भारतीय लगानीकर्तालाई ढिला नगर्न राणाको आग्रह «

भारतीय लगानीकर्तालाई ढिला नगर्न राणाको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालमा अब लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भारत भ्रमणमा रहेकी राणाले दिल्लीमा आयोजित नेपाल–भारत व्यावसायिक फोरम बैठकलाई अध्यक्ष राणाले स्थिर सरकार रहेको प्रधानमन्त्री पनि मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासन कायम गर्न प्रतिबद्ध रहेको भन्दै ओलीको नेतृत्वमा अव नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने विश्वास दिलाइन् ।
नेपाल र भारत दुवै प्राकृतिक स्रोत साधनले भरिपूर्ण र युवा जनशक्तिले भरिभराउ देश रहेकाले यसको भरपुर उपयोग गर्दै समृद्धिको मार्गमा सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राणाले राखिन् । हामीसँग रहेको अपार स्रोतहरूको अधिकतम उपयोगमार्फत हाम्रा जनताहरूको जीवनस्तर उठाउन साझा उद्देश्य तथा रणनीतिक लक्ष्य निर्धारण गरी अघि बढ्नु पर्ने सुझाव उनको थियो । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधैं लालयित रहेको पनि अध्यक्ष राणाले बतइन् ।
अध्यक्ष राणाले नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा समेत जोड दिइन् । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको स्मरण गर्दै अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको विस्तार तथा सहकार्यका नयाँ–नयाँ क्षेत्रहरूको पहिचानमा समेत जोड दिनुपर्ने उनको सुझाव थियो । बदलिँदो परिस्थितिमा क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा देखा परेका परिवर्तनहरूलाई आत्मसाथ गर्दै त्यसबाट लाभ उठाउनसमेत आपसी सहकार्य जरुरी रहेको धारणा उनले राखिन् । अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रूपमा अगाडि बढिरहेको मित्रराष्ट्र भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको अध्यक्ष राणाले बताइन् ।
आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडि बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतसँगको व्यापारघाटा अत्यन्त चिन्ताको विषय रहेको भन्दै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नेपालको समृद्धिको चाहनालाई पूरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल गरिन् । उनले यतिबेला जस्तो नेपालमा लगानी गर्ने उपयुक्त समय कहिल्यै नभएको समेत प्रष्ट पारिन् ।
सेवामूलक, उत्पादनमूलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा स्थानीय लगानी बढ्दै गएको उल्लेख गर्दै राणाले नेपालले यतिखेर खासगरी ऊर्जा, पूर्वाधार र ठूला उत्पादनमूलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको भन्दै यी क्षेत्रहरूका अतिरिक्त पर्यटन खासगरी धार्मिक पर्यटनजस्तो बुद्धसर्किट, रामसीता जन्मभूमि सर्किटमा आपसी सहकार्य हुन सक्ने धारणा राखिन् । यस्तै, सरकारले विद्युत् आपूर्तिको प्रभावकारी व्यवस्थापन गरेका कारणनै लोडसेडिङ अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमतामा समेत सुधार भएको उदाहरण राख्दै अध्यक्ष राणाले ऊर्जा उत्पादनमा अहिले निकै ठूला परियोजनासमेत अगाडि बढेकाले आगामी दिनमा निकै धेरै उद्योगहरू आउनुका साथै उत्पादन क्षमतामा समेत ठूलो सुधार आउने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको स्पष्ट पारिन् ।
चुनौतीहरूका बीच पनि नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानहरूले निकै धेरै लाभ उठाउन सकेको उदाहरण दिँदै अध्यक्ष राणाले ती उद्योगहरूले आफ्नो परियोजनासमेत विस्तार गर्दै गएको भन्दै निकै धेरै लगानी खोजिरहेको नेपालका लागि सहयोग गर्न भारतीय सरकार तथा निजी क्षेत्रलाई अपिल गरिन् । महासंघका अध्यक्ष राणासँग्र भ्रमण टोलीमा विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानसहित कार्यकारिणी समितिका सदस्यहरू दिनेश श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, आनन्दकुमार अग्रवाल बगारिया, भरतराज आचार्य, प्रकाशसिंह कार्की, विजयसिं वैध, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउत, व्यवसायी देशबन्धु बस्नेत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्