समयअघि नै पक्की पुल निर्माण हुने «

समयअघि नै पक्की पुल निर्माण हुने

सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । गाउँपालिकाको कपिलाकोट र कल्पवृक्ष जोड्ने ४ सय मिटर लामो पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माणको जिम्मा पाएको कालिका–रसुवा–तुदी जेभी काठमाडौंका अनुसार हालसम्म ८२ प्रतिशतभन्दा बढी पुलको काम सम्पन्न भइसकेको छ । अहिलेसम्म पुलमा ८ वटा स्पान निर्माण गरिएको छ । प्रत्येक ५० मिटरको फरकमा स्पान निर्माण भएको निर्माण कम्पनीले जनाएको छ । २०७५ साल असारसम्म पुलको दायाँबायाँ सडक बाहेकका धेरै काम सम्पन्न हुने जनाएको छ ।
हेटौंडा–सिन्धुली–चतरा राजमार्ग अन्तर्गत मरिण गाउँपालिकास्थित कपिलाकोट कल्पवृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण कार्य सकिने निर्माण कम्पनीका निर्देशक राजेन्द्र आचार्यले बताए । २०७३ साल असार २९ गते ठेक्क सम्झौता भई २०७६ पुस २८ गते निर्माण सम्पन्न गर्ने गरी कालिक–रसुवा–तुदी जेभी काठमाडौले ठेक्का लिएकोमा सम्झौता अगावै काम सम्पन्न गर्ने निश्चित भएको छ । असारबाट सवारी आवतजावत गर्ने गरी काम भइरहेको छ, “आचार्यले भने, तीव्र गतिमा काम भइरहेकाले सम्झौता अवधिभन्दा एक वर्ष अगाडि नै काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्छाैं ।”
२०७३ साल मंसिर १२ गते पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त पुलको शिलान्यास गरी सम्झौता अवधि अगावै निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने आश्वासन दिएका थिए । यता गाउँपालिकामा निर्माणाधीन पुलमध्ये कपिलाकोट कल्पवृक्ष जोड्ने पुलको कार्य तीव्र गतिमै भइरहेको स्थानीयले बताएका छन् । पुल नहुँदा बर्सेनि समस्यामा पर्ने मरिणका स्थानीय यो वर्षदेखि त्यस्ता समस्या अन्त्य हुने भन्दै हर्षित छन् । यो पुलको निर्माण सम्पन्नसँगै वर्षाको बेला आवातजावात गर्न सजिलो हुनेछ ।
चार सय मिटर लम्बाइ रहेको पुल निर्माणको भ्याटसमेत कुल लागत ४३ करोड ५० लाख रहेको निर्माण कम्पनीले जनाएको छ । जसमा नदी नियन्त्रणको काम ७ सय मिटर र पुलको दायाँबायाँ एप्रोज सडक ७ सय मिटर निर्माण गर्नुपर्ने छ ।
कामअनुसारको नेपाल सरकारले पैसा उपलब्ध गराउन नसकेका कारण निर्माण कार्यमा भने केही ढिलाइ भएको आचार्यले बताए । उनले भने, “कामअनुसारको रकम निकासा भइदिएको भए अझै केही समय अगाढि नै काम सम्पन्न गथ्र्यौं ।” पुल निर्माणमा देशभर ढिलाइ भइरहेको चर्चा चलिरहँदा सिन्धुलीको मरिणमा निर्माणाधीन पुलको काम भने तीव्र गतिमा भइरहेको छ ।
सोही कम्पनीले निर्माण गर्न लागेको जिल्लाको अर्काे पुल पनि समय अगावै निर्माण सम्पन्न हुने बताएको छ । कमला नदीमा निर्माण गर्न लागिएको ५ सय मिटर लामो पक्की पुलको निर्माण पनि सोही कम्पनीले ठेक्का लिएको छ । दुधौली नगरपालिका–४ खनियाँ र वडा नं. ६ जगाडी को बीचमा रहेको कमला नदीमा पक्की पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कुल ६० करोड लागतमा निर्माण भइरहेको सो पुलको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।
कृञ्जला पुलामी 

प्रतिक्रिया दिनुहोस्