नेपाल र भारतबीच रेलमार्ग, जलमार्ग र कृषिमा सहकार्य «

नेपाल र भारतबीच रेलमार्ग, जलमार्ग र कृषिमा सहकार्य

नेपाल र भारतबीच भारतको रक्सोलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने, जलमार्गबाट दुवै देशलाई जोड्ने तथा कृषि क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । कुनै पनि नयाँ सम्झौता नगर्ने र पुरानै सम्झौता कार्यान्वयनमा जोड दिने एवं मित्रता प्रगाढ बनाउने भन्दै शुक्रबार भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले यी नयाँ क्षेत्रमा सहयोगको हात अघि बढाएका हुन् । शनिबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्ति अन्ुसार भारतले रक्सोलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माणमा सहयोग गर्ने सहमति भएको छ ।
नेपाल र भारतले जारी गरेका १२ बुँदे संयुक्त वक्तव्यमा समेटिएका तीन नयाँ समझदारीमा रेलमार्गबाहेक कृषि क्षेत्रमा सहकार्य गर्ने र जलमार्गबाट नेपाललाई समुद्रसँग जोड्ने विषय पनि उल्लेख गरिएको छ ।
कृषिसम्बन्धी समझदारीअनुसार नेपाल र भारतले संयुक्त रूपमा कृषि क्षेत्रको विकासमा काम गर्ने जनाइएको छ । जसअनुसार दुवै देशले माटोको स्वास्थ्य, नयाँ बीउबिजन उत्पादन, अग्र्यानिक फार्मिङ, पशुपालन, कृषि अनुसन्धान एवं कृषि शिक्षामा सहकार्य गर्नेछन् ।
यस्तै, भारतीय प्रधानमन्त्री मोदीे प्रधानमन्त्री ओलीको नेपालमा पानीजहाज चलाउने तथा रेल गुडाउने दुवै सपना पूरा गर्न पनि तयार भएका छन् । १२ बुँदे संयुक्त वक्तव्यको ९औं बुँदाअन्तर्गतको तेस्रो बुँदामा समेटिएको जलमार्गको विकासबारे अलग्गै जारी २ बुँदे समझदारीअनुसार नेपालले अब कार्गोहरूको ढुवानी जलमार्गमार्फत् गर्न पाउने छ । ‘व्यापार तथा पारवहन सम्झौताअन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको थप पहुँच दिन दुवै देशका प्रधानमन्त्री सहमत भएका छन्,’ उक्त समझदारीमा लेखिएको छ । यस्तै, व्यापार तथा पारवाहन सम्झौतामा जलमार्गसम्वन्धी व्यवस्था समेट्न संशोधनका लागि दुई देशबीच आवश्यक गृहकार्य गर्ने पनि समझदारीमा उल्लेख छ ।
संयुक्त पत्रकार सम्मेलनमा नेपाली तथा हिन्दी मिसाउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसँग सिधै जोडिने भएकाले नेपाल अब भूपरिवेष्ठित राष्ट्र नरहेको बताए । नेपालको सम्पर्क सिधै समुन्द्रसँग हुने भन्दै उनले सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिने जनाए । “जलमार्ग प्रयोगमा आएपछि नेपाल ल्यान्डलक होइन, वाटरलिंक राष्ट्र हुनेछ,” उनले भने ।
यसैगरी, मोदीले कनेक्टिभिटीको एक आयाम व्यापार र मानिसहरूको आवागमनको इन्फ्रास्क्ट्रचरसँग जोडिएको हुन्छ भन्दै वीरगञ्जको रक्सोल एकीकृत चेकपोष्टको संयुक्तरूपमा उदघाटन गरिएको पनि जानकारी दिए । “यो आइसीपी भारत र नेपालको सदियौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ,” उनले भने ।
मोदीले भारतको ‘सबैको साथ सबैको विकास’ नीतिअनुसार भारतले छिमेकीहरूलाई सहयोग गर्ने बताएका थिए । साथै, मोदीले केपी ओली र आफ्नो विकास अभियानसम्बन्धी भिजन एकै प्रकारको रहेको बताउन पनि भ्याए । उक्त अवसरमा भारतको सुरक्षा चासोलाई सम्बोधन गर्दै ओलीले सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको भन्दै सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि दुवै देश मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
मोदीले पनि आफनो सम्बोधनमा सदाझैं भारत र नेपालबीच रक्षा र सुरक्षाका चासो राख्दै दुबै देश आफ्ना खुल्ला सीमाको दुरूपयोगलाई रोक्ने र साझा सुरक्षा हितहरूलाई अगाडि बढाउनेबारे सहमत रहेको जनाएका थिए ।
भारतले नयाँ नयाँ सहमति गर्ने तर कार्यान्वयमा चासो नदिने आरोप लागिरहेकोले यसअघि नेपालमा निर्माण गर्ने सहमति भएका पञ्चेश्वरलगायतका आयोजनाहरूलाई गति दिने पनि १२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्