म्युचुअल फन्ड : लगानी व्यवस्थापनमा असक्षम र अपारदर्शी «

म्युचुअल फन्ड : लगानी व्यवस्थापनमा असक्षम र अपारदर्शी

दक्ष लगानी व्यवस्थापनमार्फत् जोखिम न्यूनीकरण गरी सहभागीलाई उच्चतम प्रतिफल दिलाउनु सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को आधारभूत सिद्धान्त हो । व्यक्तिगत वा म्युचुअल फन्डको लगानीमा अधिकतम नाफा प्रमुख उद्देश्य भए पनि जोखिम व्यवस्थापनका हिसाबले भिन्नता हुन्छ । फन्ड संस्थागत लगानीकर्ताको रूपमा आरक्षण र सहुलियत पाउनुका साथै कोष परिचालन र व्यवस्थापन गर्न दक्ष योजना व्यवस्थापक, डिपोजिटरी तथा सुपरिवेक्षण र नियमन गर्न विज्ञहरूको कोष सुपरिवेक्षक समूहको व्यवस्था हुन्छ । यस वापत व्यवस्थापकले २, डिपोजिटरीले ०.५ र सुपरिवेक्षक समूहले ०.५ प्रतिशतसम्म शुल्क लिन्छन् । तर, संचालनमा रहेका अधिकांश म्युचुअल फन्डहरूको अवस्था हेर्दा जोखिम र लगानी व्यवस्थापन दुबैमा चुकेका देखिन्छन् ।
लगानी, मुनाफा र न्याभ
(क) लगानी : फन्डले मुख्य रूपमा सेयर र आंशिक रूपमा डिबेन्चर-ऋणपत्र तथा मुद्दति लगानी गर्न सक्छन् । लगानीका दृष्टिकोणले सेयर बढी जोखिमपूर्ण र डिबेन्चर-ऋणपत्र तथा मुद्दति सुरक्षित एवम् सुनिश्चित आयको स्रोत मानिन्छ । बजारमा तत्काल बिदा हुने एनबिएफ–१ र प्रवेश गर्न तयार एनआईसी एसिया ग्रोथ फन्ड–१ लाई छोडेर क्रियाशील १२ वटा फन्डले कुल १२ अर्ब १२ करोड संकलन गरी सेयरमा ६ अर्ब ३४ करोड (५२.३१ प्रतिशत), मद्दतिमा २ अर्ब ६० करोड (२१.४५ प्रतिशत) र डिबेन्चर-ऋणपत्रमा १९ करोड ३० लाख (१.५९ प्रतिशत) हाराहारी लगानी गरेका छन् । यिनीहरूले ३ अर्ब ७२ करोड (३०.७१ प्रतिशत) लगानी नै नगरी बैंकमा राखेर बसेका छन् ।
(ख) मुनाफा : मासिक आय-व्यय, प्राप्त भइनसकेको र भर्चुअल नाफा-नोक्सानीको आधारमा प्रायः फन्डहरू नोक्सानीमा देखिएका छन् । फागुन मसान्तसम्मको अपरिष्कृत आयव्यय विवरण अनुसार फन्डहरूको कुल घाटा १ अर्ब छ । सिटिजन्स म्युचुअल–१र सिद्धार्थ इक्विटीमात्रै १ करोडमुनिको नोक्सानीमा छन् । सानिमा इक्विटी, एनएमबी हाइब्रिड र लक्ष्मी भ्यालुको नोक्सानी ५ करोडभन्दा कम, ग्लोबल आइएमई समुन्नत योजना–१ को ६.५६ करोड तथा लक्ष्मी इक्विटी, नबिल इक्विटी, एनआइबिएल प्रगति, एनआइबिएल समृद्धि–१, एनएमबी सुलभ–१, सिद्धार्थ इक्विटी ओरियन्टेडको घाटा १० करोडमाथि छ । प्राप्त भइनसकेको आय-व्ययको (अनरियलाइज्ड लस)फन्डहरूको घाटामा उल्लेख्य भूमिका खेलेको देखिन्छ, जुन सबैभन्दा कम सानिमाको ४५ लाख र बढी एनआइबिएल प्रगतिको २५.६५ करोड छ ।
सेयरमा वास्तविक लगानी र बजार मूल्यको आधारमा उपलब्ध सेयरको सम्पत्ति मूल्यबीचको अन्तर (भर्चुअल नाफा-नोक्सान) समेत भयावह देखिन्छ । १२ म्युचुअल फन्डहरूको सेयर सम्पत्ति ६ अर्ब ३४ करोडबाट घटेर ५ अर्ब ५५ करोडमा झरेको छ । एनआईबिएसएफ–१, एनएमबीएसएफ–१ र एसईओएस बाहेक अरू फन्डहरू २० करोडसम्मको भर्चुअल नोक्सानीमा देखिएका छन् । फन्डहरूको यस्तो घाटा १५ प्रतिशतभन्दा बढी देखिएको छ ।
(घ) प्रति एकाइ खुदसम्पत्तिको मूल्य (न्याभ) : सेयर मूल्यमा आएको गिरावटसँगै एकाइ धनीहरूको खुद सम्पत्ति जनाउने प्रतिएकाइ खुदसम्पत्ति मूल्य अर्थात् नेट एसेट्स भ्यालु (न्याभ)मा समेत उल्लेख्य कमी आएको छ । फागुन मसान्तसम्मको मूल्यका आधारमा एनआइबिएलपिएफ, जिआइएमईएस–१, एलईएमएफ र एनईएफको रु ९ भन्दा कम; सिएमएफ–१, एसएईएफ र एसईएफको रु. १० हाराहारी र एलभिएफ–१, एनआईबिएसएफ–१, एनएमबीएचएफ–१, एसईओएस र एनएमबीएसएफ–१ को मात्र अंकित-च्ुक्ता मूल्य रु. १० भन्दा बढी देखिएको छ । सबैभन्दा बढी एनएमबीएसएफ–१ को १३.१७ र कम एनआईविएलपिएफका ८.१६ रूपैयाँ छ । हालका हप्तामा न्याभमा थप गिरावट आएर २५ प्रतिशतसम्म सम्पत्ति गुमाएका छन् ।
पक्कै पनि फन्डको लगानीमा बजार जोखिम निहित हुन्छ । सेयरमूल्यको आधारमा स्वाभाविक रूपमा न्याभ र मुनाफा तलमाथि हुन्छ, तर व्यावसायिक लगानी व्यवस्थापन समूह र सुपरिवेक्षहरूले बजारको लय समातेर मूल्य सन्तुलन कायम गर्न र लगानी जोगाउन समेत असक्षम भएको प्रष्ट देखिएको छ । लगानी व्यवस्थापन गर्न नसक्दा आय-व्ययमा देखिएको नोक्सानी र भर्चुअल वा संभावित नोक्सानीका साथै खुदसम्पत्ति समेत गुमाउनुले योजना व्यवस्थापकको असक्षमता र सुपरिवेक्षकको लापरबाही नै मान्न सकिन्छ ।

सूचना तथा पारदर्शिता
सामूहिक लगानी कोष नियमावली २०६७ ले योजना व्यवस्थापकले प्रत्येक महिना योजनासम्बन्धी धितोपत्रमा गरिएको लगानी रकम, लगानी गरिएको धितोपत्रहरूको बजार मूल्य, योजनाको आम्दानी र खर्चहरू, योजनाअन्तर्गत जारी गरिएको धितोपत्रको प्रतिएकाइ खुदसम्पत्ति मूल्य र त्यस्तो मूल्य गणनाको आधार र बोर्डले तोकिदिएका अन्य विवरण महिना समाप्त भएको १५ दिनभित्र कोष सुपरिवेक्षक र बोर्डलाई जानकारी गराई प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।
योजना व्यवस्थापकहरूले मासिक विवरणमा सेयर, मुद्दति र डिबेन्चरमा गरिएको लगानी, मुनाफा र वित्तीय अवस्था आमलगानीकर्ताहरूले सजिलै बुझ्ने गरी पस्किनु पर्ने हो, तर कुनैले सूचीकृत र सूचीकृत नगरिएको सेयरमा गरिएको लगानी रकम त कुनैले सूचिकृत नभएको समेत, कुनैले डिबेञ्चर तथा मुद्दतिसमेत समावेश गरेर लगानी रकम उल्लेख गर्दा वास्तविक लगानी विवरण थाहा पाउन गाह्रो छ । यस्तै, डिबेञ्चर र मुद्दति कति समय र ब्याज आउने गरी लगानी गरिएको हो, जानकारी नै दिइन्न । मासिक प्रतिवेदनमा फन्डको वास्तविक मुनाफाको अवस्था र चालु आ.व.मा लाभांशको क्षमता जनाउने वित्तीय सूचना उल्लेख हुँदैन । लगानीकर्ताहरू न्याभ र मासिक आयव्यय हेरेर अन्दाजको भरमा एकाइहरू किनबेच वा धारण गर्न बाध्य छन् ।
सामान्यतः धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मिति सबैले उल्लेख गरेको देखिन्छ, तर सुरु भएको र समाप्त हुने मिति प्रायःले उल्लेख गर्दैनन् । संचालनमा रहेका मध्ये सिएमएफ–१ र एनईएफले मात्र उल्लिखित सबै विवरण दिएका छन् ।
सुधारका पाटाहरू
(क) यथार्थ विवरण र पारदर्शिता : मासिक प्रतिवेदनमा फन्ड सुरु र समाप्ति मिति; मुद्दति, डिबेन्चर-ऋणपत्र, सेयरमा गरिएको यथार्थ लगानी रकम; मुद्दति र डिबेन्चरको ब्याजदर र अवधि; संचित मुनाफा र वितरणयोग्य मुनाफासमेत अनिवार्य उल्लेख गराइनुपर्छ । सबै फन्डहरूको विवरण, लाभांश, ब्याज र पुँजीगत लाभ तथा खर्चका शीर्षकहरूमा समेत एकरूपता ल्याइनुपर्दछ ।
(ख) लगानी नियमन : सुपरिवेक्षक र योजना व्यवस्थापकले प्रभावकारी लगानी व्यवस्थापन गरे-नगरेको उचित नियमन गरेर कडाइ गर्नुपर्ने देखिएको छ । अन्यथा, फन्डहरू मुद्दति र बैंकमा पैसा जम्मा गरेर निष्कृय लगानीमा रमाउने र प्रवद्र्धक बैंकहरूका लागि सस्तो बचत संकलन गर्ने माध्यम मात्र बन्नेछन् । यस्तै तोकिएको प्रतिशतभन्दा बढी खुद सम्पत्तिमा ह्रास आएको अवस्थामा योजना खारेज गरी बदनियतपूर्वक सम्पत्ति घटेको पाइएमा योजना व्यवस्थापक तथा सुपरिवेक्षकबाट क्षतिपूर्ति भराउनेसम्मको कारबाही हुने व्यवस्था गरिनुपर्छ ।
(ग) आरक्षण र कर छुटमा पुनर्विचार : पुँजी बजारमा संस्थागत लगानीकर्ताको उपस्थितिलाई सहज बनाउा फन्डलाई सार्वजनिक निष्काशन हुने प्राथमिक सेयरमा ५ प्रतिशतको आरक्षण र कारोबारमा हुने पुँजीगत लाभकर छुट हुने व्यवस्था छ । फन्डहरूले यस्तो आरक्षण र कर छुटको दुरुपयोग गरी बजारमा अस्वस्थ प्रतिस्पर्धा र सेयरको मूल्य प्रभाव पार्ने सुनिन आएको हुँदा लाभकर छुट हटाइनुपर्छ । आरक्षणमा दिइएको सेयर माग र आपूर्तिको निश्चित मापदण्डका आधारमा किनबेच गर्नैपर्ने व्यवस्था हुनुपर्छ ।
(घ) संचालक समितिमा प्रतिनिधित्व : फन्डहरूले विशेष सुिवधा पाएका कारण कसैको स्वार्थमा कुनै पनि कम्पनीको सेयर खरिद गर्ने प्रवृत्तिलाई निरुत्साहित पार्न पनि फन्डले कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्न र मतदान गर्न नपाउने व्यवस्था गरिनुपर्दछ ।
अन्तमा, म्युचुअल फन्डहरू लगानी र जोखिम व्यवस्थापनलाई पारदर्शी बनाउँदै बजारमा सेयरको माग र आपूर्तिको सन्तुलन कायम गर्न सकारात्मक भूमिका खेल्न सहयोगी बन्नुपर्छ । होइन, बजार उतारचढावको फाइदा र आरक्षण अनि कर छुटको अनैतिक लाभमात्र लिन खोज्छन् भने यस्ता विशेष सुविधा तत्काल हटाइनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्