‘योङ स्कलर समिट’ सुरु «

‘योङ स्कलर समिट’ सुरु

‘राष्ट्र प्रथम’ नारासहित तीन दिवसीय योङ स्कलर समिट काठमाडौंमा सुरु भएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा २६ चैतसम्म हुने समिटमा नेपाल, भारत र चीनमा अध्ययन पूरा गरेर आ—आफ्नो देशको महत्वपूर्ण स्थानमा काम गरिरहेका एक सय युवाहरुको सहभागिता छ ।
उनीहरुले विभिन्न क्षेत्रमा विचार र अनुभव राख्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया र नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमारले गरे । कार्यक्रममा कार्यवाहक राजदूत डा.अजयकुमारले नेपाल—भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने जिम्मेवारी दुवै देशको हरेक नागरिकको रहेको बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाले युवाहरुको काँधमा राष्ट्रनिर्माणको जिम्मेवारी आएकाले दक्षता र क्षमता मुलुकभित्र नै सदुपयोग गर्न आग्रह गरे । नेपालमा कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति हुनुलाई ठूलो अवसर भन्दै उनले त्यसलाई खेर जान दिन नहुनेमा जोड दिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध परिषद्का महासचिव श्याम पाण्डेले युवाहरुको काँधमा इतिहासकै महत्वपूर्ण जिम्मेवारीहरु आएको बताए । नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दिपककुमार अधिकारीले युवाहरुले रचनात्मक भूमिका निभाएर मुलुकलाई परिवर्तनको बाटोमा लानुपर्ने बताए । कार्यक्रममा सात जना युवा प्रतिभालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पैंचो कार्यक्रमका राजन पौडेल, विशाल सिमेन्टका महाप्रबन्धक अमित श्रेष्ठ, संगितकार तथा लोकसंगीतमा पीएचडी गर्ने डा.लोचन रिजाल, कलाकार शेरमान नेपाली, गायिका मीनादेवी निरौला, कलाकार रोमी घिमिरे र भ्याली कोल्डस्टोरका बाबुराजा रावल छन् ।

प्रतिक्रिया दिनुहोस्