संविधानको जगमा तला थप्न कांग्रेसलाई मत ः गगन

नेपाली कांग्रेसका नेता गगन थापाले संविधान बनाउने प्रतिवद्धता कांग्रेसले पूरा गरेको भन्दै संविधान कार्यान्वयनका लागि कांग्रेसलाई मत दिन आग्रह गरेका छन् । नेपाल लोकतान्त्रिक शेर्पा संघले बुधबार कपनमा आयोजना गरेको कार्यक्रममा काठमाडौं ४ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका थापाले संविधानसभाको निर्वाचनमा जाँदा मतदातासँग गरेको बाचाअनुसार नै कांग्रेसले आफ्नो नेतृत्वमा संविधान जारी गरेको स्मरण गराए ।
“हामी संविधान बनाउँछौं । कांग्रेसलाई मत दिनुस् भनेर भन्यौं र जिम्मेवारी पूरा पनि गर्यौं,” उनले भने, “अब संविधानले हालेको जगमाथि तला थप्न कांग्रेसलाई मत दिनुस् । संविधानलाई व्यवहारमा रुपान्तरण गर्दै देशलाई समृद्धिको बाटोमा लैजानेछौं ।”
बाम गठबन्धनका केपी ओली र पुष्पकमल दाहाल सामथ्र्य नपुगेर मात्र अतिवादमा नगएको कुरा उनीहरु स्वयंले बताउने गरेको भन्दै थापाले संविधानको कार्यान्वयनका लागि कांग्रेसलाई मत दिन आग्रह गरे । कांग्रेसकै कारण सबै जाती, धर्मको अधिकार संविधानमा सुरक्षित भएको भन्दै राज्यका हरेक निकायमा सबै जातीले आफ्नो ऐना देख्न पाउने अवस्था निर्माणका लागि पनि कांग्रेसको जीतआवश्यक भएको थापाको भनाइ थियो ।
कार्यक्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बराम, नेता कर्माछिरिङ शेर्पा, आदिवासी जनजाती विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा र लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा ठिले शेर्पाले जनजातीको अधिकार लोकतन्त्रमा मात्र सुरक्षित हुने भन्दै समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि कांग्रेसको पक्षमा जनजातीहरुले मतदान गर्ने बताए । काठमाडौं ४ मा करिब ४ हजार शेर्पा मतदाता छन् ।