एनआरएनएको पहलमा विज्ञ सम्मेलन हुने «

एनआरएनएको पहलमा विज्ञ सम्मेलन हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वदेश तथा विदेशमा रहेका नेपाली, विषयगत विज्ञ तथा सरकारको सहभागितामा आगामी अक्टोबर १२ र १३ मा विज्ञ सम्मेलन गर्ने भएको छ ।
एनआरएनएले स्वदेश तथा विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवं पुँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने उद्देश्यका साथ सो सम्मेलन गर्न लागेको हो । शुक्रबार काठमाडौंका पत्रकार सम्मेलन गरी एनआरएनएले विदेशमा रहेका नेपालीले आफ्नो मेहनतले ज्ञान र सीपको प्रयोग गरी विदेशमा महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा त्यस्तो सीपको प्रयोग नेपालको रुपान्तरणका लागि पनि हुन सक्ने प्रचुर सम्भावना रहेको भन्दै सम्मेलन गर्न लागिएको जनाएको हो ।
एनआरएनएको पहलमा नेपालमा पुँजी लगानी भित्र्याउन केही सफलता हासिल भए पनि विदेशमा रहेका नेपालीको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन खासै सफलता हासिल गर्न नसकिरहेको बेला विज्ञ सम्मेलन फदादायी हुने संघका उपाध्यक्ष कुमार पन्तले बताए । उनले यसै कुरालाई मनन गरी गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीको ज्ञान सीपको प्रयोगका लागि पहल गर्ने निर्णयसमेत संघले गरेको जानकारी दिए । “मुलुकमा नयाँ संविधानअन्तर्गत निर्वाचन सम्पन्न भई ठूलो बहुमतका साथ नयाँ सरकारले मुलुकको सत्ता सम्हालिसकेको अवस्थामा आर्थिक विकासले समेत प्राथमिकता पाउने अपेक्षा गरिएको छ,” उपाध्यक्ष पन्तले भने, “यस अवस्थामा विदेशमा रहेका गैरआवासीय नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई समेत सदुपयोग गर्ने राम्रो अवसर जुटेको छ ।”
गैरआवासीय नेपाली विज्ञ, नेपालमा रहेका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञलाई एकै थलोमा ल्याउन हरेक २ वर्षमा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने तय भएअनुसार गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोबर १२ र १३ तारिखमा (२ दिने ) विज्ञ सम्मेलन आयोजना गर्ने गरी कार्यक्रम तय गरिएको हो ।
संघले विज्ञ सम्मेलनमा स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी तथा आर्थिक वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासनलगायतका विषयलाई नीतिगत तथा विषयगतरुपमा प्रस्तुत गर्ने जनाएको छ । सम्मेलनको तयारीका क्रममा संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री, कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलगायत विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान जस्ता विभिन्न समाजका विज्ञ तथा प्रतिनिधिहरू एवं नेतृत्वसँग छलफल एवम् अन्तत्र्रिmया गरिसकेको छ । छलफलका क्रममा मन्त्री एवं विभिन्न निकायका प्रमुखबाट विज्ञसम्मेलन नेपालका लागि उपयुक्त भएको भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्