पूर्वाधार विकासमा जोड

रुपन्देहीको रोहिणी गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिएको छ । सहरोन्मुख भैरहवा–परासी सडकखण्डको मध्यभागस्थित धकधई केन्द्र रहेको यस गाउँपालिकामा उद्योग कलकारखाना खुल्ने क्रम बढ्दो छ ।
रुपन्देहीको तेस्रो औद्योगिक करिडोरका रूपमा अघि बढेको यो गाउँपालिकामा बढ्दो बस्ती र उद्योगीकरणलाई मध्यनजगर गर्दै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना बनाइएको गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताए । उनले धकधईलाई मेघा सिटीको रूपमा विकसित गर्न गुरुयोजना बनाउने र त्यसका लागि आगामी आवको सुरुमा बाटोको मापदण्ड निर्धारण गरी घरजग्गा नक्सा पास गरी भूकम्पप्रतिरोधी तथा व्यवस्थित बसोबासका लागि नियम बनाइने बताए ।
स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिको अगुवाइमा भइरहेका कामबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा उनले पाँच वर्षभित्र गाउँपालिकाका सबै वडा पिच गरिने बताए । यस अवधिमा जिल्लाकै नमुना गाउँपालिकाको रूपमा विकास गर्ने लक्ष्य रहेको भन्दै चालू आवमा वित्तीय समानीकरण विकास कार्यक्रमतर्फ प्राप्त हुने २७ करोड ९ लाख ३८ हजारमध्ये सातवटै वडामा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि समानुपातिक रूपमा प्रतिवडा १ करोड ६ लाख ५ हजार दरले ७ करोड ४२ लाख ३५ हजार विनियोजन गरी काम भइरहेको उनले जानकारी दिए । सीमा क्षेत्र विकास कार्यक्रमतर्फ ७७ लाख ५५ हजार रुपैयाँबाट सीमा क्षेत्रसँग जोडिएका ५ वटा वडामा पूर्वाधार निर्माण तथा सचेतनामा खर्च भइरहेको छ । चालू आवमा यो गाउँपालिकाले भवन, सडक तथा पुल, विद्युतीकरण, तटबन्ध तथा बाँध, सरसफाइ संरचना निर्माणजस्ता क्षेत्रमा काम गरिरहेको र गाउँपालिकाले आप्mनै भवन निर्माण कार्य सुरु भएको उल्लेख गरे ।