एसईई परीक्षा सकेर भारततिर «

एसईई परीक्षा सकेर भारततिर

यस वर्षको एसइई परीक्षा सकिसकेको छ । एसईईपश्चात् धेरै विद्यार्थीहरू अबको यात्रा के कसरी अगाडि बढाउने भनेर सोचिरहेका छन् भने कोही कम्प्युटरलगायतका विभिन्न तालिम लिन सुरु गरिसकेका छन् ।
तर, रुकुम पश्चिमका धेरै विद्यार्र्थीहरू भने कामको लागि भारत जाने क्रम सुरु भएको छ । घरको आर्थिक अवस्था कमजोर र गाउँघरमा अन्य कुनै काम नहुँदा एसईई दिएर पैसा कमाउन भारत जानु उनीहरूको बाध्यता नै हो ।
रुकुम जिल्लाका अधिकांश ठाउँका विद्यार्र्थी एसईई सकिएपछि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । एसईईको रिजल्ट तीन महिनापछि असारमा आउने भएकाले केही पैसा कमाउने भनेर प्रायजसो विद्यार्र्थीहरू भारत जाने गर्दछन् । भारतको केरला, ब्याङ्लोर तथा हिमाञ्चल प्रदेशमा काम गरेर दशंैमा घर फर्कने गर्दछन् ।
यसरी भारत जानेमा प्रायजसो रुकुमका ग्रामिण भेगका विद्यार्र्थीहरू रहेका छन् । भारतमा गएका विद्यार्र्थीमध्ये कतिपय उतै बस्ने र पढाइ छोड्ने गरेका छन् । ग्रामीण भेगमा रहेका विद्यालयमा भर्ना भएका विद्यार्र्थीको संख्या जतिकै विद्यार्थीहरू उपस्थित नहुने कारणको रुपमा विद्यार्र्थी भारत पैसा कमाउन जानु हो । प्रायजसो सरकारी विद्यालयका विद्यार्र्थीहरू नै भारत पलायन हुने गरेका छन् ।
आर्थिक अवस्था सबल भएका केही विद्यार्र्थीहरू सदरमुकाम खलंगा वा अन्य सहर पढाइकै सिलसिला या घुमफिरमा लागे पनि आर्थिक अवस्था कमजोर भएकाहरू भने भारत कमाउन जानु बाध्यता रहेको उनीहरू बताउँछन् ।
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्वर २ का विरेन्द्र खत्री भारत जान दाङसम्मको टिकट काट्नको लागि खलंगा काउन्टरमा थिए । विरेन्द्रले हाल सम्पन्न एसईई दिएर भारत जान लागेको बताए । उनीसँगै उनका धेरै साथीहरू पनि थिए । बिहानै मुसिकोटमा पुगेका विद्यार्थी करिब २८ जना भारत जानको लागि घरबाट हिँडेको बताउँछन् । भारत जानको लागि हिँडेका सबैजसो एसईई परीक्षा दिएका थिए भने कोही कक्षा ८ र ९ को परीक्षा दिएका विद्यार्र्थीहरू पनि थिए ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफू भारतको केरला जान लागेको विद्यार्र्थी लालबहादुर नाथले बताए । “परीक्षा सकियो, बेकारको घर बसाइ भन्दा भारत गएर पैसा कमाउन सकिने सम्भावना देखिएपछि त्यता लागियो,” उनले भने, “तीन चार महिना भारतमा काम गरेर पैसा कमाउने र रिजल्ट आएपछि त्यही पैसा खर्च गरेर पढाइमा जोडिने योजना छ ।” सबै अभिभावकको सहमतिमै आफूहरू भारत जान लागेको बताउँछन् ।
त्यस्तै अर्का विद्यार्र्थी अनिल पौडेलले भने साथीहरूको लहैजहैमा भारत जान लागेको बताए । “हाम्रो गाउँघरमा धेरै साथीहरू भारतमा जाने गरेका छन्, म पनि कस्तो कमाइ हुने रैछ भनेर जान लागको हँु,” उनले भने । भारत जाने अधिकाशंको भनाइ यस्तै हुने गरेको छ ।
मेगराज खड्का

प्रतिक्रिया दिनुहोस्