लेखनाथमा चौथो फिस फेस्टिबल चैत अन्तिम साता

स्थानीय स्तरमा उत्पादित माछाको संरक्षण गरी आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले यही चैत २९ गतेदेखि पोखरा लेखनाथ महानगरपालिका ३१, ड्यामसाइड, बेगनासताल किनारामा चौथो संस्करणको फिस फेस्टिबल हुने भएको छ ।
‘बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ वैशाख १ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवले नेपाली नयाँ वर्षको अवसरमा पर्यटकहरूको नयाँ गन्तव्यको रूपमा विकास गर्ने भएको फेस्टिबल संयोजक दामोदरभक्त थापाले बताए । होटल तथा रेस्टुराँ एसोसिएसन लेखनाथको आयोजना तथा बेगनास डुंगा व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति तथा बेगनासताल बजार व्यवस्थापन समितिको सहआयोजनामा लेखनाथको बेगनास ताल किनारमा सञ्चालन हुने उक्त फेस्टिबलमा २३ प्रकारका माछाहरू परिकारको साथमा बिक्रीका लागि समेत राखिने भएको संयोजक थापाले बताए ।
प्रवेश निःशुल्क रहेको महोत्सवमा माछाका बारेमा जानकारी लिन चाहानेहरूका लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यबस्था समेत मिलाइने आयोजकले जनाएको छ । बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्नु, स्थानीय रूपमा उत्पादित माछा, मह, कफी, जडीबुटीहरूको प्रचार–प्रसार, स्थानीय माछाको संरक्षणसहित तालहरूको संरक्षण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको एसोसिएसन लेखनाथका निर्देशक दुर्गाप्रसाद अधिकारीले बताए । फेस्टिबलको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, खुला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, माछा र खानाका परिकारहरू, माछाको परिकार बनाउने निःशुल्क तालिम, कफी प्रदर्शनी, जडीबुटी प्रदर्शनी, पप कन्सर्ट, लोकदोहोरी, बालउद्यानलगायतका कार्यक्रम मुख्य आकर्षणको रूपमा रहने भएको अधिकारीले जनाए ।
महोत्सवको अवसरमा हेलिकोप्टरबाट सातै तालको अवलोकन गर्ने पहिलोपटक व्यवस्थापन गरिएको आयोजकले जनाएको छ भने मोटरबोटमा ताल सयर, बराह मन्दिर दर्शन गर्ने व्यवस्थासमेत रहेको निर्देशक अधिकारीले जनाए । फेस्टिबलमा करिब ७० हजार दर्शकले अवलोकन गर्दा ४० लाखको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।