डुवान समस्या समाधान गर्ने प्रतिवद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुवान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् । ३ दिने भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँगै जारी १२ बुँदे संयुक्त प्रेस विज्ञप्तिपछि सम्बोधन गर्दै डुवान समस्या समाधानबारे धारणा राखेका हुन् । पछिल्लो ६ वर्षमा ६ वटा प्रधानमन्त्री भारतीय भ्रमणमा गएपनि ओलीले यसपटक भने डुवास समस्या समाधान गर्नुपर्नेमा आफ्ना समकक्षी मोदीसँग छलफल गरेका हुन् ।
शनिबार भरतीय प्रधानमन्त्री मोदीसँगै संयुक्त बक्तव्य जारीपछि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, “हरेक वर्ष नेपालले वर्षात्को समयमा डुवान समस्या भोग्नु परेको छ र त्यसको समाधान खोज्न हामी दुवै पक्षले जोड दिएका छौं ।” नेपाल र भारतका प्राविधिक टोलीले गरेको सर्वे अनुसार भारतले डुवानपीडित नेपालीलाई राहत तथा क्षतीपूर्ती बापत मात्रै ३ अर्ब भन्दा बढी रकम दिन बाँकी छ । हरेक वर्ष क्षतीपूर्तीबापत सीमा क्षेत्रका पीडित नतेपालीले पाउने रकम बढ्दै गएपनि भातीय पक्षले भुक्तानी दिन मानेको छैन ।
गतवर्ष गृहसचिवस्तरीय बैठकमा पनि यो विषय उठेको थियो । तर माथिल्लो तहमा कुरा गर्ने भन्दै भारतीय पक्षले नेपालको प्रस्तावमा चासो नै दिएको थिएन ।
यसअघिका भारत भ्रमणमा गएका प्रधानमन्त्रीले सम्बोधनका क्रममा डुवान समस्याबारे केही बोलेका थिएनन् । भारतले नेपालसँग सीमा जेडिएका २० भन्दा बढी स्थानमा अन्तर्राष्ट्रिय सन्धीसम्झौताको ठाडो उल्लंघन गर्दै एकतर्फी भौतिक संरचना निर्माण गर्दा वर्षात्को समयमा नेपालको हजारौं हेक्टर जमीन डुवानमा पर्नुका साथै ५० हजार भन्दा बढी नागरिक विस्थापित हुने गरेका छन् ।