सार्क अन्तरक्षेत्रीय व्यापारको प्रवद्र्धन «

सार्क अन्तरक्षेत्रीय व्यापारको प्रवद्र्धन

विश्वभरि विभिन्न आर्थिक ब्लकहरू निर्माण हुने चरणसँगै जन्मिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पनि यस क्षेत्रमा व्यापार तथा लगानी प्रवद्र्धनको महवाकांक्षा राख्दै आएको छ । सार्कको अन्तरक्षेत्रीय व्यापार अहिले पनि ५ प्रतिशतभन्दा निकै तल छ । अन्तरक्षेत्रीय व्यापारमा दर्जनौं समस्या जेलिएका छन् । दक्षिण एसियामा आर्थिक समृद्धिका लागि व्यापार मुख्य माध्यम हुन सक्छ, तर आर्थिक समन्वयका क्षेत्रमा खासै प्रगति हासिल भएको छैन । सार्कलाई स्वतन्त्र क्षेत्रीय व्यापार ब्लकका रूपमा विकास गर्नका लागि सुरुमा दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साप्टा) को अवधारणा रहेकोमा त्यसलाई पछि गएर दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) संरचना बनाए पनि त्यसको कार्यान्वयन पक्ष प्रभावकारी हुन सकेको छैन । क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतले जुन ढंगले द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिएको छ, त्यहीअनुसार क्षेत्रीय व्यापारलाई प्राथमिकता नदिँदा अन्तरक्षेत्रीय व्यापारको अंश सानो हुन पुगेको हो । पछिल्ला गतिविधिको अध्ययन गर्ने हो भने भारतले सार्कलाई भन्दा बिमस्टेकसहितका अन्य क्षेत्रीय संरचनाहरूलाई बढी प्राथमिकता दिँदै आएको देखिन्छ । बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रको समेत प्रसंग बलियो हुँदै जानु यसको उदाहरण हो । हुन त नेपालसमेत बिमस्टेकको सदस्य रहँदै आएकाले त्यसमा कुनै नोक्सानी छैन, तर सार्क र त्यसको व्यापारिक संरचना साफ्टा ओझेलमा पर्नु भनेको पक्कै विचारणीय कुरा हो । सबैभन्दा ठूलो समस्या भनेको सदस्य मुलुकहरूबीच रहेको आन्तरिक चिसो सबन्ध र वैमन्यस्यताले नै भूमिका खेलेको छ । बहुपक्षीय मञ्चमा जतिसुकै आदर्शका कुरा गरिए पनि तेस्रो देशसँगको व्यापार प्रवद्र्धनका लागि बीचमा रहेको राष्ट्रले अनुदान नीति लिँदा त्यसको असर क्षेत्रीय व्यापारमा देखिएको हो । दक्षिण एसियाली मुलुकको आर्थिक सम्बन्धमा पारवहन र गैरभन्सार अवरोध मुख्य समस्याका रूपमा रहँदै आएको छ । गैरभन्सार अवरोध भनेकै नीतिगत र व्यावहारिक रूपमा सिर्जना गरिने अवरोधहरू हुन् ।
दक्षिण एसियाली राष्ट्रहरूबीच विद्यमान व्यापार तथा पारवाहनका अवरोधहरू हटाउने विषयमा बारम्बार सहमतिहरू भएका पनि छन्, तर तिनको कार्यान्वयन पक्ष फितलो रहँदै आएको छ । पारवाहनसम्बन्धी समस्या समाधानका लागि पूर्वाधारको विकास गर्नेसमेत सहमति भएका छन्, तर पूर्वाधार विकासका लागि लगानी गर्न अहिलेसम्म कुनै ठोस संयन्त्र नै सिर्जना भएको छैन । एसियाली विकास बैंकले उपक्षेत्रीय संरचनाअन्तर्गत लगानी गर्नेबाहेक बहुपक्षीय दाताहरूले समेत सार्कको अन्तरक्षेत्रीय आर्थिक विकासका लागि लगानीको तत्परतासमेत देखाएका छैनन् । केही वर्षअघिसम्म भारतको मुख्य लगानी र नेतृत्वमा सार्क विकास बैंकको अवधारणा चर्चामा आए पनि ब्रिक्सको लगानीमा बनेको न्यू डेभलपमेन्ट बैंक (एनडीबी) र चीनको मुख्य लगानीमा बनेको एसियन इन्फास्ट्रक्चर डेभलमेन्ट बैंक (एआईआईबी) को स्थापनासँगै यसको चर्चासमेत हराएको छ ।
अन्तरक्षेत्रीय व्यापार प्रवद्र्धनसँगै क्षेत्रीय आर्थिक सहकार्यको विषयलाई प्रवद्र्धन गर्ने हो भने यस क्षेत्रको विद्यमान राजनीतिक तथा कूटनीतिक तिक्तता पहिले अन्त्य गर्नैपर्छ । जब कूटनीतिक तिक्तताको अन्त्य हुन्छ, त्यसले स्वतः आर्थिक साझेदारीका लागि मार्गप्रशस्त गर्छ । अन्तरक्षेत्रीय आर्थिक ब्लकहरूको विश्वव्यापी सफलता–असफलताको विषयमा अध्ययन गरेर अब सार्कस्तरीय आर्थिक थिंकट्यांकहरूले आर्थिक साझेदारी विस्तारका नयाँ मोडल विकास गर्नैपर्छ । यस विषयमा क्षेत्रका नीतिनिर्माताहरूको समेत सहभागितामा सुरु भएको आर्थिक सम्मेलनले मार्गप्रशस्त गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्