विदेशबाट फर्किएर च्याउखेतीमा «

विदेशबाट फर्किएर च्याउखेतीमा

विदेशमा भनेजस्तो कमाइ नभएपछि नेपाल फर्किएका अर्घाखाँची भूमिकास्थान नगरपालिका ढिकुराका कृष्ण पोख्रेल अहिले च्याउखेतीमा लागेका छन् ।
सदरमुकाम सन्धिखर्कबाट नजिकै रहेको ढिकुरा स्थायी घर छोडेर जिल्लाकै शीतगंगा नगरपालिका–२ सीतापुरमा उनले व्यावसायिक च्याउखेती सुरु गरेका हुन् । दुबईबाट फर्केर च्याउखेतीमा लागेका पोख्रेलले १२ जनालाई रोजगारी समेत दिएका छन् । व्यावसायिक च्याउखेती सञ्चालन गरेर सन्तुष्ट छु, विदेशिनभन्दा गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ भाडामा जग्गा लिएर व्यवसाय सुरु गरेको छु । उनले उत्पादन गरेको च्याउ काठमाडौं, हेटौंडा, चितवन, बुटवललगायतका सहरमा पठाउने गरेको बताए ।
“सरकारी निकायले काम गर्नेलाई होइन काम नगर्नेलाई प्रेरित गर्छ, मलाई अनुदान चाहिएको होइन यहाँ उत्पादन भएको वस्तु अवलोकन गर्नका लागि पटकपटक जिल्ला कृषि विकास कार्यालयमा अनुरोध गरें तर उहाँहरू अवलोकन गर्न आउनु भएन,” उनले भने । उनले व्यावसायिक रूपमा च्याउखेती गर्न लागेको ५ वर्ष भयो । उनी यही पेसाबाटै सन्तुष्ट भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्