१० अर्ब पुँजी स्थानीय तहलाई हस्तान्तरण «

१० अर्ब पुँजी स्थानीय तहलाई हस्तान्तरण

 कास्कीका ४ सय ८ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । कास्कीमा रहेका ६ सय २९ वटा सहकारीमध्ये शुक्रबार ४ सय ८ वटा सहकारीको १० अर्ब बराबरको पुँजीसहितको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको सहकारी डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले जानकारी दिए ।
स्थानीय तहलाई सहकारी संघ–संस्थाको अभिलेख हस्तान्तरण तथा अन्तक्र्रियामा प्रदेश नम्बर ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई अभिलेख सहितको उक्त पुँजी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मन्त्री थापाले सहकारीको मर्म र भावना अनुसार स्थानीय तहले राम्रोसँग अभिलेखीकरण गर्नुपर्ने बताए । कार्यक्रममा मेयर जिसीले आफूहरूले महानगरभित्र धेरै विषयलाई हेर्नु परेकाले विषयगत रूपमा त्यसको रेखदेख र अनुगमनसहित प्रभावकारी ढंगले सञ्चालन गर्ने बताए ।
कास्कीमा रहेका बाँकी २ सय ११ वटा सहकारी कार्य क्षेत्रका आधारमा प्रदेश सरकारबाट सञ्चालित हुने भएको प्राचार्य अधिकारीले बताए । उनका अनुसार कास्कीका बाँकी १८ अर्बको पँुजीसहितको सहकारीको अभिलेख केही समयपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिने भएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–सचिव रघुनाथ विष्टले हाल देशमा भएका ५ सय ९६ जना सहकारीमा आवद्ध कर्मचारीमध्ये ६० प्रतिशत स्थानीय तहमा खटिसकेको बताए । देशभर ३५ हजार ५ सय १२ वटा सहकारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्