प्रदेश १ को समृद्धिका आधार

संघीय संरचनाअनुसार १ नं प्रदेशले सिंगो नेपालको विशेषता बोकेको छ । जातीय, सांस्कृतिक, भौगोलिक र पर्यावरणीय आधारमा यो प्रदेशमा विविधता छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा र नेपालको सबैभन्दा होचो भूभाग केचनाकलन यही प्रदेशमा छन् । नेपालकै सबैभन्दा होचो उपत्यका अरुण उपत्यका तथा २८ प्रजातिका गुराँस पाइने प्रमुख पर्यटकीय क्षेत्र यही प्रदेशमा अवस्थित छ । बर्षेनि हजारौंहजार आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा पर्यटन प्रर्वद्धनको ठूलो सम्भावना छ । क्षेत्रमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । पर्यटन, जलस्रोत, कृषि, उद्योग, व्यापार आदिको समुचित प्रर्वद्धन र विकासले यो प्रदेश नमुना प्रदेश बन्न सक्छ । समृृद्ध प्रदेशको परिकल्पना त्यतिखेर सार्थक हुन्छ जतिखेर पर्यटन उद्योगलाई समुचित तवरले अगाडि बढाउन सकिन्छ । साहासिक पर्यटनका लागि हाम्रा हिमालहरु सधैं आकर्षणको केन्द्र बन्ने गरेका छन् । यसलाई विस्तार गर्न सडक हवाई सेवाको विस्तार गर्न सक्नुपर्दछ । कृषि पर्यटनबाट पनि यो प्रदेश लाभान्वित हुन सक्छ । सुपारी, आलु, अम्रिसो, अकबरे खुर्सानी, अलैंची, चिया, कफी, अदुवा, रुद्राक्ष किवीजस्ता बालीनाली आधुनिक कृषि व्यवसायीकरण मार्फत् समृद्धिको आधार तयार गर्न सकिन्छ । सिक्किम, पश्चिम बंगाल, दार्जिलिङ, ग्यान्टोक तुलनात्मक रूपमा भारतका विकसित प्रदेश हुन् । यी प्रदेशको विकासको मोडेलबाट सिकेर हामी पनि हाम्रो परिवेश अनुसार अघि बढ्न सक्छौं । व्यापक रूपमा बजारीकरण र प्रचारप्रसार नहँुदा हाम्रा सबै योजनाहरू निकम्मा साबित भएका छन् । जलस्रोतमा पनि यो प्रदेश धेरै सम्पन्न छ । यो प्रदेशबाट झन्डै ३७ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । तमोर, अरुण, कावेली, सुनकोशी, दुधकोसी, पिलुवा सभा खोरुंगा जस्ता जलाशययुक्त आयोजनाबाट विद्युत् उत्पादन गर्न सकिन्छ । यी नदीहरूमा जलक्रीडाको सम्भावना पनि प्रशस्त लुकेको छ । त्यस्तै अन्य साहसिक कार्यका लागि पनि यहाँका नदीझरनाहरू उपयुक्त छन् । औद्योगिक विकासमा पनि यो प्रदेशमा धेरै सम्भावना छ । वीरगञ्जपछिको ठूलो औद्योगिक नगरी विराटनगर यहीँ छ । भारतसँग सीमा जोडिएका कारणले पनि भारतका विभिन्न सहरहरूको औद्योगिक प्रभाव परेको पाइन्छ । त्यहाँको प्रविधि र व्यवस्थापनबाट हामीले धेरै कुरा सिक्न सक्छौं । नेपालमा पाइने दुर्लभ जडिबुटी, वन्यजन्तु, चराचुरुंगी पशुपन्छीको वासस्थान पनि यही प्रदेश हो । सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंगा संरक्षण क्षेत्र, बेतौना सिमसार क्षेत्र यसै प्रदेशमा पर्छन् । प्रदेश समृद्धिको प्र्रमुख आधार कृषि पनि हो । यस प्रदेशको अधिकांश भूभाग कृषिका लागि योग्य छ । धनकुटाको हिलेबजारदेखि तेह्रथुमको लसुने बजार क्षेत्रसम्मको उच्च भूभाग केही वर्ष अगाडिसम्म नाङ्गा काम नलाग्ने पाखा थिए । अहिले ती क्षेत्रमा मनग्य तरकारी खेतीले त्यहाँका बासिन्दाको जीवनस्तरमा आमूल परिवर्तन आएको छ । भारत तथा अन्य देशमा अदुवा र अलैंची निकासीसमेत हुन थालेको छ । त्यस्ता ठाउँ पहिल्यार्ई आवश्यक प्राविधिक ज्ञान, सीप तथा प्रविधि सहज रूपमा व्यवस्था गर्न सकेको खण्डमा यो व्यवसाय निकै राम्रोसँग फष्टाउन सक्छ । कृषिका लागि अत्यावश्यक मल, बिउ, सिञ्चाइ तथा प्रविधिको यथोचित व्यवस्थापन गर्न सक्दा यो प्रदेश कृषिमा पनि निकै सबल हुन सक्छ । यस प्रदेशका अधिकांश पहाडी एवं तराईका जिल्लामा सहकारीका विभिन्न अभियान उल्लेख्य रूपमा चलेका छन । खास गरी कृषि उत्पादनसँग जोडिएका सहकारी फस्टाउँदै पनि गएका छन् । त्यस्ता सहकारीलाई अझ व्यवस्थित तथा उच्च उत्पादन गर्न बढी पूँजी परिचालन गर्न सक्नुपर्दछ । प्रदेश सरकारले निजी, सरकारी र तथा सामुदायिक सबै क्षेत्रलाई सहकारी अवधारणामा समेटेर अघि बढ्ने हो भने देशकै १ नम्बर बन्न समय पर्खिरहनु पर्दैन ।
खेमराज निरौला,
म्याङलुङ क्याम्पस तेह्रथुम