राजस्व परामर्श समिति गठन

प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले विज्ञहरू सम्मिलित दुईवटा समिति बनाएको छ ।
प्रदेशको आर्थिक, वित्तीय र राजस्वसम्बन्धी संरचना, करका दरहरू, राजस्वनीति तथा कार्यक्रमलाई मन्त्रालयमा सिफारिस गर्ने गरी राजस्व परामर्श समिति र बजेट सुदृढीकरण कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव प्रल्हादप्रसाद सापकोटाको संयोजकत्वमा डा. रमेश अधिकारी, डा. रमेश दाहाल र डा. कृष्ण अग्रवाललाई विशेषज्ञका रुपमा समितिमा राखिएको छ ।
समितिमा जिल्ला समिति संयोजकहरूमध्येबाट इलामका गणेश बराललाई सदस्य तोकेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले सिफारिस गरेका एकजना उद्योगी पनि समितिमा रहनेछन् । समितिले राजस्वसम्बन्धी कार्यालयहरूबीच समन्वय गराई राजस्वसम्बन्धी सूचनाहरूको संकलन एवं प्रशोधन गरी प्रदेशको एकीकृत राजस्व नीति तयार गर्न सहयोग गर्नेछ । त्यस्तै प्रदेश राजस्व प्रशासन संरचना निर्माण तथा सुधारका लागि आर्थिक मामिला तथा योजनामन्त्रीसमक्ष सिफारिस गर्ने जनाइएको छ । मन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी समिति गठनबारे जानकारी गराए । उनका अनुसार राजस्व प्रविधिमैत्री बनाउन गर्नुपर्ने कार्यक्रमहरू पनि समितिले सिफारिस गर्नेछ ।
मन्त्रालयले बजेट सुदृढीकरण कार्यदल पनि गठन गरेको छ । कार्यदलको संयोजकमा अर्थशास्त्री प्रमोदकुमार (पीके) झा संयोजक तोकिएका छन् । डा. अर्जुन बराल, नारायण सापकोटा, मन्त्रालयका उपसचिव गोपाल खत्री, हरिहर पौडेललगायत सम्मिलित ७ सदस्यीय कार्यदल बनाइएको छ । प्रदेश सरकारको आर्थिक अधिकार कर तथा गैरकर राजस्वअन्तर्गत करदातामैत्री कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक मस्यौदाका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने, विविध आर्थिक सूचकहरूको विश्लेषण गरी वैज्ञानिक कर प्रणाली अवलम्बन गर्ने उपयुक्त करका दरहरू तथा तिनीहरूको दायरा विस्तार गर्न सुझाव सिफारिस गर्ने जनाइएको छ । कार्यदलले प्रदेश कर तथा गैरकर राजस्व प्रशासन गर्ने कार्यका लागि आवश्यक पर्ने संगठन संरचना, जनशक्ति तथा प्रक्रिया सम्बन्धमा सुझावसहित सिफारिस गर्नेछ ।
यसैबीच, प्रदेशसभाले पारित गरेको ‘प्रदेश आर्थिक कार्यविधि विधेयक–२०७४’ प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले बिहीबार नै प्रमाणीकरण गरे । आर्थिक कार्यविधि विधेयक प्रमाणीकरण भएसँगै अब प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । प्रदेश सरकारले बजेट २९ गते ल्याउँदैछ ।