मालिकामा ९ वटा खानेपानी आयोजना

मालिका गाउँपालिकामा चालू आर्थिक वर्षमा करिब साढे पाँच करोड रुपैयाँको लागतमा नौवटा खानेपानी आयोजना सञ्चालन भएको छ ।
गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत पाँच करोड ३५ लाख ७२९ रुपैयाँको कुल लागतमा चारवटा वडामा आयोजना सञ्चालन भएका हुन् ।
उपभोक्ता समितिमार्फत कार्यान्वयनको चरणमा रहेका आयोजनाबाट ५४७ घरधुरीका तीन हजार २७७ जनसंख्या लाभान्वित हुने गाउँपालिकाकी परियोजना संयोजक कमला शर्माले जानकारी दिइन् । सबै आयोजना एक घर, एक धाराको अवधारणाअनुसार निर्माण हुन लागेका हुन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाको घरघरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी सुबिधा उपलब्ध गराउन लागिएको हो । ४ नम्बर वडा ओखरबोटमा सबैभन्दा बढी छ वटा, ७, २ र ३ मा एकएक वटा आयोजना सञ्चालनमा छन् । सबै आयोजना चालू आवभित्र नै सम्पन्न गर्ने लक्ष्यअनुसार तव्रि रूपमा काम भइरहेको संयोजक शर्माले बताइन् ।
एक करोड ४३ लाख एक हजार १७३ रुपैयाँ लागत अनुमान गरिएको बिम लिफ्ट खानेपानी तथा सरसफाइ परियोजनामार्फत ७ नम्बर वडाका १११ घरधुरी लाभान्वित हुनेछन् । ४ नम्बर वडामा पर्ने ओखरबोटको सिस्नेरी, महभीर, चिउरीबोट, फूलबारी, ओखरबोट र छापमा छुट्टाछुट्टै आयोजना सञ्चालन भएको छ । २ नम्बर वडा रुममा ३६ लाख ७० हजार २८ रुपैयाँको लागतमा निर्माण हुने पाँझिक्ने खोला खानेपानी तथा सरसफाइ आयोजनाबाट ५६ घरधुरी र ३ नम्बर वडामा पर्ने डाँडागाउँमा ७० लाख ४९ हजार १४९ रुपैयाँको लागतमा ठूलागैरा खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन भएको छ ।
गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले परियोजनामार्फत सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको लागि चालू आवमा विनियोजित दुई करोड ५८ लाख ३० हजार रुपैयाँमध्ये आठ महिनाको अवधिमा दुई करोड ५५ लाख खर्च भएको बताए ।
परियोजनामार्फत खानेपानीको समस्या रहेका अन्य बस्तीमा पनी आयोजना सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयमार्फत ५ नम्बर वडा देवीस्थानमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाको केन्द्र दरवाङ बजारमा पनि डिभिजनले खानेपानी आयोजना सञ्चालनको तयारी गरेको छ ।
–सन्तोष गौतम