अर्थतन्त्र सुधार्नमात्र श्वेतपत्रमा कमजोरी देखाइएको हो : खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले जारी गरेको श्वेतपत्रमा नकारात्मक पक्ष र समस्याका विषयहरू उठान गरिएको स्वीकार गरेका छन् । “श्वेतपत्रमा देखाइएको कुराहरू अहिलेको अर्थ व्यवस्थाको यथार्थ तस्बिर हुन्,” नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको भेटमा उनले भने, “अर्थतन्त्रमा राम्रो पक्ष छँदै छैनन् भनेको होइन, यो–यो क्षेत्रमा सुधार गर्छौं भनेर कमजोरी औंल्याइएको हो ।” उनले पहिलेको तुलनामा अर्थतन्त्रमा निकै सुधार आएको भन्दै अहिले देखिएका समस्यालाई सुधारका लागि एजेण्डाका रूपमा प्रस्तुत गर्न खोजिएको बताए ।
पूर्वअर्थमन्त्री डा. रामशरण महतसहित केही अर्थविद्हरूले अर्थतन्त्रका नकरात्मक पक्षमात्र केलाइएको र तथ्यांक नै तोडमोड गरिएको भन्दै श्वेतपत्रको आलोचना गर्दै आएका छन् । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा देखिएको नकारात्मक पक्षलाई सुधारका लागिमात्र हाइलाइट गर्न खोजिएको बताए । “राम्रा कुरा धेरै छन्” उनले भने, “तर, तुलना गर्ने भनेर २००८ सालको बजेटसँग तुलना गर्न मिल्दैन त्यसो ग¥यौं भने हामी जहाँको त्यहीँ हुन्छौ ।” उनले अर्थतन्त्रको आकार ठूलो बनेको, सामाजिक क्षेत्रमा गरेको लगानीको प्रतिफल आउन थालेको, वित्तीय प्रणालीको विस्तार भएकाजस्ता धेरै राम्रा काम सुरु पनि भएको पनि बताए । “राम्रा कामको निरन्तरता दिँदै नभएका र नगरेका पक्ष केलाएर आगामी एजेण्डा बनाइएको हो,” उनले भने, “राम्रा पक्ष चर्चा गर्न जरुरत छैन ।”
खतिवडाले प्रतिव्यक्ति आयमा थ्रेसहोल्ड पु¥याउन नसकेका कारण विकसित राष्ट्रको सूचीमा स्तरोन्नति हुननसकेको तथ्य लुकाउन नसकिने पनि प्रष्ट पारे । सरकार निजीकरणको विषयमा प्रष्ट भएको र नागरिकका आवश्यकताबाहेक व्यापारिक प्रयोजनका संस्थाहरू सरकारसँग नरहने पनि स्पष्ट पारे । “सरकार प्रतिस्पर्धी होइन, परिपुरक हो, निजी क्षेत्रलाई चाहिने पूर्वाधार सरकारले हस्तान्तरण गर्छ र सरकारलाई चाहिने कम्पनी खोल्न सक्छ,” उनले भने, “आवश्यक छ भने ती संस्था सरकारसँग रहन्छन् व्यापारिक प्रयोजनका संस्था सरकारसँग रहदैनन्, निजीकरणको विषयमा सरकार स्पष्ट छ ।” सरकारले नीतिगत रुपमा सवल आत्मनिर्भर अर्थतन्त्रको कुरा गरेको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय अवसरहरू मध्यनजर गर्दै मुलुकले केही गौरव गर्न सक्ने कुराहरूलाई प्राथमिकता दिने धारणा राखे । कर प्रशासनमा सुधार गर्ने र करका दायरा फराकिलो पार्ने बजेट प्रणालीमा सुधार गर्ने पनि उनले प्रतिबद्धता जनाए ।