पोखरामा आलु महोत्सव सुरु «

पोखरामा आलु महोत्सव सुरु

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषिबाटै आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । बिहीबारदेखि पोखराको हेमजामा सुरु भएको नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ को उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्बर ४ मा पर्यटन, जलविद्युत्का साथमा कृषिको समेत अथाक सम्भावना भएको उल्लेख गर्दै कृषिबाट पनि आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।
देश विकास गर्न अब कसैले कसैलाई दोष दिएर उम्कन नपाउने भन्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्बर ४ मा कृषि उत्पादन बढाउन कृषिलाई आधुनिक तथा यात्रिकीकरण गर्नुपर्ने बताए । “हामी अहिले नीति निर्माण गर्न जुटेका छौं,” उनले भने, “अन्नवाली, फलफूल र तरकारीमा कम्तीमा पनि पहिला आत्मनिर्भर बनाउने र त्यसपछि हेमजा जस्ता क्षेत्रलाई पटेक क्षेत्र घोषणा गर्ने तयारीमा छौं ।” प्रदेश नम्बर ४ लाई अग्र्यानिक कृषि जोनको रूपमा पनि विकास गर्न सकिने उनले बताए ।
मुख्यमन्त्री गुरुङले पाँच वर्षमा कम्तिमा ३ सय होमस्टे (घरवास कार्यक्रम) सञ्चालनमा ल्याउने घोषणा गरे । उनले ५ वर्षमा यो प्रदेशमा कम्तिमा २४ लाख पर्यटक भित्र्याउने योजना रहेको जानकारी । “सन् २०२१ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि विदेशी पर्यटक भित्र्याउन प्रदेश सरकारले सन् २०२२ लाई पर्यटन भ्रमण वर्षको रूपमा मनाउने भएका छौं,” उनले भने “त्यसका लागि गृहकार्य सुरु गर्न लागेका छौं ।” उनले अबको १० वर्षभित्रै प्रदेशलाई विकासमा कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चैत ३० गतेसम्म सञ्चालन हुने महोत्सवमा आलुको ठूलो पहाड, आलु तथा कृषि उत्पादनका परिकार, कृषि प्रदर्शनी, कृषि उत्पादन बिक्री वितरण, व्यापारिक, प्राथमिक उपचार, बैंकिङ कारोबार, मनोरञ्जन गरी १ सय स्टल राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले बताए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाडौंको आयोजनामा महोत्सव शुरु भएको हो । महोत्सव उद्घाटन अघि मिलन चोकबाट झाँकीसहितको ¥याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्