खानेपानीले जीवनशैली परिवर्तन

भोटेकोसी गाउँपालिका–१ लिस्तीस्थित सिल्ढुङकी पूजा विकको दैनिकी अचेल फेरिएको छ । एक गाग्री पानी लिन सिंगो बिहान खर्चिनुपर्ने दैनिकीबाट अचेल उनी मुक्त भएकी छन् । गाउँमै बनेको धारोमा चौबीसै घण्टा पानी आउन थालेपछि उनले पानी लिन जाने समय घरायसी काममा खर्चिछिन् ।
“घर छेऊकै धारामा पानी आउन थालेपछि अहिले निकै सजिलो भएको छ,” उनले भनिन्, “एक गाग्री पानी लिन बिहानै तीन बजेदेखि लाइन बस्नुपथ्र्यो ।” उनले बिहान तीन बजेदेखि एक गाग्री पानीकै लागि १० बजेसम्म खर्चिनुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताइन् । बस्तीभन्दा आधाघण्टा मुनिको एउटा कुवामा सिंगो गाउँवासी पानी लिन जाने गर्दथे । आर्थिक अभावकै कारण स्थानीयले खानेपानीको वैकल्पिक सोच्न सकेका थिएनन् । अहिले यूसएआईडीको सहयोगमा सेवक नेपालको सफा पानी कार्यक्रम अन्तर्गत मुहान पहिचान गरेर गाउँमा धारा निर्माण गरी पानी खसालीदिएपछि स्थानीयवासीलाई सहज भएको हो ।
“पानी लिएर आउन धेरै समय लाग्ने भएपछि घरमा खाना बनाउने र अन्य काम गर्न अर्काे व्यक्ति चाहिन्थ्यो,” स्थानीय नन्दकुमारी गोदार भन्छिन्, “अहिले एकै जनाले बिहान घरको काम गर्न भ्याइएको छ ।” उनले संस्थाले गाउँमै धारा बनाएपछि निकै सहज भएको बताइन् । सिल्ढुङ गाउँमा अधिकांश दलित समुदाय छन् । आर्थिक अभावका कारण वर्षांैदेखि यो गाउँवासीले खानेपानीको समस्या झेल्दै आएका थिए ।
सेवकले गाउँमा खानेपानीको समस्या रहेको जानकारी पाएपछि मुहानको खोजी गरी समस्या समाधानका लागि पहल गरेको थियो । गाउँमा छुसायाङ खानेपानी उपभोक्ता समिति गठन गरी खानेपानी तथा सरसफाइ योजना गठन गरी खानेपानीका लागि काम सुरु गरिएको हो । “निकै मेहनत गरेर हामीले गाउँमा खानेपानी ल्याउन सफल भयौं,” समितिका अध्यक्ष सुजन बुढाथोकीले भने, “अब भने ढुक्क छौं, गाउँको विकराल समस्याको समाधान भएको छ ।” उनले गाउँवासीले टाढाबाट ल्याएको धमिलो पानी पिउनुपर्ने समस्याको अन्त्य भएको बताए । सेवकले यो गाउँका ४४ घरधुरीका लागि ८ वटा धारा निर्माण गरिदिएको हो । अध्यक्ष बुढाथोकीले टोलमै पानी आएपछि पुनर्निर्माणले समेत गति लिएको बताए । “अहिले त गाउँमै ढलान घर बन्न थालेका छन्,” उनले भने ।
सेवकले यो गाउँमा खानेपानी ल्याउन ११ लाख ९० हजार रुपैयाँ लगानी गरेको थियो । थप एक लाख ६० हजार रुपैयाँ समुदायले लगानी गरेपछि गाउँमा बनेका नयाँ धारामा खानेपानी झरेको हो । गाउँवासीले थप ४३ हजार रुपैयाँ मर्मत सम्भार कोषका लागि राखेका छन् । धारा निर्माणपछि गाउँमा खानेपानी आएपछि स्थानीय निकै खुसी भएको सेवक नेपालकी शासन तथा क्षमता विकास अधिकृत सरीता अधिकारीले बताइन् । “पहिले धमिलो पानी पिउन बाध्य बनेका यहाँका स्थानीय अहिले फिल्टरमा राखेको पानी पिउँछन्,” अधिकारीले भनिन्, “हामीले सफा रहनका लागि हात धुने ठाउँको प्रवद्र्धनसमेत गरेकाले गाउँवासीको जीवनशैलीमा परिवर्तन आएको छ ।” उनले स्थानीयलाई खानेपानी जोहोका लागि तालिमसमेत प्रदान गरेको बताइन् । योसँगै सेवकले जिल्लाका साविक २० गाविसमा ७० भन्दा बढी स्थानमा खानेपानीका लागि सहयोग गरिरहेको छ ।
–किशोर बुढाथोकी