मुलुकको हीरा «

मुलुकको हीरा

पश्चिम नेपालका ६ र मध्य पश्चिमका ६ जिल्ला मिलाई बनाइएको प्रदेश नम्बर ५ लाई नेपालकै हिरा खानीभन्दा अन्युक्त नहोला ।
पछिल्लो समय प्रदेशमा लगानीकर्ताहरू आउने क्रम अझै बढेको छ । विशेष गरी दुई वर्षअघिको तराई-मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका क्रममा रुपन्देहीको भैरहवा नाका देशकै लाइफलाइनका रुपमा रह्यो । पूर्वबाट लगानीकर्ताहरू आउन थालेका हुन् ।
पर्यटनमा विश्वकै ध्यानाकृष्ट गरेको गौतमबुद्ध जन्मस्थल लुम्बिनी, राजा शुद्धोधनको कपिलवस्तु दरबार क्षेत्र, कपिलवस्तुका विभिन्न बुद्धकालीन सम्पदाहरू, बुद्धको मावलीघर देबदह र बुद्ध धातु (मृत्यु पछिको शरीरको कुनै भाग ) रहेको रामग्राम स्तुपले विश्वभर रहेका डेढ अर्बभन्दा बढी जनसंख्या भएका बौद्धमार्गीहरूको ध्यान आकृष्ट गर्न सक्छ ।
लुम्बिनीमा डेढ अर्ब रुपैयाँ लगानी हुनसकेमा वार्षिक ३० लाखभन्दा बढी पर्यटक आउन सक्छन् । ३० लाख पर्यटक भनेको चानचुने कुरा होइन । यसले देशको समृद्धिको मार्गचित्र कोर्छ । त्यसैले पनि यस प्रदेशलाई हीरा खानीका रुपमा उल्लेख गरिएको हो ।
त्यस्तैगरी यस प्रदेशमा रहेका अन्य पर्यटकीय स्थलमा प्रसिद्ध त्रिवेणीधाम, प्युठानको स्वर्गद्वारी, पाल्पा भैरवस्थान, गुल्मीको ऋषिकेश मन्दिर, रेसुंगा, अर्घाखाँचीको सुपा देउराली, वाइल्डलाइफ टुरिजमका लागि विश्व प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज, रोल्पा, रुकुम, दाङका पर्यटकीय सम्पदा हुन् । विश्वमा नेपाललाई चिनाउने भगवान गौतमबुद्ध जन्मेको स्थल यही भएकाले पनि यो प्रदेश विश्वभर बुद्ध जन्मभूमिको प्रदेशका नामले चिनिँदै आएको छ । त्यसैले प्रदेश पाँच पर्यटन क्षेत्रका लागि छ ।
त्यस्तै गरी प्रदेश पाँचमा पूर्वाधार उद्योग तथा विकास निर्माण सम्बन्धी सामग्री उत्पादन गर्ने उद्योगहरू (सिमेन्ट र छड) प्रशस्त छन् । रोजगारी सिर्जना, राजस्व वृद्धि र देशकै आर्थिक क्षेत्र चलायमान र गतिशील बनाउन निकै मद्दत पुगेको छ ।
उद्योगै–उद्योग
रुपन्देहीमा मात्रै एक दर्जन सिमेन्ट उद्योग, आधा बढी दर्जन छड स्टिल उद्योग छन् । त्यस्तै नवलपरासीमा २ छड स्टिल र ३ सिमेन्ट उद्योग छन् भने कपिलवस्तुमा ५, दाङमा ३, बाँकेमा २ सिमेन्ट र २ स्टिल उद्योग छन् । त्यस्तै पहाडी जिल्लाहरूमा लघु तथा घरेलु उद्योगले महत्व पाउँदै आएका छन् । यस क्षेत्रका पहाडी जिल्लामा चुनखानी अत्यधिक रहेकाले सिमेन्ट बनाउन भारतबाट चुनढुंगा आयात गर्नुपर्ने बाध्यता बिस्तारै हट्दै गएको छ । देशका कुल उद्योगमध्ये १२.०९ प्रतिशत उद्योग यो प्रदेशमा छ । प्रदेशमा भएका उद्योगहरूमा देशका कुल उद्योगको पुँजीको ८.७१ प्रतिशत लगानी छ ।
कृषिमा फड्को
कृषिका लागि यो प्रदेश देशमै अगाडि छ । धान र गहुँ देशमै बढी फल्ने जिल्लाका रूपमा रुपन्देही छ भने नवलपरासी, कपिलवस्तु र बाँके, बर्दियामा पनि प्रशस्त धान गहुँ उत्पादन हुन्छ । अन्नका लागि यो प्रदेश आफैमा आत्मनिर्भर छ । राष्ट्रिय योजना आयोगको सन् २०१५ को तथ्यांकअनुसार प्रदेश नम्बर पाँचमा कृषिजन्य वस्तुहरू देशको कुल उत्पादनको १७.६२ प्रतिशत उत्पादन हुने गरेको छ । प्रदेशको कुल क्षेत्रफल मध्ये ५ लाख ८ हजार ३ सय २७ हेक्टर जमिन कृषिजन्य भूमिका रूपमा छ । यो क्षेत्रफलमध्ये २ लाख ५२ हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । अन्यमा आकाशे पानी र अरू वैकल्पिक माध्यमबाट सिँचाइ हँुदै आएको छ । बाँकेको बबई नदीमा निर्माणधीन सिक्टा सिँचाइ परियोजनालगायत रुपन्देहीको तिनाउमा कालीगण्डकी डाइभर्सनजस्ता महत्वकांक्षी प्रस्तावित योजना ल्याउन सकिए यस क्षेत्रमा कृषि उपजका लागि एक नम्बरमा आउनेमा दुईमत छैन ।
शिक्षा स्वास्थ्यमा पनि सुधार
शिक्षा स्वास्थ्यका लागि पनि यो प्रदेश नमुना बन्दै गएको छ । पाल्पा, रुपन्देही र बाँकेमा गरी ४ वटा शिक्षण अस्पताल(रुपन्देहीको देबदहमा पढाइ सुरु छैन) छ । त्यस्तै गरी अन्य ठूला नर्सिङ होम पनि दर्जनौं छन् । पहाडी जिल्लाका तुलनामा तराई मधेशमा बढी अस्पतालहरू रहेका छन् । उपचार केन्द्र बढी हुँदा सबैलाई उपचार गर्न सजिलो भएको छ । त्यस्तै दर्जनौं प्राविधिक शिक्षालय, देशकै पहिलो बौद्ध विश्वविद्यालय, संस्कृत विश्वविद्यालय यस प्रदेशका गहना हुन भने कलेज स्तरसम्मका पढाइका लागि राजधानी जानु पर्ने बाध्यताको अन्त्य भएको छ । गुणस्तरीय शिक्षाका लागी प्रदेश उत्कृष्ट छ ।
पूर्वाधार निर्माणमा तीब्रता
यो प्रदेशमा सडक सञ्जालले एकआपसका सबै जिल्लाहरू जोडिन पुगेको छ । जसले गर्दा सहज रुपमा यातायात सञ्चालनमा छ भने एक जिल्लामा उत्पादित कृषि उपजहरू अन्य जिल्ला र अरु प्रदेश तथा केन्द्रमा सजिलै पठाउन सकिन्छ । प्रदेशका मुख्य शहरका रुपमा रहेको अस्थायी राजधानी, बुटवल, भैरहवा, नेपालगञ्ज, तुलसीपुर, घोराहीभित्र बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै विभिन्न विकास साझेदारको ऋण तथा आर्थिक सहयोगमा सडक विस्तार, ढल नालालगायतका भौतिक पूर्वाधार निर्माण तिब्र भएका छन् । बेलहिया(भैरहवा)– बुटवल २३ किमिलामो सिक्सलेन सडक निर्माणाधीन छ भने नेपालगन्ज कोहलपुर सिक्सलेन सडक निर्माण सम्पन्न छ । त्यसै गरी भैरहवा लुम्बिनी हुदै तौलिहवासम्म सडक चोडा गर्ने कार्य सुरु भैसकेको छ । नेपालगञ्जमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण घोषणा भएको छ भने रुपन्देहीको तिलोत्तमामा नँया औद्योगिक क्षेत्र निर्माणका लागी डीपीआर तयार भएको छ । पहाडी जिल्लाहरूमा पनि त्यहाको भौगोलिक अबस्थाको आधारमा लघु तथा घरेलु उद्योग खुल्ने क्रम तिब्र भएको छ ।
चासो गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
यो प्रदेशलाई समृद्धतातर्फ लैजाने मुख्य मार्गचित्रका रुपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छ । सन् २०१९ भित्र निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएको छ । यो विमानस्थललाई त्रिभुवन विमानस्थलको वैैकल्पिक विमानस्थलको रुपमा लिइने भन्दै काम छिटो सम्पन्न गर्नमा जोड दिइएको छ ।
सेजको सक्रियता
देशकै महत्वाकांक्षी पहिलो पाइलट परियोजना विशेष आर्थिक क्षेत्र(भैरहवा सेज) सुरु हुने तरखरमा छ । १३ वटा उद्योगले उद्योग सञ्चालनका लागि आवेदन दिइसकेका छन् । निर्यातमूलक उद्योगका रूपमा रहेकाले पनि सेज यो प्रदेशको लागी महत्वपूर्ण छ । रोजगारी, राजस्व संकलनलगायतमा यसले प्रदेशलाई निकै मद्दत पु¥याउनेछ ।
होटल व्यवसायमा अर्बौंको लगानी
प्रदेश पाँचमा पछिल्लो समय फस्टाएको व्यवसायमध्ये पर्यटन उद्योगअन्तर्गतको होटल व्यवसाय हो । साना पर्यटकीय सुविधा देखि पाँचतारे होटलसम्म यो प्रदेशमा छन् । भैरहवाको चिल्हिया क्षेत्रमा वैदेशिक लगानी रहेको सिल्भर हेरिटेज गु्रपको पाँचतारे टाइगर प्यालेश रिसोर्ट सञ्चालनमा आइसकेको छ भने लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायी पवन हलुवाईले पाँचतारे होटल पवन प्यालेश इन्टरनेसनल निर्माण गरिरहेका छन् । यसै वर्षको अक्टुबरसम्म सञ्चालनमा ल्याउने योजनासहित काम भइरहेको छ भने । भैरहवामै बोधीरेडसन होटल (तीनतारे) स्तरोन्नति गरी पाँच तारेको बनाइँदैछ भने नान्स होटल(तीनतारे) समूहले पनि अर्को पाँचतारे नान्स २ होटल निर्माण क्रम अघि बढाइरहेको छ । तिलोत्तमाको मणिग्राममा ड्रिमल्याण्ड रिसोर्टमा तीनतारे सरहको सुबिधा छ भने लुम्बिनीमा जापानी पर्यटक आकर्षक गन्न बनाइएको होक्के होटल तथा लुम्बिनी कासाई होटल, बुद्धमाया गार्डेन, लुम्बिनी क्रिस्टललगायतका ठूला होटल छन् । नेपालगन्जमा सिद्धार्थ गु्रपको तिनतारे होटल, पूर्वराजपरिवारको लगानी रहेको भनिएको सोल्टी(चारतारे) लगायत धेरै ठूला होटल नेपालगन्ज र कोहलपुरमा छन् भने निर्माण गर्नेक्रम पनि बढेको छ ।
त्यस्तै बुटवल, दाङलगायत, तानसेन र अरु पहाडी जिल्लामा पनि होटल व्यवसायमा लगानी बढिरहेको छ । यो प्रदेशमा मात्रै साना ठूला गरी होटल क्षेत्रमा खर्बभन्दा बढीको लगानी छ ।
एअर कनेक्टीभिटी
यो प्रदेशमा अहिले चालू अवस्थामा भैरहवा र नेपालगन्ज बिमानस्थल छन् । नेपालगन्ज विमानस्थलबाट नियमित रूपमा काठमाडौंसहित पश्चिमका अन्य पहाडी जिल्लाहरू मुगु, जुम्ला, बझाङ, डोल्पालगायतका स्थानमा समेत उडान भइरहेको छ भने छिट्टै प्रदेश ४ को राजधानी पोखरामा समेत हवाई उडान हुने तरखरमा छ । त्यसैगरी भैरहवाबाट अहिले काठमाडौं र पोखरा नियमित उडान छ । त्यसैले यो प्रदेशको एअर कनेक्टिभिटीमा प्रदेश ३, ४ र ६ लाई जोडेको छ । दाङको विमानस्थलमा पनि नियमित उडान नभए पनि कहिलेकाहीँ उडान हँुदै आएको छ । रुकुममा पनि हवाई उडान कहिलेकाहीँ हुने गरेको छ । त्यसैले एअर कनेक्टिभिटीका लागि पनि यो प्रदेश अब्बल छ ।
राजस्वमा भूमिका
राजस्व संकलनमा यो प्रदेशको भूमिका निकै महत्वपूर्ण रहँदै आएको छ । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार नाका, त्यस पछाडि नेपालगन्ज भन्सार, कृष्णनगर भन्सार राजस्व संकलनमा अगाडि छन् । साथै मदिरा उद्योग, सिमेन्ट, छड उद्योग र अन्य व्यवसाय र उद्योगबाट अर्बौं राजस्व यस प्रदेशबाट संकलन हुने गरेको छ । यो प्रदेशले कर राजस्वबाट मात्रै यो वर्ष २ अर्ब ४७ करोड बढी आम्दानी गर्ने लक्ष्य छ ।
विद्युत् उत्पादनमा भने कमजोर
मानव सूचकांकमा चौथो स्थानमा रहेको यो प्रदेश जलविद्युत् उत्पादनमा भने कमजोर अवस्थामा छ । परासीको गण्डक विद्युत् (१५ मेवावाट), प्यूठानको झिमरुक(१२ मेवावाट) र तिनाउ विद्युत् आयोजन(१ मेगावाट) मात्रै छन् । तर, पनि पहाडी क्षेत्रमा साना लघुजलबिद्युत आयोजना र ५ देखि १० वाट क्षमता सम्मका बिद्युत आयोजना सञ्चालन गर्न सकिने खोला नाला यस प्रदेशमा छन् ।
समग्रमा भन्दा प्रदेश पाँचले आफू मात्र होइन समग्र देशलाई नै समृद्धिको मार्गमा डो¥याउने पर्यटन, उद्योग, व्यवसाय, कृषिलगायत यो क्षेत्रमा छन् । राज्य र प्रदेश सरकारले कच्चा हिराका रूपमा रहेको यो प्रदेशको महत्वलाई बेलैमा पहिचान गरी अघि बढे देशलाई समृद्धिको बाटोमा अघि बढाउन निकै मद्दत पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस्