खतरनाक रहेको बताउँछन् ।
“ए र ई लागेको तीन महिनामा उपचारपश्चात् निको हुन्छ र फेरि लाग्दैन भने बि र सी दिर्घकालिन हुन्छ,” उनले भने, “बि र सी लागेपछि कलेजोमा वर्षौंसम्म असर गर्छ र कलेजोको क्यान्सर पनि हुने गर्दछ । सीलाई पनि उपचारपश्चात पूर्ण रुपमा निको बनाउन सकिन्छ भने बीचाहिँ पूर्ण रुपमा निको हुदैन । डिचाहिँ नेपालमा देखिएको छैन र भएपनि ०.९ प्रतिशतलाई मात्र देखिन्छ ।” हेपाटाईटिस भाइरसबाट सर्ने कलेजोमा असर गर्ने रोग हो । यो रोग अरु मौसममा भन्दा वर्षातको समयमा बढी देखा पर्दछ ।
उपचार
मानव शरीरको कलेजो महत्वपूर्ण अंग हो । कलेजो सुन्निएको अवस्था नै हेपाटाईटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि यस रोगका लक्षण हुन् । हेपाटाईटिस हुँदा मुख बार्ने, जडिबुटिको प्रयोग गर्ने, नाईटोमा लेप लगाउने जस्ता काम गरेको पाइन्छ । तर मुख बार्दा पोषणको कमी भएर रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने भएकोले सरकारले जनचेतनामूलक कार्यक्रममार्फत खानाप्रतिको धारणाबारे आमजनतालाई स्पष्ट पार्नु जरुरी छ ।
हेपाटाईटिस ए र ई
दिसाको माध्यमबाट सर्ने यस रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गरेको पाईन्छ । ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव आदि यो रोग लाग्ने प्रमुख कारण हुन् । शरीरमा हेपाटाईटिस ‘ए’ जिवाणु प्रवेश गरेको २–४ हप्तामा र हेपाटाईटिस ‘ई’ विषाणु प्रवेश गरेको २–८ हप्तामा जण्डिसलगायतका लक्षणहरू देखिन थाल्छन् । सरसफाई राम्रो नभएको विकासोन्मुख देशमा ९० प्रतिशत बालबालिका दश वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ ।
यसका लक्षणहरूमा पहिलो अवस्थामा १ देखि २ हप्तामा खाना रुची घट्दै जानु र वाकवाकी लाग्न थाल्नु, ज्वरो आउनु, दिसा बारम्बार हुनु, दायाँ कोखा दुख्नु आदि रहेको चिकित्सकले बताएका छन् । दोस्रो अवस्था भने दिसा तथा पिसावमा पहेंलोपन, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेलोपना बढ्दै जाने गर्दछ । तेस्रो अवस्थामा दोस्रो अवस्थाको लक्षणहरू हराउँदै जान्छन्, बिरामी कमजोर हुन्छ तर सन्चो महसुस गर्दछ ।
उपचार तथा बच्ने तरिका
चिकित्सकका अनुसार बिरामीले प्रशस्त झोल तथा ताजा खानेकुरा खानुपर्छ । बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ, जथाभावी जडिबुटि तथा एलोपेथिका औषधिले ज्यान जान सक्छ किनकी कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ । मानिसले औषधि कलेजोको माध्यमबाट पच्ने हुन्छ । बिरामिले प्रयोग गरेका कपडाहरू राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ । व्यक्तिगत शुद्धता तथा सरसफाई विशेष गरी खाना खानुअघि साबुन पानीले राम्ररी हात धुनुपर्छ । सबैले चर्पिमा दिसापिशाब गर्ने बानि गर्नुपर्छ र बच्चाको दिसा पनी चर्पिमा विसर्जन गर्नुपर्छ ।
बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । उमालेको र जीवाणुनाशक औषधि प्रयोग गरेको पानी पिउनुपर्दछ ।
हेपाटाईटिस बी
यो भाइरसले कलेजोमा सक्रमण गर्दछ र संक्रमण गरिसकेपछि यसलाई पूर्ण रुपमा निको पार्न सकिँदैन । यसले संसारभर करिब २ करोड जनसंख्यालाई यसले आक्रमण गरिसकेको छ । यसका विभिन्न असरबाट प्रत्येक वर्ष ६ लाखले ज्यान गुमाइरहेको अवस्था छ ।
यो भाईरसको संक्रमण सुरक्षित व्यवहार, सचेतना र भ्याक्सिनबाट रोक्न सकिन्छ । यो भाईरसबाट संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट, अंग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मदा, लागु औषधको लागि सुईको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ । यो खाना तथा पानीको माध्यमबाट सर्दैन । शरीरमा विषाणु पसेको करिब ३० देखि १ सय ८० दिनमा यसले लक्षण देखाउन थाल्दछ ।
यसका लक्षणहरूमा ज्वरो आउनु, थकान महसुस हुनु, खान मन नलाग्नु, वाकवाकी लागेर बान्ता हुनु, गाढा रगंको पिसाव हुनु र खैरो रगंको दिसा देखिनु, जोर्नी दुख्नु, जण्डिस देखिनु आदि यसका लक्षणहरू हुन् । यसको उपचार तथा बच्ने तरिका भनेको हेपाटाईटिस बीको भ्याक्सीन प्रयोग गर्नुपर्छ । यसको उपचार यहि हो भनेर थाहा नभए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थकर आनीवानि अपनाउनुपर्ने चिकित्सक बताउँछन् । हेपाटाईटिस बीबाट संक्रमित दिर्घरोगिहरूलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरूको प्रयोग गरिन्छ ।
हेपाटाईटिस सी
यसले झण्डै हेपाटाईटिस बी को जस्तै अवस्था देखाउँछ । यो सक्रमण सामान्य भन्दा अत्यन्तै खतरनाक हुन्छ तर यो उपचार गरेर निको बनाउन सकिन्छ । विश्वमा करिव एक करोड मानिस हेपाटाईटिस सीको शिकार बनिसकेका छन् । यसको रोकथामका लागि कुनै भ्याक्सीन प्रयोग नभए पनि यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अंग प्रत्यारोपण र सुईमार्फत लागू औषध प्रयोगबाट तथा जन्मिएको क्रममा आमाबाट बच्चामा यो भाईरस सर्न सक्दछ । यो खाना तथा पानीबाट सर्दैन ।
शरीरमा विषाणु प्रवेश गरेको करीब २ हप्तादेखि ६ महिनामा लक्षणहरू देखिन्छन् । करिब ८० प्रतिशतमा भने लक्षणहरू नै देखिँदैनन् । ज्वरो आउनु, थकाईको महशुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, उल्टी हुनु, पेट दुख्नु, गाढा रंगको पिसाब देखिनु, खैरो रंगको दिसा देखिनु, जोर्नि दुख्नु र जण्डिस देखिनु आदि यसका लक्षण हुन् ।
यसको उपचार तथा बच्ने उपाय भनेको इन्टरफेरोन र रिवाभिरीन नामक एन्टीभाइरल औषधिको प्रयोग गरिन्छ । नयाँ औषधि टेलाप्रिभिर र बोसोप्रभिर आदि पनि प्रयोग हुुन थालेका छन् । तर सबै उपचार सम्भव नहुन पनि सक्छ, किनकी यो औषधिहरू सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा बिरामीमा प्रयोग गर्न सकिँदैन । यसको आफ्नो भ्याक्सिन नभएकोले सचेतना अपनाउनुपर्छ ।
आवश्यकता बिना र असुरक्षित रुपमा सूईको प्रयोग गर्नु हुँदैन । हेपाटाईटिस जन्य फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । असुरक्षित यौन सम्पर्क नराख्ने, लागुपदार्थ त्याग्ने, असुरक्षित रगत तथा रगतजन्य पदार्थहरूको प्रयोग नगर्ने, ट्याटु खोप्ने, नाक, कान छेड्दा विशेष ध्यान पुराउनु पर्ने चिकित्सकको सुझाव छ ।
हेपाटाईटिस डि विशेषतः पाकिस्तान, अफगानस्तानतिर भेटिन्छ र नेपालमा ०.९ प्रतिशत व्यक्तिहरू मात्र यस रोगबाट संक्रमित छन् । यो पनि यौनसम्पर्क र रगतको माध्यमबाट हुने गर्दछ । यसका लक्षणहरूमा वाकवाक लाग्ने, खानामा रुचि नहुने, आँखा र पिसाब पहेलो हुने, दाँया कोखामा अप्ठेरो हुने आदि हुन् ।
–यशोदा सुनुवार