प्रदेश नम्बर ५ को नीति तथा कार्यक्रम आज

प्रदेश नम्बर ५ को आर्थिक वर्ष २०७४-०७५को नीति तथा कार्यक्रम आइतबार (आज) आउँदैछ । प्रदेश नम्बर ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्नुका साथै २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
प्रवक्ता चौधरीका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही बुँदाहरुमा परिवर्तनसहित पारित गरेको थियो । बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय गरेसँगै आइतबारको प्रदेश सभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख झाले बाचन गर्नेछन् ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि एक अर्ब दुई करोड बराबरको बजेट ल्याउँदैछ । प्रदेश सरकारले यस आर्थिक वर्षको बाँकी महिनाका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगरे खर्च गर्न नपाउने भएकाले पनि कार्यक्रम आउन लागेको हो । विनियोजन ऐन वा पेश्की खर्च ऐन जारी भएपछि मात्र खर्च गर्न अधिकार प्राप्त कार्यालयले वार्षिक कार्यक्रमको आधारमा खर्च गर्न सक्ने भएकाले चालू आर्थिक वर्षको बाँकी महिनाको लागि बाध्य भएर नीति तथा कार्यक्रम र बजेट आउन लागेको हो । बजेट भने चैत २९ गते आउने भएको छ ।