किताबबिनौ बित्यो शैक्षिक सत्र

नेपालगन्ज- बाँकेका १४ हजार बढी बाढीपीडित बालबालिकाले ८ महिनासम्म पुस्तक नै नपढेर अन्तिम परीक्षा दिइरहेका छन् । शैक्षिक सत्र सकिए पनि उनीहरूले पुस्तक, पोशाक, झोला र स्टेशनरीलगायतका सामान पाएका छैनन् ।
बाढी आएको ८ महिना बितेपनि जिल्लाका १४ हजार ४ सय ५६ जना बाढीपीडित बालबालिकाले पुस्तक, पोशाक, झोला र स्टेशनरी लगायतका सामान नपाएपछि त्यस्तै परीक्षामा सहभागी भएका हुन् । शैक्षिक सत्र सम्पन्न भएर अन्तिम परीक्षामा सहभागि भइसक्दा पनि जिल्लाका बाढीपीडित बालबालिकाले पुस्तक नपाउँदा उनीहरूले नपढेरै परीक्षा दिनु परेको पीडित बालबालिकाका अभिभावकहरूको गुनासो छ ।
जिल्ला शिक्षा कार्यालय र केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बाढीपीडित बालबालिकालाई पुस्तक, पोशाक, झोला दिने आश्वासन निरन्तर दिँदै आएपनि हालसम्म उनीहरूलाई केही पनि नदिइएको कचनापुरका बाढीपीडित जनक वलीले बताए ।
सरकारले पुस्तक र पोशाकको रकम उपलब्ध नगराएको र आईएनजीओले पनि लिखित निर्णय पूरा नगरेकोले शैक्षिक सत्र सकिए पनि बालबालिकालाई केही दिन नसकिएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।
शिक्षा कार्यालय बाँकेले शिक्षा विभाग हुँदै अर्थ मन्त्रालयसँग बाढीपीडित बालबालिकालाई किताब दिनका लागि २७ लाख रुपैयाँ माग गरेको थियो । अर्थ मन्त्रालयले दिन नसक्ने जवाफ पठाएपछि समस्या भएको हो ।
१४ हजार ४ सय ५६ बालबालिकाको पुस्तक बाढीले बगाएको थियो । ती बालबालिकाहरूले किताबैबिना शैक्षिक सत्र पूरा गरेका छन् । शिक्षा कार्यालय र आइएनजिओहरूले गत मंसिर २५ गते किताब, पोशाक बाँड्ने निर्णय नै गरेका थिए । तर, त्यो कार्यान्वयन भएन ।
अर्थ मन्त्रालयले पैसा छैन भन्दै निकासा नदिएको र युनिसेफ र सेभ द चिल्ड्रेन लगायतले पनि दिन्छु भनेर लिखित सम्झौता गरेर समेत सहयोग नगरेपछि जिल्ला शिक्षा कार्यालयले केही गर्न नसकेको जिल्ला शिक्षा कार्यालय बाँकेका उपजिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले बताए ।
सरकारले उपलब्ध गराएको पैसाले किताब किन्ने र आइएनजिओले ‘विद्यार्थी किट’ अर्थात् पोशाक, झोला, कपीलगायत स्टेशनरी उपलब्ध गराएर वितरण गर्ने निर्णय भएकोमा दुबैतर्फबाट सहयोग नआउँदा आफूहरूले केही पनि गर्न नसकेको उनले जनाए ।
जिल्लाका बाढीपीडित बालबालिकाले पुस्तक नपाउँदा उनीहरूको ८ महिना पढाइ नगरेरै खेलकुदमै बितेको बाँके कचनापुरका अभिभावक सन्तोष वलीले बताएका छन् । यस्तै गुनासो जिल्लाका अधिकांश पीडित बालबालिकाका अभिभावकको छ ।
युनिसेफ र सेभ द चिल्ड्रेनले चार–चार हजार विद्यार्थीलाई किट उपलब्ध गराउने आश्वासन दिएका थिए । गत वर्ष साउन २७ गते रातिदेखि परेको वर्षाले बाँकेमा आएको बाढीले ठूलो क्षति पु¥याएको थियो । बाढीबाट बाँकेमा १६ हजार आठ सय आठ घरधुरीका ९६ हजार २ जना प्रभावित भएको जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्यांक छ ।