अमेरिका–चीन व्यापार युद्धको विश्वव्यापी प्रभाव «

अमेरिका–चीन व्यापार युद्धको विश्वव्यापी प्रभाव

वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव उचाइमै पुगेको छ । चीनले पनि प्रमुख अमेरिकी निर्यातित वस्तुहरूमा भन्सार लगाउने निर्णय गरेपछि दुई देशबीचको व्यापार युद्धले नयाँ मोड लिएको हो । दुई देशबीचको व्यापार युद्धले विश्वव्यापी आर्थिक सुधार प्रभावित हुने भएको छ ।
चीनले अमेरिकाले आफ्ना उत्पादनमाथि लगाएको करका कारण भयभीत नहुने बताइसकेको छ । अमेरिकाले भन्सार लगाउन सक्ने १ हजार ३ सय चिनियाँ सामानको सूची घोषणा गरिसकेको छ । यो ५० अर्ब डलरबराबरको छ । बेइजिङले पनि ५० अर्ब डलरको अमेरिकी सामानको सूची सार्वजनिक गरिसकेको छ । यसमा भटमास र साना विमानहरू रहेका छन् ।
चीनको भन्सार एजेन्सीले २५ प्रतिशतको भन्सार लगाउने समयसीमा भने दिएको छैन । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगउने भन्सारमा निर्भर रहने जनाएको छ । बेइजिङले १ सय ६ अमेरिकी निर्यातित वस्तुको सूची सार्वजनिक गरेको छ । यदि अमेरिकाले चिनियाँ सामानमाथि भन्सार लगाएमा चीनले पनि अमेरिकी सामानमा उच्च भन्सार लगाउने जनाएको छ ।
“चीनले अमेरिकी भन्सारको प्रस्तावप्रति कडा भत्र्सना गर्छ र अमेरिकी भन्सार प्रस्तावको विरोध गर्छ । अमेरिकी उत्पादनको विरुद्धमा समान किसिमको बदलाको कारबाही गर्न पनि तयार छ,” अमेरिकी घोषणापछिको समयमा चीनका वाणिज्य मन्त्रीले बताएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले अमेरिकी कदमलाई संरक्षणवादी भएको बताएका छन् । “हामीसँग कुनै पनि अमेरिकी संरक्षणवादको कदमको प्रतिउत्तर दिन सक्ने आत्मविश्वास र क्षमता छ,” लु काङले बताए । अमेरिकी कदम ४० वर्ष पुरानो चीन–अमेरिका आर्थिक सम्बन्धको विपरीत रहेको उनले बताए । यसले दुवै मुलुकलाई फाइदा पुगेको र विन–विन प्रकृतिको भएको धारणा उनको थियो ।
“यसले चीन अथवा अमेरिकी कुनै पनि पक्षको एकपक्षीय स्वार्थका लागि काम गरेको छैन । यसले विश्वव्यापी अर्थतन्त्रका लागि काम गरेको छ,” लुले थपे ।
चीनसँगको व्यापारमा अमेरिका वार्षिक ३ सय ७५ अर्बको घाटामा रहँदै आएको छ । यद्यपि ट्रम्पले यो ५ सय अर्बको भएको बताएका छन् ।
यदि विश्वका अन्य मुलुकका सरकार पनि आफ्नो आयात कर वृद्धि गर्नतर्फ प्रेरित भएमा यसले बढ्दो अवस्थाको विश्वव्यापी आर्थिक गतिविधिलाई असर पार्ने चिन्ता विभिन्न कम्पनी र विज्ञहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्