जिराको मूल्यमा जडिबुटी बेचेर हिराको मूल्यमा नकिनौं : वनमन्त्री

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जिराको मूल्यमा जडिबुटी निर्यात गरेर हिराको मूल्यमा त्यही जडिबुटी किन्नुपर्ने बाध्यता हटाउनुपर्ने बताएका छन् । नेपालमा प्रसस्त मात्रामा जडिबुटी पाइने भन्दै मन्त्री बस्नेतले प्रशोधन नगरिएको जडिबुटी निर्यात गर्दा निकै कम मूल्य आउने र विदेशबाट औषधिको रूपमा फेरि महंगोमा किन्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै सुधार गर्नुपर्ने बताएका छन् ।
नेपाल वन प्राविधिक संघ (एनएफए)को २४औं साधारणसभालाई सम्बोधन गर्दै जडिबुटी प्रशोधन गरेर मात्रै निर्यात गर्नसके मुलुक जडिबुटीबाटै समृद्धितर्फ उन्मुख हुने बताएका छन् । “यहाँ थुप्रै किसिमका जडिबुटी छन्, बहुमूल्य जडिबुटीबाट आर्थिक समृद्धि गर्न सक्छौ,” उनले भने, “तर जिराको जस्तो सस्तो मूल्यमा विदेश निर्यात गरेर त्यही जडिबुटीबाट बनेका औषधि हिराको जस्तो चर्को मूल्यमा किनिरहनु परेको अवस्था छ, प्रशोधित जडिबुटीमात्रै निर्यात गर्नुपर्छ अब ।”
बस्नेतले सरकार संरक्षणमुखी वन व्यवस्थापनको नीतिमा मात्रै अल्झिएको भन्दै अब व्यवसायीमुखी वन व्यवस्थापनको नीति ल्याएर अगाडि बढ्न आवश्यक रहेको बताए । काठ निर्यात प्रतिस्थापन गर्न वैज्ञानिक वन व्यवस्थापनमा जोड दिनुपर्ने उनको धारणा छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले अब वन क्षेत्रलाई दायित्व सिर्जना गर्ने रूपमा मात्रै हेर्न नहुने भन्दै वनबाट रोजगारी सिर्जना गर्न सक्ने माध्यमको रूपमा लिन आवश्यक रहेको बताएका छन् । “वनजन्य वस्तु आयात प्रतिस्थापन गर्न हामी जुट्नुपर्छ, अनि वनबाट आर्थिक विकास सम्भव छ,” उनले भने ।