सम्बन्ध सुधार नै भ्रमणको उपलब्धि «

सम्बन्ध सुधार नै भ्रमणको उपलब्धि

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्कँदैछन् । संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध खरो उत्रिएका ओलीको भ्रमणलाई नेपालमा महत्वका साथ हेरिएको थियो । भ्रमणका क्रममा खासै नयाँ सहमति नभए पनि पुराना सम्झौता कार्यान्वयनमा बढी जोड दिइएको छ । दुवै प्रधानमन्त्रीले शनिबार १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । ओलीको भारत भ्रमणका क्रममा भएका दुई देशबीच कृषि क्षेत्रमा नवीन साझेदारी, भारतको रक्सोलदेखि काठमाडौंसम्म इलेक्ट्रिफाइड रेल लिंक र ‘इनल्याण्ड वाटर कनेक्टिभिटी’का क्षेत्रमा भएका सहमतिलाई महत्वपूर्ण मानिएको छ । विशेषगरी भ्रमण पछिल्लो समय भारतसँगको सम्बन्धमा देखिएको चिसोपना हटाउन सफल भएको ठानिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण र १२ बुँदे संयुक्त वक्तव्यमा केन्द्रित रहेर परराष्ट्र मामलाका जानकारहरूसँग कारोबारले गरेको कुराकानीको सार :

चिसोपन हटाउन भ्रमण फलदायी
प्रा. डा. लोकराज बराल
पूर्वराजदूत
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नेपाल र भारतबीच एकआपसमा विश्वास र सद्भाव बढाउनका लागि हो । यसको अरु उद्देश्यभन्दा पनि दुई देशबीचको सम्बन्धमा आएको चिसोपना हटाउने र अहिले चलिरहेका भारतसँग सम्बन्धित आयोजना कसरी अघि बढाउने भन्ने विषय नै मुख्य हो । यो भ्रमणको अरु धेरै ठुलो उद्देश्य देखिँदैन ।
२०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि नेपाल र भारतको सम्बन्धमा दरार उत्पन्न भएको थियो । त्यसयता ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई दिने, विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाउने काम भयो । त्यस्तै यसपटक प्रधानमन्त्री ओलीको भ्रमणलाई भारतले महत्व दिएकै मान्नुपर्छ । नेपालबाट प्रधानमन्त्री जाँदा विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभयो । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँबीच एकला–एक्लै १ घण्टा लामो छलफल हुनुलाई भारतले महत्व दिएको मान्न सकिन्छ । हुनत भारतले यसअघि पनि नेपाललाई महत्व दिने गरेको थियो । पहिला राजा हुँदा पनि राजाको जन्मदिनलाई भारतले महत्व दिने गरेको थियो । छिमेकीहरूमा भारतले नेपाल र भुटानलाई महत्व दिँदै आएको छ । अहिले विश्व परिवेशसँगै नेपाल र भारतको सम्बन्ध पनि बदलिँदै गएको छ । यो बदलिँदो परिस्थितिमा नेपाल–भारत सम्बन्धलाई कसरी परिभाषित गर्ने भन्नेमा प्रधानमन्त्री केपी ओलीको भ्रमणले निर्धारण गर्नुपर्छ । दुई देशबीच विश्वासको वातावरण बनाउन भ्रमण फलदायी भएको मान्न सकिन्छ । यसको अरु धेरै राजनीतिक अर्थ छ भन्ने लाग्दैन । पहिला नेपालबाट प्रधानमन्त्री जाँदा राज्यमन्त्रीले स्वागत गर्ने गरेका थिए । यसपटक गृहमन्त्री आफैं आउनुलाई भारत पनि नेपालसँगको सम्बन्ध राम्रो बनाउन चाहन्छ भन्ने देखाउँछ ।
कुनै घटनाक्रममा एउटा अडान लिनु एउटा कुरा हो । तर, कूटनीतिमा सँधै त्यही अडान लिएर बस्ने भन्ने हुँदैन । घटनाक्रमलाई सामान्यीकरण गर्दै जानुपर्छ । हामीले हिजोको परम्परागत दृष्टिकोण राखेर सम्बन्ध कायम राख्न सक्दैनौं । भारतीय पक्षले पनि परम्परागत सोच राखेर नेपाललाई हेर्दा दुई देशको सम्बन्ध सुधार हुन सक्दैन । विश्वको बदलिँदो परिवेशअनुसार नेपाल र भारतको मानसिकतामा पनि परिवर्तन आउन जरुरी छ ।
नयाँ परिस्थितिमा नेपाललाई हेर्ने भारतीय दृष्टिकोण परिवर्तन हुनैपर्छ । त्यसमा भारतले नेपालका सानातिना कुरामा शंका गर्न छोड्नुपर्छ । नेपालले भारतलाई विश्वासमा लिएर नै अन्य देशसँगको सम्बन्ध बढाउनुपर्छ । प्रधानमन्त्री ओलीलाई भारतको आवश्यकता पर्छ । दुई देशबीचको सम्बन्धमा रहेको तिक्तता हटाउनु नै दुवै देशको हितमा छ ।
चीनसँग आर्थिक सहायता लिँदा भारतले शंका गर्नुहुँदैन । अलिकति फरक पर्दा कहिले भारततिर ढल्किएको वा कहिले चीनतिर ढल्किएको भन्ने आशंका हुने वातावरण अन्त्यका लागि भारतले मानसिकतामा परिवर्तन गर्नुपर्छ । भारतले पनि पुरानो चश्माबाट नेपाल सम्बन्धलाई हेर्न हुँदैन । अर्को, कुरा यहाँ भारतीय सहयोगमा सञ्चालित आयोजनामा पनि समस्या छन् । नेपालले समयमा जग्गा अधिग्रहण गरिदिएको छैन भने भारतले ठेक्का दिएका कतिपय कम्पनीले काम गर्न सकेका छैनन् । त्यस्ता समस्या हल गर्न प्रधानमन्त्री ओलीको भ्रमणले सक्नुपर्छ । त्यसो भयो भने नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । हुलाकी राजमार्ग, माथिल्लो कर्णालीमा समस्या देखिएको छ । महाकाली सन्धिपछिको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाले गति लिन सकेको छैन । अरु आयोजना पनि राम्रोसँग अघि बढ्न सकेका छैनन् । द्रुत गतिमा यस्ता परियोजना सम्पन्न गर्दा राम्रो हुन्छ । अहिलेको भ्रमण मुख्यगरी दुई वटा कुरा पहिलो, सम्बन्ध सुधार र दोस्रो, अहिले रहेका आयोजना छिटो सम्पन्न गर्ने विषयमै केन्द्रीत छ । भारतले पनि केही ‘रिएलाइज’ गरेको जस्तो देखिन्छ । नेपालले पनि विकासमा भारतको सहयोग लिन सकारात्मक वातावरण बनाउनुपर्छ । दुई देशबीच सहयोगात्मक सम्बन्ध बढ्नु राम्रो हो ।

प्रतिबद्धता कार्यान्वयनमा भर पर्छ
शम्भुराम सिंखडा
परराष्ट्र मामलाका जानकार
मैले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई सकारात्मक रूपमा नै लिएको छु । नेपाल र भारतका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यलाई सरसर्ती हेर्दा मुख्यगरी २-३ वटा विषयमा छलफल भएको देखिन्छ । अहिलेसम्म हेर्दा जे पहिला अपेक्षा थियो, त्यही नै भएको छ । नयाँ सम्झौतामा हस्ताक्षर भएको छैन । नेपाल भारतबीचको सम्बन्ध सुधार र पहिला भएका सम्झौता कार्यान्वयनमै जोड दिएको देखिन्छ । रेलमार्गमार्फत नेपाललाई जोड्ने र जलमार्गको अध्ययन गर्ने कुरा भएको छ । भारतले गरेका प्रतिबद्धता कसरी कार्यान्वयनमा अघि बढ्छन् भन्ने महत्वपूर्ण छ । रेलमार्गमार्फत कनेक्टिभिटी पनि महत्वपूर्ण छ ।
नेपाल र भारतबीच सम्बन्ध सुधारको कुरा गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच लामो छलफल भयो भन्ने सुनेको छु । प्रधानमन्त्री केपी ओली नेपाल आएपछि उहाँहरूबीचको भेटमा के के कुरा भयो ? कुन कुन आयामबाट छलफल भए ? त्यो बताउनुहोला नै । नेपालको प्रधानमन्त्री ओलीको भारतमा जुन सौहार्द स्वागत भयो, त्यसलाई बाहिरबाट हेर्दा दुई देशबीचको सम्बन्ध सकारात्मक दिशामा गएजस्तो देखिन्छ । दुई देशबीचको सम्बन्ध अहिलेसम्म भ्रमणलाई हेर्दा सकारात्मक देखिन्छ । तर, मूल रूपमा मोदी र ओली दुई प्रधानमन्त्रीबीचमा भेट हुँदा कस्तो किसिमको वातावरण बन्यो ? त्यो बारे प्रधानमन्त्री ओलीले बताउनुहोला । उहाँले त्यसबारे बताएपछि नेपाल र भारतबीचको सम्बन्ध सुधारको विषयमा के भयो भन्न सकिन्छ । अहिलेसम्म भारतले गरेको स्वागत र जुन रूपमा प्रधानमन्त्री मोदीले लामो समय नै ओलीसँग छलफल गर्नुभएको कुरा आएको छ । त्यसलाई बाहिरबाट हेर्दा भ्रमण सकारात्मक नै छ ।

असमझदारी हट्नु उपलब्धि
श्यामानन्द सुमन
पूर्वराजदूत
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई व्यक्तिगत रूपमा सफल मान्छु । दुवै पक्षबीच राम्रो समझदारी देखिएको छ । केही समय पहिला नेपाल र भारतबीच असमझदारी देखिएको थियो । संविधान जारी भएपछि अघोषित नाकाबन्दी भारतका तर्फबाट भयो । त्यो गलत कदम थियो भनेर भारतले महसुस गरेको छ । संविधान कार्यान्वयनका लागि भएका निर्वाचनहरू सफलतापूर्वक सम्पन्न भयो । त्यसले नेपालमा मधेस र पहाडकोबीचमा मतभेद छ भन्ने बुझाई फेर्न भारतलाई प्रभाव प¥यो । अहिले नेपाल एकढिक्का छ भन्ने सन्देश गएको छ । नेपाल सार्वभौम देश हो । त्यसैअनुसारको व्यवहार गर्नुपर्छ भन्ने भारतले ठानेको यो भ्रमणका क्रममा देखियो । यो अत्यन्त राम्रो कुरा हो ।
नेपालको प्रगति र समृद्धिका लागि भारतको सहयोग चाहिन्छ । भारतलाई माइनस गरेर नेपालको प्रगति र समृद्धि हुँदैन । भारतसँगको हाम्रो भूराजनीतिका कारण संसारका अरु देशसँगको सम्बन्ध भन्दा बेग्लै सम्बन्ध छ । नेपाल र भारत मिल्नुमै दुवै देशको हित छ । भारतले विगतका गल्ती सच्च्याएको छ । अहिले नयाँ आयोजनामा सम्झौता नभए पनि पुरानालाई कार्यान्वयनमा लैजाने सहमति भएको छ । पुराना आयोजना कार्यान्वयनमा लैजानु पनि उपलब्धीमूलक नै हो । अहिलेको भ्रमण एक हिसाबले भन्दा सद्भावना भ्रमण हो । अविश्वासको वातावरण हटाउने, विश्वासको वातावरण बनाउने काम यो भ्रमणबाट भएको छ ।
भारतसँग नेपालको बहुआयामिक सम्बन्ध छ । देश ठूलो सानो भए पनि नेपाल र भारतबीच एक अर्कामा अन्तरसम्बन्ध छ । भारतले नेपालसँग सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने कुरा महसुस गरेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको सरकार यसअघिको सरकारजस्तो छोटो समयका लागि होइन । यो कम्तिमा पनि ४-५ वर्ष चल्ने सरकार हो । छोटो समयमा सरकार परिवर्तन भइरहँदा त्यसको प्रभाव नेपाल–भारत सम्बन्धमा पनि परेको थियो । सरकार परिवर्तन भइरहँदा गहिरो सम्बन्ध स्थापित हुन सकेको थिएन । तर, अहिलेको सरकार लामोसमय रहने भएकाले पनि नेपाल भारत सम्बन्ध गहिरो र फराकिलो हुने देखिन्छ । नेपालको लागि यो राम्रो कुरा हो ।

१२ बुँदे संयुक्त वक्तव्यमा के छ ?१२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
१. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भ्रमण ।
२. दुई देशबीचका विविध पक्षमा समीक्षा हुनुका साथै सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा विचार विमर्श भयो । 
३ नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम दिन तथा ऐतिहासिक र सांस्कृतिक निकटतालाई थप घनिष्ट बनाउन नियमित रूपमा उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदानलाई निरन्तरता दिने ।
४. प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई थप उचाइमा पुराउन आफू नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै नेपालको विकास र समृद्धिका लागि भारतसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न चाहेको बताए । जवाफमा मोदीले नेपाललाई हरप्रकारको सहयोग गर्न भारत तयार रहेको बताए ।
५. भारतले अपनाउँदै आएको ‘सबका साथ सबका विकास’ अवधारणा नेपालको विकास र समृद्धिको लागि मार्गदर्शक बन्न सक्ने मोदीले विश्वास लिएका थिए । ओलीले पनि आर्थिक विकासका लागि आफ्नो सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अबलम्बन गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले सफलतापूर्वक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिँदै अब नेपाल सरकारको भिजनअनुसार  नेपाल स्थायित्व र विकासको दिशामा अग्रसर हुने विश्वास व्यक्त गरे ।
६. दुबै प्रधानमन्त्रीले वीरगन्जस्थित एकीकृत चेकपोस्टको उद्घाटन भयो ।
७. मोतीहारी–अमलेखजन्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन भयो ।  
८. दुवै प्रधानमन्त्री  सम्झौताहरूको शीघ्र कार्यान्वयनमा पनि सहमत ।
९. यी ३ वटा अलग क्षेत्रमा समझदारी भयो । कृषिमा दुई पक्षीय सहयोग आदान–प्रदान, रक्सौल–काठमाडौं रेलमार्ग निर्माण र अन्तरदेशीय जलमार्गका सम्बन्धमा पनि दुई देशबीच महत्वपूर्ण समझदारी भयो ।
१०. दुई देशबीचको बहुपक्षीय साझेदारीका लागि नयाँ गति दिन दुई प्रधानमन्त्रीबीचको भेटवार्ता महत्वपूर्ण रह्यो ।
११. प्रधानमन्त्री ओलीले भ्रमणको निम्तो र न्यानो आतिथ्यताका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन  । 
१२. उपयुक्त समयमा मोदीलाई नेपाल भ्रमणमा आउन ओलीले निम्ता दिनुभयो । जवाफमा मोदीले ओलीको निमन्त्रण स्वीकार गर्दै कूटनीतिक च्यानलबाट  भ्रमण मिति तय गर्ने पनि समझदारीे भयो ।

प्रतिक्रिया दिनुहोस्