उद्योगको विकास दाङ «

उद्योगको विकास दाङ

दाङमा पछिल्लो समयमा उद्योगको विकास हुँदै गएको छ । ठूला तथा साना उद्योगहरू स्थापना हुन थालेका छन् । जसले गर्दा जिल्ला आर्थिक समृद्धिको अभियानमा अगाडि बढ्दै गएको छ । अहिले उद्योगमा लगानी गर्ने र स्वरोजगार बन्ने क्रमसमेत सुरु भएको छ । जिल्लामा चालू आव ०७४-७५ को ६ महिनाको अवधिमा उद्योग क्षेत्रमा ६१ करोड बढी लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा ४९१ वटा उद्योगमा यो रकम लगानी भएको हो । कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीका अनुसार घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा ६ महिनाको अवधिमा ६१ करोड ६० लाख ८२ हजार ७३८ रुपैयाँ लगानी भएको छ । यसरी दर्ता भएका उत्पादनमूलक उद्योग ८८ वटा छन् । जसमा १४ करोड ६४ लाख ३० हजार ४५० रुपैयाँ लगानी भएको छ । सेवामूलक उद्योग ९३ वटा दर्ता भएका छन् । जसमा २४ करोड ७२ लाख ७५ हजार ६८८ रुपैयाँ लगानी भएको छ । त्यसैगरी कृषि वन्य जन्य उद्योगमा २२६ वटा दर्ता भएका छन् । जसमा १८ करोड ४५ लाख ९ हजार १ सय रुपैयाँ लगानी भएको छ । पर्यटन उद्योगतर्फ ८४ वटा दर्ता भएको छ । जसमा ३ करोड ७८ हजार ६७ हजार ५ सय लगानी भएको छ । पछिल्लो समयमा जिल्लामा स्वरोजगार बन्नेको संख्यासमेत बढ्दै गएको छ । स्वरोजगारसँगै उद्योग दर्ता गर्नेको समेत संख्या वृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
जिल्लामा औद्योगिक क्षेत्रको स्थापनको प्रक्रियासमेत अगाडि बढेको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ र ५ मा स्थापना हुने औद्योगिक क्षेत्र बनाउने गरी कामसमेत अगाडि बढेको छ । यस क्षेत्रमा सम्भाव्यता अध्ययनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रतिवेदन तयार गर्नका लागि बीडीए, एडीए एमसीजेभी कम्पनीलाई जिम्मा दिएको छ । उक्त कम्पनीले तयार बनाएको प्रतिवेदनअनुसार अगाडि बढने छ । उक्त कम्पनीका प्रतिनिधि जिल्लामा आएर संभाव्यता सुरु समेत गरी सकेका छन । उक्त स्थानमा औद्योगिक क्षेत्र बनाउनका लागि जिल्लामा सर्वदलीय र सर्वपक्षीयबाट सहमतिसमेत भइसकेको छ । औद्योगिक क्षेत्र बनाउने भनेको स्थानमा अहिले ३७१ हेक्टर जमिनको अध्ययन भइरहेको दाङ उद्योग वाणिज्य संघले जनाएको छ । सरकारले औद्योगिक क्षेत्र स्थापना गर्नेका लागि सम्भाव्यता अध्ययनका लागि १७ लाख ९० हजार रकम विनियोजन गरिसकेको छ । अध्ययन सुरु भएंँगै औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रियासमेत अगाडि बढेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । “यस कार्यका लागि सबै क्षेत्रको सकारात्मक सहयोग रहेको छ,” अध्यक्ष भुसालले भने । औद्योगिक क्षेत्र स्थापना गर्ने अवसरको रूपमा रहेको बताए ।
ठूला उद्योगका रूपमा जिल्लामा सिमेन्ट उद्योगहरू स्थापना भएका छन् । जसले गर्दा दाङ जिल्ला पछिल्लो समय सिमेन्ट उद्योगको केन्द्र बन्न थालेको छ । दाङको पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै सिमेन्ट उद्योगहरू स्थापना भएका हुन् । जसले गर्दा दाङ सिमेन्ट उद्योगमय बन्दै गएको छ । २०६५ सालदेखि दाङमा स्थापना हुन लागेका सिमेन्ट उद्योग हालसम्म आइपुुग्दा सात सिमेन्ट उद्योग स्थापना भएका छन् । यीमध्ये केहीले उत्पादनसमेत थालिसकेका छन् भने केही उत्पादनको तयारीमा छन् । केही व्यवस्थापनको चरणमा रहेको पाइएको छ । यसरी जिल्लामा स्थापना भएका उद्योग १ अर्बदेखि १० अर्बसम्मको लगानी रहेको पाइएको छ । जिल्लामा सिमेन्ट उद्योगमा मात्रै ४५ अर्बभन्दा माथिको लगानी रहेकोे देखिएको छ । उद्योग मन्त्रालयमा पनि सोहीअनुसार लगानी पेश गरिएको छ । जिल्लामा स्थापना भएको घोराही सिमेन्ट, सोनापुर सिमेन्ट उद्योगले केहि वर्ष अघिदेखि नै आफ्नो उत्पादन बजारमा ल्याइसकेका छन् भने सम्राट सिमेन्ट उद्योगले केही समय अघिदेखि मात्र आफ्नो उत्पादन बजारमा ल्याएको जनाएको छ । त्यसै गरेर दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा स्थापना भएको शुुभश्री अग्नि सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जनाएको छ । दर्ता भएका केही सिमेन्ट भने सञ्चालनमा आउन सकेका छैनन् ।
जिल्लामा आफ्नो उत्पादन गरिरहेका उद्योगहरूले पनि स्थापनाको तुलनामा दोब्बर उत्पादन गर्न थालेका छन । ४ अर्बबाट सुरु गरेको सोनापुर सिमेन्टले आफ्नो लगानी बढाएर अहिले १० अर्ब पुराएको र उत्पादन पनि दैनिक ८ सय बोराबाट बढाएर २० हजार बोरा पुराएको उद्योगमा महाप्रबन्धक हरि पाठकले जानकारी दिए । त्यसैगरी क्लिङकर उत्पादन पनि दोब्बर बढाएको पाठकले जानकारी दिए । उद्योगमा १ हजार ५ सय जना व्यक्तिले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगार पाएको बताए । त्यसैगरी ६ अर्बबाट उत्पादन सुरु गरेको घोराही सिमेन्ट उद्योगले पनि आफ्नो स्थापनाभन्दा आफ्नो लगानी र उत्पादन बढाएको बताएको छ । उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले उत्पादन दैनिक २४ हजार बोरा पुराएको बताए । यसअघि उद्योगले दैनिक १२ हजार वोरा उत्पादन गर्दे आएको थियो । उद्योगको लगानी ६ बाट झण्डै १० अर्ब पुुगेको छ । उद्योगमा एक हजार जना ब्यक्तिहरूको रोजगारी सिर्जना भएको छ । जिल्लामा सिमेन्ट उद्योगहरू बढ्दै गएपछि सिमेन्ट आयातसमेत घटेको छ । जिल्ला सिमेन्टमा आत्मनिर्भर भएको र जिल्लामा उत्पादन भएको सिमेन्ट अन्य जिल्लामा निकासी भइरहेको उद्योगहरूले बताएका छन् । उद्योग सञ्चालनकहरूले उद्योग सञ्चालनमा सरकारी पूर्वाधार पूरा नहुदा केही समस्या भएको समेत बताउँदै आएका छन् । विद्युत्, खानीसम्मको सडक नहुँदा उद्योग सञ्चालनमा केही समस्या आएको उनीहरूको गुनासो छ । उद्योग सञ्चालन भएपछि स्थानीय बासिन्दाहरूले समेत रोजगारीको अवसर प्राप्त गरेका छन् । अन्य व्यसायलाई समेत सहयोग पुगेको छ भने उद्योग र स्थायीवासीन्दा बीच पटकपटक विवादसमेत हुदै आएको छ ।
अमरराज आचार्य 

 

प्रतिक्रिया दिनुहोस्