एमाले–माओवादी एकता ९ वैशाखमा, विवादित विषयमा छलफल नै भएन

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता हुने भएको छ । लामो समयको रस्साकसी र छलफलपछि दुई पार्टीले वैशाख ९ गते एकता घोषणा गर्न लागेका हुन् । बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ गते एकता गर्ने गरी तयारी थाल्ने निर्णय गरेको हो । तीर्थराज बस्नेत
एकताका विषयमा विभिन्न अशंका र टिप्पणी भइरहेका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको तयारी थाल्न एमाले र माओवादीलाई निर्देशन दिएको हो । एकताको तयारी थाल्न निर्देशन दिइए पनि बैठकमा विवादित विषयमा छलफल भने नभएको एक नेताले जानकारी दिए । “वैशाख ९ गते एकता गर्न तयारी थाल्न निर्देशन दिइएको छ,” उनले भने, “सहमति जुट्न बाँकी विषयमा भने आजको बैठकमा छलफल नै भएन ।” बैठकमा नेताहरूले कार्यदलको संगठन र अन्तरिम विधान मस्यौदाबारे आफ्नो धारणा राखेका थिए ।
दुई पार्टीबीच केन्द्रीय तहदेखि स्थानीय तहसम्म सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दबारे सहमति जुट्न सकेको छैन । संगठन कसरी मिलाउने भन्नेबारेमा दुई पार्टीबीच सहमति जुट्न सकेको छैन । माओवादीले समानताका आधारमा (५०–५०) प्रतिशत हैसियतमा मात्र एकता गर्न सकिने प्रस्ताव अघि सारेको छ । तर, एमाले माओवादीको प्रस्ताव मान्न तयार देखिएको छैन । एमाले चुनावी आँकडाका आधारमा अनुपात मिलाउने पक्षमा छ ।
एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ । प्रस्तावअनुसार नेता व्यवस्थापन गर्न चुनौति रहेको बताइन्छ ।
त्यसैगरी नयाँ पार्टीको चुनाव चिन्हमा पनि सहमति जुट्न सकेको छैन । एमालेले सूर्यलाई यथावत राख्न भनेको छ भने माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्रले १० वर्षे माओवादी ‘जनयुद्ध’ लाई पार्टीको कार्यदिशा उपलब्धि मान्नुपर्ने बताउँदै आएको छ, जुन एमाले मान्न तयार देखिएको छैन ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकेर स्वदेश फर्केपछि संयुक्त बैठक बसेर विवादित विषयलाई टुंग्याइने ती नेताले जानकारी दिए । ओलीले यही चैत २३ गतेदेखि तीनदिने भारतको राजकीय भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
वैशाख ९ गते एकता गर्ने सहमति भएको छः दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वैशाख ९ गते पार्टी एकता गर्ने सझदारी भएको बताएका छन् । निजी निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९ गते एकता हुने बताएका हुन् ।
“अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुंग्याएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ,” उनले भने, “शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना छ ।”
कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको कुरा उल्लेख रहेको उनको भनाइ छ । “अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ,” उनले भने । रौतहटबाट दुई दर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।