नक्कली गहना धितो राखेर ठग्ने ६ पक्राउ

झापाको बिर्तामोडस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बिर्तामोड शाखा र धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा नक्कली सुनको गरगरहना धितो राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले ६ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ की ३८ वर्षीया मिनादेवी खड्का, झापा मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, झापा बिर्तामोड–३ का ४३ वर्षीय राम कुमार तामाङ, झापा बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, झापा मेचीनगरपालिका–१२ का ४९ वर्षीय गणेश प्रधान र झापा मेचीनगरपालिका–१० का ३३ वर्षीय प्रवेश अधिकारी रहेका छन् ।
विभिन्न मितिमा झापाको बिर्तामोडस्थित राष्ट्रिय वाणिज्य वैंक लिमिटेड बिर्तामोड, धुलावारी शाखा र नेपाल वैंक लिमिटेडको धुलावारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा पक्राउ परेका ६ जना मध्ये तीन जना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला अदालत झापाको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का , मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, बिर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङ पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।