बाढीले पु¥याएको क्षतिको जीवन बिमा कम्पनीमा दाबी «

बाढीले पु¥याएको क्षतिको जीवन बिमा कम्पनीमा दाबी

गत साउनमा तराई क्षेत्रमा आएको बाढीका कारण निर्जीवन बिमा कम्पनीमा मात्रै हैन, जीवन बिमा कम्पनीमा समेत दाबी परेको छ । बिमा समितिको तथ्यांकअनुसार मानवीय क्षतिका कारण दुई जीवन बिमा कम्पनीमा १६ लाख ५५ हजार रुपैयाँको दाबी परेको छ ।
तथ्यांकअनुसार नौ जीवन बिमा कम्पनीमध्ये बजारको सबैभन्दा बढी क्षेत्र ओगट्न सफल भएका नेपाल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेसनमा दाबी परेको समितिका निर्देशक राजुरमण पौडेलले बताए । कम्पनीमा ८ लाख ३१ हजार बिमांक रकमको ४ वटा दाबी परेको छ । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्समा तीन मानवीय क्षतिको दाबी परेको छ । जसबापत बिमितले १५ लाख ५ हजार ८५० रुपैयाँ दाबी गरेका छन् । जसको बिमांक रकम भने ७ लाख ५६ हजार छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा भने एउटा मात्रै दाबी परेको छ । जस बापत बिमितले १ लाख ५० हजार दाबी गरेका छन् । जसको बिमांक रकम ७५ हजार रुपैयाँ छ । तर, हालसम्म कुनै पनि कम्पनीले भुक्तानी भने गरेका छैनन् ।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार तराई क्षेत्रमा आएको बाढीले ६१ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति र २२ जना घाइते भएको देखाएको छ । क्षति भएका संरचनाको पुनर्निर्माणका लागि ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने आयोगले गरेको अध्ययनले देखाएको छ । बाढीबाट १८ जिल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रुपमा प्रभावित भएको देखिएको छ । यसमध्ये सबैभन्दा बढी क्षति आवासमा भएको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार आवास क्षेत्रमा १९ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । सिचाईमा १७ अर्ब, पशुपालनमा १० अर्ब, कृषिमा ७ अर्ब २१ करोड, यातायातमा २ अर्ब ९३ करोड, शिक्षामा १ अर्ब १२ करोड, स्वास्थ्यमा ५ करोड खानेपानी तथा सरसफाइमा ८८ करोड र ऊर्जामा २२ करोड रुपैयाँ बराबरको क्षति भएको आयोगले जनाएको छ ।
तर, निर्जीवन बिमा कम्पनीहरुमा भने जम्मा २ अर्ब ३८ करोडको दाबी परेको छ । समितिमा प्राप्त भएको पछिल्लो तथ्यांकअनुसार कम्पनीहरुमा अग्नि बिमाअन्तर्गत १ अर्ब ६० करोडको दाबी परेको छ । मोटर बिमाअन्तर्गत २ करोड ४० लाख, इन्जिनियरिङ बिमा (निर्माणाधीन आयोजना) अन्तर्गत ६० करोड ४ लाख, इन्जिनियरिङ बिमा (निर्माण सम्पन्न भैसकेका आयोजना) अन्तर्गत १० करोड ५३ करोड र सामुद्रिक बिमाअन्तर्गत १ करोड ३० लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, बाली बिमा ६० लाख ८० हजार र पशुपंक्षी बिमामा २ करोड ८० लाख रुपैयाँको दाबी परेको थियो । कात्तिक २४ गतेसम्ममा कम्पनीहरुमा परेको दाबी रकममध्ये ५ करोड ६१ लाख रुपैयाँ मात्रै भुक्तानी भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्